स्वास्थ्यमन्त्री पौडेलको एक वर्षे कार्यकाल : आधारभूत स्वास्थ्य सेवा सुधार भएको दाबी

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आफ्नो एक वर्षे कार्यकालमा गरेको कामहरू सार्वजनिक गर्दै नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने लक्ष्यअनुसार काम भएको दाबी गरे।
सोमबार पत्रकार सम्मेलनमार्फत मन्त्री पौडेलले ५, १० र १५ शैय्याका अस्पतालहरूको निर्माण र सञ्चालनमा तीव्रता दिइएको र यसअन्तर्गत १ सय १३ अस्पताल निर्माण सम्पन्न भइसकेको जानकारी दिए।
नयाँ आर्थिक वर्षमा थप २५० अस्पताल सम्पन्न गर्न ११ अर्ब रुपैयाँ बजेट सुनिश्चित गरिएको उनले जानकारी दिए।
फागुन महिनालाई ‘नसर्ने रोग परीक्षण महिना’ र श्रावणलाई ‘डेंगु सचेतना महिना’ को रूपमा मनाउने निर्णयसँगै नसर्ने रोग नियन्त्रण अभियान र समुदाय केन्द्रित लामखुट्टे नियन्त्रण कार्यक्रमको थालनी गरिएको मन्त्री पौडेलले बताए।
१० देखि १४ वर्ष उमेर समूहका १४ लाख ६२ हजार किशोरीलाई एचपीभी खोप दिइएको छ, जसले पाठेघरको मुखको क्यान्सरबाट बचाउने विश्वास गरिएको छ।
यो कार्यक्रमलाई आगामी वर्षदेखि नियमित खोप कार्यक्रमअन्तर्गत ल्याउने तयारी गरिएको उनले बताए। क्यान्सर, मुटु रोग, जलन उपचार, निःसन्तान समस्या, र अंग प्रत्यारोपण सेवा संघीय राजधानीबाहिर विस्तार गरिएको र सातै प्रदेशमा जलन उपचार सेवा विस्तारको तयारीमा रहेको उनले बताए।
मधेस र गण्डकी प्रदेशमा मुटु उपचार सेवा सुरु भइसकेको,
सिकलसेल एनेमिया, हिमोफिलिया, र पक्षाघात जस्ता रोगका बिरामीलाई आवश्यक जीवनरक्षक औषधिहरू निःशुल्क प्रदान गर्न थालिएको उनले बताए।
स्वास्थ्य बीमा प्रणालीमा व्यापक सुधार गरिँदै नवीकरण प्रक्रिया सरल बनाइएको, रिफरल प्रणाली परिमार्जन गरिएको तथा दीर्घ रोगीका लागि उपचार सीमा बढाइएको उनले बताए।
वीर, पाटन, भरतपुर, कोशी, बीपी कोइराला लगायतका ठुला अस्पतालहरूमा विशिष्टीकृत सेवाहरू थप गरिएको, सेवा प्रवाह सुधार गर्न दुई सिफ्ट ओपिडी सेवा, टोकन प्रणाली, अनलाइन टिकट, र अस्पताल फार्मेसीमा अनिवार्य औषधिको सुनिश्चितता गरिएको उनले बताए।
छात्रवृत्तिमा अध्ययन गरेका ७ सय ५१ जना विशेषज्ञ चिकित्सक तथा १ सय ६० जना समायोजित चिकित्सकलाई दक्षताका आधारमा अस्पतालहरूमा खटाइएको उनले जानकारी दिए।
सबै पालिकामा जनस्वास्थ्य अधिकारी खटाउने व्यवस्था गरिएको, नागरिक आरोग्य कार्यक्रम अन्तर्गत योग, ध्यान, स्वस्थ जीवनशैली कार्यक्रम विस्तारको तयारी र बुढानीलकण्ठमा स्थापना गरिएको राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग केन्द्र सेवा प्रारम्भ भइसकेको उनले बताए।
मन्त्रालयले दर्जनौँ निर्देशिका, कार्यविधि र विधेयकहरू तयार पारेको छ, जसमा औषधि तथा स्वास्थ्य सामग्री ऐन, एकीकृत अस्पताल सञ्चालन विधेयक, स्वास्थ्य सेवा ऐन लगायत उल्लेखनीय रहेको उनले दाबी गरे।
स्वास्थ्य संस्था र जनशक्तिको डिजिटल तथ्याङ्क सङ्कलन, स्तन क्यान्सरको वंशाणुगत परीक्षण नेपालमै सुरु तथा हेल्लो स्वास्थ्य १११५ हटलाइन सेवा सुरु गरिएको समेत मन्त्रालयले जनाएको छ।
साउन ५, २०८२ सोमबार १७:०२:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।