भन्सार कार्यालयलाई राजस्व लक्ष्य भेट्न मुस्किल, भैरहवा १२ प्रतिशतले चुक्यो, नेपालगञ्ज झनै पछाडि

भन्सार कार्यालयलाई राजस्व लक्ष्य भेट्न मुस्किल, भैरहवा १२ प्रतिशतले चुक्यो, नेपालगञ्ज झनै पछाडि

बुटवल : रुपन्देहीको भैरहवा भन्सार कार्यालयले लक्ष्य भन्दा १२.९३ प्रतिशत कम राजस्व संकलन गरेको छ। भन्सार विभागले भैरहवा भन्सार कार्यालयलाई गत आर्थिक वर्षका लागि १ खर्ब ९ अर्ब ३३ करोड २२ लाख ५२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो। तर भन्सार कार्यालयले ९५ अर्ब १९ करोड ३८ लाख ९९ हजार रुपैयाँ अर्थात् ८७.०७ प्रतिशत मात्र राजस्व संकलन गरेको छ। 

भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार आर्थिक वर्ष २०८०/८१ को तुलनामा चालु आर्थिक वर्ष २०८१/८२ मा १४ अर्ब ३५ करोड २१ लाख रुपैयाँ बढी राजस्व संकलन गरिएको हो। अघिल्लो आर्थिक वर्षमा ६३.२४ प्रतिशत अर्थात् ८० अर्ब ८४ करोड १७ लाख रुपैयाँ राजस्व संकलन भएको थियो। यसरी हेर्दा अघिल्लो आर्थिक वर्ष ०८०/८१ को तुलनामा चालु आर्थिक वर्षमा भैरहवा भन्सारबाट १७.७५ प्रतिशतले राजस्व संकलनमा वृद्धि भएको छ। 

शतप्रतिशत लक्ष्य भेट्न नसके पनि चालु आर्थिक वर्षमा राजस्व संकलनमा उल्लेखनीय वृद्धि भएको रेग्मीको भनाइ छ। उनले भने, ‘समग्रमा अघिल्लो आ.व.को तुलनामा चालु आ.व.मा राजस्व संकलनमा धेरै सुधार भएको छ।’

आयात परिमाणका दृष्टिले भैरहवा मुलुकको दोस्रो ठूलो भन्सार नाका हो। भैरहवा भन्सार कार्यालयले गत आर्थिक वर्षमा असोज महिनामा मात्रै लक्ष्य पूरा गर्न सकेको कार्यालय प्रमुख रेग्मीले बताए।

कुन महिनामा कति राजस्व संकलन?

भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीका अनुसार साउन महिनामा मात्र ७ अर्ब ३२ करोड ८१ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन भएको थियो। भदौमा ८ अर्ब ९२ करोड ७१ लाख ९१ हजार रुपैयाँ संकलन गरिएको थियो।

त्यसैगरी, असोज महिनामा ८ अर्ब ८१ करोड ५१ लाख २५ हजार, कात्तिकमा ७ अर्ब १२ करोड ९७ लाख ८३ हजार र मंसिरमा ६ अर्ब ९६ करोड ४३ लाख ४४ हजार रुपैयाँ राजस्व संकलन भएको चौधरीले जानकारी दिए।

पुस महिनामा ६ अर्ब ८६ करोड ६१ लाख ३४ हजार, माघमा ७ अर्ब १४ करोड ७६ लाख ७ हजार, फागुनमा ६ अर्ब २३ करोड ४४ लाख १६ हजार रुपैयाँ संकलन गरिएको थियो।

चैतमा ८ अर्ब २३ करोड ५२ लाख ७० हजार, वैशाखमा ८ अर्ब ९६ करोड १० लाख १९ हजार, जेठमा ९ अर्ब ९ करोड २४ हजार र असारमा ८ अर्ब ४९ करोड ४८ लाख रुपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी चौधरीले बताए।

लक्ष्यअनुसार राजस्व उठ्नै मुस्किल

भैरहवा भन्सार कार्यालयले संकलन गरेको राजस्वको तथ्यांक हेर्दा अधिकांश आर्थिक वर्षमा विभागले तोकेको लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेको छैन।

आर्थिक वर्ष २०७५/७६ मा भन्सार कार्यालयले लक्ष्यको ८८ प्रतिशत मात्र राजस्व संकलन गर्न सफल भएको थियो। सो वर्ष कुल ८२ अर्ब ३० करोड ५३ लाख रुपैयाँ राजस्व संकलन गरिएको भन्सार कार्यालयले जनाएको छ।

त्यस्तै, आर्थिक वर्ष २०७६/७७ मा ६६ प्रतिशत लक्ष्य पूरा गर्दै ७० अर्ब २९ करोड रुपैयाँ संकलन भएको थियो।

तर आर्थिक वर्ष २०७७/७८ मा भने लक्ष्यभन्दा १३ प्रतिशत बढी राजस्व संकलन भएको थियो। ९९ अर्ब ६५ करोड ७६ लाख रुपैयाँ उठाउने लक्ष्य राखिएकोमा सो आ.व.मा १ खर्ब १२ अर्ब ५४ करोड रुपैयाँ राजस्व संकलन गरिएको थियो।

आर्थिक वर्ष २०७८/७९ मा १ खर्ब २७ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य थियो, जसमा १ खर्ब १५ अर्ब रुपैयाँ मात्र संकलन भएको थियो। त्यसपछिको आर्थिक वर्ष २०७९/८० मा १ खर्ब ५५ अर्ब ६० करोड रुपैयाँको लक्ष्य राखिएको थियो, तर जम्मा ७६ अर्ब ८८ करोड रुपैयाँ मात्र संकलन हुन सक्यो, जुन लक्ष्यको ४९.४१ प्रतिशत मात्र हो।

त्यसैगरी, आर्थिक वर्ष ०८०/०८१ मा १ खर्ब २७ अर्ब ८३ करोड ६६ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा ८० अर्ब ८३ करोड रुपैयाँ मात्र संकलन गरिएको थियो। यो संकलन कुल लक्ष्यको ६३.२४ प्रतिशत मात्र हो।

भन्सार कार्यालयका अनुसार बेलहिया नाकाबाट सबैभन्दा धेरै जिप, कार, भ्यान, मोटरसाइकल, डिजेल, पेट्रोल, शुद्ध फलाम (स्पोन्ज वा फेरेस आइरन), मार्बल, खाना पकाउने ग्यास, खाद्यान्न र अन्य व्यापारिक वस्तुहरू आयात हुने गर्छन्।

त्यस्तै, यहाँबाट भटमासको तेल, सेन्थेटिक यार्न, सिमेन्ट, खयर कत्था, पिना, चाउचाउ, पास्ता, जडिबुटी, खोटो रोजिन, प्लाइउड र अन्य वनस्पति जन्य उत्पादनहरू निर्यात हुने गरेका छन्।

साना सवारी साधन, फलामे एमएस ब्लेड र पेट्रोलियम पदार्थको आयातबाट मात्र भैरहवा भन्सारको कुल राजस्व संकलनमा झन्डै २५ प्रतिशत योगदान हुने भन्सार स्रोतको भनाइ छ।

भन्सार विभागले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि भैरहवा भन्सार कार्यालयलाई १ खर्ब १३ अर्ब रुपैयाँ भन्दा बढी राजस्व संकलन गर्ने लक्ष्य तोकेको छ।

नेपालगञ्ज भन्सारमा ७४ प्रतिशत मात्रै राजस्व संकलन

बाँकेको नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष ०८१/८२ मा तोकिएको लक्ष्यको ७४.६३ प्रतिशत मात्र राजस्व संकलन गर्न सफल भएको छ।

२७ अर्ब १८ करोड ३५ लाख ८९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य थियो तर जम्मा २० अर्ब २८ करोड ५१ लाख ८१ हजार रुपैयाँ मात्र संकलन भएको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले जानकारी दिए।

उनका अनुसार अघिल्लो आ.व को तुलनामा गत आ.व.मा २ अर्ब रुपैयाँ भन्दा बढी राजस्व संकलन भएको हो। आर्थिक वर्ष ०८०/८१ मा भन्सारको लक्ष्य २८ अर्ब ६६ करोड रुपैयाँ थियो भने सो वर्ष ६३.३४ प्रतिशत अर्थात् १८ अर्ब १५ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। 

नेपालगञ्ज भन्सार कार्यालयले गत आ.व.का कुनै पनि महिनामा लक्ष्य पुरा गर्न नसके पनि अघिल्लो आ.व.को तुलनामा राजस्व संकलनमा सुधार देखिएको प्रमुख पौडेलले बताए।

नेपालगञ्ज नाकाबाट भारतबाट पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यास, मार्बल, एटीएफ, जिप्सम, विभिन्न रासायनिक पदार्थ (केमिकल), खाद्यान्न, तयारी कपडा, तरकारी र फलफूल आयात हुने गर्छ। यस्तै, जडीबुटी, एसेन्सियल आयल, दालचिनी, अलैंची, प्लाइउड, खोटो रोजिनलगायतका वस्तुहरू भारततर्फ निर्यात हुने गरेका छन्।

साउन ६, २०८२ मंगलबार ११:१३:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।