बीपी कोइरालाले अपनाएको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक छ : सभापति देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई अझ बलियो बनाउन बीपी कोइरालाले अपनाएको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिकता रहेको बताएका छन्।
मंगलबार काठमाडौंमा बी.पी. स्मृति सामुदायिक सहकारी अस्पतालले आयोजना गरेको बीपी विचार विषयक विचार गोष्ठिलाई सम्बोधन गर्दै उनले कोइरालाको आदर्श मूल्य र मान्यता कांग्रेसका लागि मात्र नभई देशकै लागि पनि दिशा निर्देशन भएको बताए।
उनले भने, ‘बीपी कोइरालाको आदर्श मूल्य र मान्यता कांग्रेसका लागि मात्र नभई देशकै लागि पनि दिशा निर्देशन पनि हो। राष्ट्रिय एकता, सामाजिक सद्भावलाई अझ बलियो बनाउन बीपी कोइरालाले अपनाएको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक छ। बीपी कोइरालाको जीवन सधैं संघर्ष र आन्दोलनमा नै गुज्रियो। उहाँको त्याग, योगदान, स्थापित मूल्य मान्यताले नै नेपाली कांग्रेसलाई आजको स्थितिमा ल्याएको हो।’
सभापति देउवाले बीपी कोइराला सधैं आर्थिक समानतासहितको लोकतान्त्रिक व्यवस्था मुलुकको अपरिहार्यता हो भन्ने कुरामा अडिग व्यक्ति भएको धारणा राखे।
‘बीपी कोइराला सधैं आर्थिक समानतासहितको लोकतान्त्रिक व्यवस्था मुलुकको अपरिहार्यता हो भन्ने कुरामा अडिग हुनुहुन्थ्यो। जुन अहिले अझ सान्दर्भिक हुन पुगेको छ,’ उनले भने।
साउन ६, २०८२ मंगलबार १२:२३:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।