‘आ बाट आमा’मा पल पछि पन्त अनुबन्ध

‘आ बाट आमा’मा पल पछि पन्त अनुबन्ध

काठमाडौं : भदौबाट ‘आ बाट आमा’को छायांकनमा निस्कने तयारीमा रहेका निर्देशक चन्द्र पन्तको कलाकार छनोटको गति हेर्दा, फिल्म कहिले सुटिङमा जान्छ भन्नेमा आशंका उब्जिएको छ। फिल्मको थिम पोस्टर सार्वजनिक गरेको दुई महिना बितिसक्दा पनि निर्देशकले अझै कलाकार टुंग्याउन सकेका छैनन्।

पोस्टर सार्वजनिक गरेको केही दिनपछि मात्रै अभिनेत्री विपना थापालाई ‘आमा’को भूमिकामा अनुबन्ध गरिएको थियो। त्यसको झण्डै एक साता पछि अभिनेता पल शाह अनुबन्धमा परे। अनि बीचमा तेलुगु, हिन्दी र तमिल फिल्मका कलाकार प्रदीप रावतलाई ल्याइएको खबर सार्वजनिक भयो। 

पल शाह अनुबन्ध भएको करिब डेढ महिना बितिसकेको छ, त्यसपछि बल्ल अभिनेत्री सिमरन पन्तको नाम सार्वजनिक गरिएको छ। तीन महिनाको अन्तरालमा जम्मा तीन कलाकारको मात्र अनुबन्ध भएको देखिन्छ। अझै अन्य भूमिकाका लागि कलाकारको टुंगो लागेको छैन। यस्तो गतिमा हेर्ने हो भने फिल्म भदौमा छायांकनमा जान्छ भन्ने कुरामा शंका गर्न सकिन्छ।
महिनैपिच्छे एक-एक कलाकार अनुबन्ध गर्दै जाने हो भने फिल्म कहिले छायांकनमा पुग्ने हो, अनुमान गर्नै सकिन्न।

सिमरनले यसअघि फिल्म ‘होस्टेल ३’ मा अभिनय गरेकी थिइन्, र ‘आ बाट आमा’ उनको दोस्रो फिल्म हो। निर्माण टिमले भने पोस्टर रिलिजकै बेलामा फिल्म आगामी फागुन १५ गते प्रदर्शन गर्ने मिति घोषणा गरिसकेको छ। तर पछिल्ला गतिविधि हेर्दा, घोषणा अनुसार फिल्म प्रदर्शनमा आउला भन्नेमा दर्शक विश्वस्त बन्न गाह्रो पर्छ।

यही गतिमा गएमा फिल्म यसै वर्ष तयार होला त, निर्देशक चन्द्र पन्त ज्यू ?

साउन ६, २०८२ मंगलबार १२:५६:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।