गेस्ट हाउस लगेर युवकलाई छुरा प्रहार, खसालेर हत्या गरेको आरोपमा युवती पक्राउ

गेस्ट हाउस लगेर युवकलाई छुरा प्रहार, खसालेर हत्या गरेको आरोपमा युवती पक्राउ

धनुषा : गेस्ट हाउसमा लगेर छुराले हानेर घाइते भई खसालेर युवकको हत्या गरेको आरोपमा धनुषा प्रहरीले महोत्तरीको बनौटाकी २१ बर्सिया जुली झा पक्राउ परेकी छिन्।

झामाथि महोत्तरीको महोत्तरी गाउँपालिका १ पर्साका ३२ वर्षीय बिमलेश यादवलाई छुरा प्रहार गरी हत्या गरेको आरोप छ। उनीहरुबीच लामो समयदेखि चिनजान र आर्थिक लेनदेन समेत रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जानकारी दिएको छ।

गत शनिवार राति करिब १० बजे जनकपुरधाम उपमहानगरपालिका २३ स्थित रहेको एसपी एन्ड गेस्ट हाउसको कोठा नम्बर १०२ मा अभियुक्त झा र मृतक यादव बसेका थिए।

सोही राती करिब ३ बजे मृतक यादव नग्न अवस्थामा होटेलको पहिलो तल्लाबाट शरीरभरि काटिएर रगत निस्किरहेको अवस्थामा तल झरेको सिसिटिभी फुटेजमा देखिएको धनुषा प्रहरीले जानकारी दिएको छ। त्यस्तो केही मिनेटपछि अभियुक्त झा होटेलको पछाडि गेटबाट भागेको सिसिटिभी फुटेजमा देखिएको प्रहरीले जानकारी दिएको छ।

घटनाको जानकारी प्राप्त भए लगत्तै प्रहरी चौकी जिरो माइलबाट खटिएको टोलीले छटपटाइरहेको अवस्थामा रहेका यादवलाई एम्बुलेन्समा राखी अस्पताल पुर्याएका थिए। तर यादवको आइतबार बिहान ७ बजेर ४५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ।

धनुषा प्रहरीले अभियुक्त जुलीलाई आइतबार १२ बजे धनुषाबाट महोत्तरीको परौल स्थानतर्फ भाग्दै गरेको अवस्थामा पक्राउ गरेको थियो। घटना सम्बन्धी थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ।

साउन ५, २०८२ सोमबार १६:२९:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।