चितवनको वीपी कोइराला क्यान्सर अस्पतालको बोनम्यारो ट्रान्सप्लान्टेसनमा चीनले सघाउने

काठमाडौं : अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबिच भेटवार्तामा चार वटा परियोजनाका समझदारी पत्रमा हस्ताक्षर भयो।
सोमबार चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो ट्रान्सप्लान्टेसन निर्माण सम्बन्धी परियोजनाको र निजामती कर्मचारी अस्पतालको विस्तार गर्न सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो।
नेपालको तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र चीनको तर्फबाट सिड्का अध्यक्षले समझदारी पत्रमा हस्ताक्षर गरे।
भरतपुर स्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १८३४ वर्ग मिटर क्षेत्रमा फैलिएको बोनम्यारो क्यान्सर उपचार केन्द्रको निर्माण तथा आवश्यक मेसिनरीको जडान हुनेछ। यसबाट बोनम्यारो क्यान्सरको उपचारमा उल्लेख्य योगदान पुग्नेछ। त्यस्तै निजामती कर्मचारी अस्पतालको विस्तारको सम्भाव्यता अध्ययन समेत हुनेछ ।
अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धलगायत विकास साझेदारी, चीनको सहयोगमा सञ्चालित र अब सञ्चालन हुने परियोजनाहरूका बारेमा समेत छलफल भएको थियो।
यही अवसरमा नेपाल र चीनबीच मानव संसाधन विकास सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भयो। यसबाट १२७० जना सरकारी कर्मचारीलाई चीनका विभिन्न संस्थाहरूले आयोजना गरेको द्विपक्षीय तथा बहुपक्षीय सेमिनारमा भाग लिने अवसर प्राप्त हुनेछ।
यही अवसरमा रसुवागढी केरुङ सिमापार ट्रान्समिसन लाइन निर्माणको सम्भाव्यता अध्ययन सम्बन्ध माइन्युटमा नेपाल विद्युत् प्राधिकरणका एमडी हितेन्द्रदेव शाक्य र सिड्का अध्यक्षले हस्ताक्षर गरे।
कार्यक्रममा अर्थमन्त्री पौडेलले नेपाल चीन बहुआयामिक सम्बन्धको चर्चा गर्दै नेपाल भ्रमण गर्नुभएकोमा सिड्का अध्यक्षलाई धन्यवाद दिए । साथै उच्चस्तरीय भ्रमणले दुई पक्षीय सम्बन्धलाई अझ उचाइमा पुर्याउने विचार व्यक्त गरे।
साउन ५, २०८२ सोमबार १६:४६:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।