धनगढीका वरिष्ठ वन अधिकृत यादव ७ लाख घुससहित रंगेहात पक्राउ

काठमाडौं : कैलाली डिभिजन वन कार्यालय, धनगढीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादव घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरबाट खटिएको टोलीले सेवाग्राहीसँग ७ लाख ३१ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई रंगेहात पक्राउ गरेको हो।
जिल्ला कैलाली, चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरिएको काठको बीम रक्बारी र छोडपूर्जीका लागि सेवाग्राहीसँग उनले घुस मागेको उजुरीका आधारमा अख्तियारको टोली कार्यालयमै पुगेर उनलाई नियन्त्रणमा लिएको हो।
अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका यादवलाई थप अनुसन्धानका लागि नियन्त्रणमा राखिएको छ।
अख्तियारका अनुसार सेवाग्राहीसँग मागिएको सो घुस रकम एकमुष्ट बुझ्दै गरेका बेला यादवलाई समातिएको हो।
यादवविरुद्ध भ्रष्ट्राचारसम्बन्धी कसुरमा कारबाही प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ। पछिल्ला दिनहरूमा विभिन्न सरकारी कार्यालयहरूमा छापा मार्दै घुस तथा दुरुपयोगमा संलग्न कर्मचारीहरूलाई कारबाही गर्न अख्तियार सक्रिय देखिएको छ।
साउन ६, २०८२ मंगलबार १२:०९:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।