शेखरको सक्रियतासँगै चाक्सीवारिमा सात भाइ कांग्रेस छलफलमा, संविधान संशोधनको प्रक्रिया अगाडि नबढेकोमा असन्तुष्ट

शेखरको सक्रियतासँगै चाक्सीवारिमा सात भाइ कांग्रेस छलफलमा, संविधान संशोधनको प्रक्रिया अगाडि नबढेकोमा असन्तुष्ट

काठमाडौं : नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता शेखर कोइरालाले राजनीतिक भेटघाट र सांसदहरूसँग आन्तरिक छलफल बढाइरहेको बेलामा पार्टीका ७ पूर्वपदाधिकारीसहितको नेताहरू गणेशमान सिंह निवास चाक्सीवारिमा भेला भएर एमाले-काङ्ग्रेसको गठबन्धनको आलोचना गरे।

सोमबार दिउँसो चाक्सीवारिमा संस्थापन र संस्थापनइतर दुवै समूहका नेता सहभागी थिए। भेटमा डा. शशाङ्क कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, विजय गच्छदार, गोपालमान श्रेष्ठ र प्रकाशशरण महत सहभागी थिए।

छलफलपछि चाक्सीवारिबाट बाहिरिँदै गरेका सिटौलाले सञ्चारकर्मीसँग कांग्रेस र एमालेको गठबन्धनमा बनेको सरकारको प्राथमिकता संविधान संशोधन भए पनि संशोधन प्रक्रियालाई अगाडि नबढाएकोबारे गम्भीर छलफल र समीक्षा भएको बताए।

गठबन्धन बन्दा नै संविधानको कार्यान्वयनको समीक्षा गर्ने र संशोधन गर्ने सहमति भएको तर सरकारले आफ्नो नीति तथा कार्यक्रममा राखे पनि अहिलेसम्म प्रक्रिया अगाडि नबढेकोले त्यसलाई अगाडि बढाउने विषयमा गम्भीर समीक्षा भएको बताए। उनले संविधान संशोधन र समीक्षा गर्ने विषयमा सरकारमा रहेका कांग्रेसका उपप्रधानमन्त्री एवं कांग्रेस उपसभापति प्रकाशमान सिंहको ध्यानाकर्षण गराएको समेत बताए ।

उनले छलफलमा भएका अन्य विषयबारे धेरै खुलाउन चाहेनन्। यसबारे पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर जानकारी दिने उनले बताए। उनले कांग्रेस नेता शेखरले पछिल्लो समय प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, पूर्वराष्ट्रपती विद्यादेवी भण्डारीसँग गरेको छलफलबारे प्रतिक्रिया दिन चाहेनन्।

साउन ५, २०८२ सोमबार १८:१६:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।