एमाले केन्द्रीय समिति बैठकमा ओली-भण्डारी भेटको प्रभाव, भण्डारीपक्षका नेताहरूले खुलेर समर्थन गर्न सकेनन्

एमाले केन्द्रीय समिति बैठकमा ओली-भण्डारी भेटको प्रभाव, भण्डारीपक्षका नेताहरूले खुलेर समर्थन गर्न सकेनन्

काठमाडौं :  सोमबार सुरु भएको एमालेको केन्द्रीय कमिटी बैठकमा बोल्ने अधिकांश नेताहरू पूर्वराष्ट्रपती विद्या भण्डारी सक्रिय राजनीतिमा आउने निर्णयको विपक्षमा उभिएका छन्। सोमबार बैठकमा ४९ जना केन्द्रीय सदस्यले आफ्नो धारणा  राखेका थिए। तीमध्ये अधिकांश भण्डारीको पार्टी सदस्यता नवीकरणको विपक्षमा उभिए।

विधान संशोधन गरेर तेस्रो पटक पनि नेतृत्वका लागि निर्वाचनमा सहभागी हुन पाउने र ७० वर्षको उमेर हद हटाउने प्रस्ताव समेत आए पनि सोमबार बोल्ने अधिकांश सदस्यहरू यो प्रस्तावको विपक्षमा देखिएनन्। विधानको संशोधित प्रस्तावबारे केन्द्रीय सदस्यहरु अरविन्द सिंह, दीवाकर देवकोटा लगायत केहीले मात्र प्रश्न उठाएका थिए। 

बैठकको प्रारम्भमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एक ढिक्का बनाउनेगरि अगाडि बढ्न केन्द्रीय सदस्यहरूलाई आग्रह गरेका थिए। त्यसपछि पार्टीका उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गरेका थिए भने महासचिव शङ्कर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गरेका थिए।

सदस्यहरूलाई आफ्नो धारणा राख्न प्रदेशगत विभाजन गर्दै सोमबार गण्डकी , मधेस , सम्पर्क मञ्चका सदस्यहरूले आफ्नो धारणा राखेका थिए। यसमा कामको विशेष क्षेत्र भएका सदस्यहरूले समेत सोमबारै बोल्न पाए। अधिकांशको मत पूर्वराष्ट्रपती सक्रिय राजनीतिमा आउँदा व्यवस्थामाथि नै अनास्था बढ्ने रहेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले उकेरालाई जानकारी दिए।

भण्डारीको सदस्यता नवीकरण, ७० वर्षीय उमेर हद र तेस्रो पटक नेतृत्व गर्न पाउने संशोधन प्रस्तावबारे पार्टी अध्यक्ष ओली सचिवालय बैठक र पोलिटब्युरोमा समेत बलियो देखिए। दुवै निकायमा उनको इच्छा अनुसार निर्णय भए। आइतबार विवादबारे उनी र भण्डारीबीच छलफल भएको थियो।

छलफलमा के भयो सार्वजनिक भएको छैन। चुहिएका समाचारमा ओलीले प्रस्ट रूपमा भण्डारीलाई पूर्वराष्ट्रपतीको रूपमा सम्मानित नागरिक भएर बस्न भनेको दाबीहरू सार्वजनिक भए। भण्डारी आफैँले सदस्यताबारे नभई राष्ट्रिय राजनीतिबारे छलफल भएको भन्दै आइतबारको छलफलको मूल विषय टारेकी  थिइन्।

यसको प्रभाव सोमबारको केन्द्रीय कमिटीको बैठकमा देखिएको एक नेताले जानकारी दिए। यसले भण्डारीको पक्षमा रहेका केन्द्रीय सदस्यहरूले समेत प्रस्ट रूपमा भण्डारीको सदस्यता नवीकरण र ७० वर्ष र तीन कार्यकालको विपक्षमा मत राख्न नसकेको उनले बताए।

'दुवै नेता लामो समयदेखि सहकार्य गर्दै आएकाहरू हुन्। दुवैको बलियो पक्ष र कमजोरी दुबैलाई जानकारी छ,' एक सदस्यले नाम उल्लेख नगर्ने सर्तमा भने' उनीहरू जुनसुकै बेलामा मिल्न सक्छन् भनेर पनि भण्डारीको पक्षमा भएकाहरू पनि खुलेर बोल्न सक्ने अवस्था देखिएन।'

अर्को बैठक भोलि मंगलबार बिहान ११ बजे पुनः बस्ने गरी सोमबारको बैठक स्थगित भएको छ।

साउन ५, २०८२ सोमबार २०:२१:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।