सेयर बजार ११ महिना यताकै उच्च विन्दुमा, २९ सय नजिक पुग्यो सूचक

सेयर बजार ११ महिना यताकै उच्च विन्दुमा, २९ सय नजिक पुग्यो सूचक

काठमाडौं : सोमबारको कारोबारमा सेयर बजारको परिसूचक २१.७६ अंकले बढेर २९ नजिक पुगेको छ। यो ११ महिनायताकै उच्च विन्दु हो। सोमबार बजारको परिसूचक नेप्से आइतबारको तुलनामा २१.७६ अंक बढेर २८९२ अंक कायम भयो। गत भदौ ९ मा नेप्से परिसूचक २८९४ अंकमा पुगेर ओरालो लाग्न थालेको थियो। 

सोमबार ३ सय ११ स्टकको १ लाख ३८ हजार ८२८ पटकको कारोबारमा १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार रुपैयाँ बराबरको ३ करोड ५६ लाख ४९ हजार कित्ता शेयर खरिदबिक्री भयो। सोमबार दिनभरको कारोबारमा रकम भने आइतबारको तुलनामा घट्यो। आइतबार २१ अर्ब ४६ करोडको कारोबार भएको थियो। 

सोमबार माइक्रोफाइनान्स समूहको सबैभन्दा धेरै १.९३ प्रतिशत बढ्यो। बैंकिङ ०.४८, विकास बैंक १.४२, होटेल तथा पर्यटन ०.३०, हाइड्रोपावर ०.४६, लगानी ०.३७, जीवन बीमा ०.०२, उत्पादन तथा प्रशोधन ०.३७, निर्जीवन बीमा १.२७, अन्य १.८४ तथा व्यापार ०.४३ प्रतिशत बढ्यो।

थ्री स्टार हाइड्रोपावर, ट्रेड टावर र सान्भि इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। थ्रीस्टार हाइड्रोपावर, ट्रेड टावर र सान्भी इनर्जीको  सेयर मूल्य १० प्रतिशत बढ्यो।  उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य करिब साढे ९ प्रतिशत बढ्यो। ग्रीन डेभलपमेन्ट बैंक र सप्तकोसी डेभलपमेन्ट बैंकको सेयर यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भयो। 

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो। कम्पनीको ७५ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो। हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम ७५ करोड रुपैयाँ नाघ्यो। बुटवल पावर कम्पनीको साढे ५६ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो। 

साउन ५, २०८२ सोमबार १५:४९:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।