केन्द्रीय कमिटी बैठकमा ओलीले भने- हामीलाई विभाजन गराउने तत्वहरू सक्रिय छन्, सचेत हुनुपर्छ

काठमाडौं : एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकतालाई बलियो बनाउन केन्द्रीय कमिटीका सदस्यहरूलाई आग्रह गरेका छन्।
सोमबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटीको नवौँ बैठकको अध्यक्षता गर्दै ओलीले पार्टीभित्र वैचारिक वा नीतिगत कुनै ठूलो विवाद नरहेको बताउँदै एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।
‘वैचारिक र नीतिगत रूपमा अहिले हाम्रो पार्टी एकढिक्का छ,’ अध्यक्ष ओलीले भने, ‘तर, विवाद र विभाजन गराउने तत्वहरू सक्रिय छन्। त्यसप्रति सचेत हुँदै एमालेलाई एकतावद्ध रूपमा प्रस्तुत गर्न आवश्यक छ।’
ओलीका अनुसार हाल पार्टीको सदस्य संख्या १ लाख ३९ हजारले बढेको छ। जुन अघिल्लोभन्दा करिब २८ प्रतिशतले बढी हो। सङ्गठनात्मक हिसाबले एमाले थप बलियो बनेको उनको दाबी छ।
पार्टीको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अध्यक्ष ओलीले बैठकमा केन्द्रीय सदस्यहरूलाई आफूलाई लागेको विषय निडर भएर उठाउन पनि आग्रह गरे। ओलीले पछिल्लो समय विभिन्न तत्वहरूले अफवाह र झुटको सहारामा एमालेमाथि आक्रमण गर्ने प्रयास गरिरहेको भन्दै ती आरोप र चुनौतीको डटेर सामना गर्नुपर्ने बताए।
‘विरोधीहरूले विचार र काममा हामीसँग प्रतिस्पर्धा गर्न सक्दैनन्। त्यसैले झुटो प्रचारमार्फत एमालेलाई कमजोर देखाउने प्रयास भइरहेको छ,’ ओलीको भनाइ उद्धृत गर्दै गौतमले भने।
प्रचार विभागका प्रमुख गौतमका अनुसार बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलले सङ्ठगनात्मक प्रतिवेदन प्रस्तुत गर्ने छन् भने आसन्न विधान महाधिवेशनको व्यवस्थापकीय तयारीका सम्बन्धमा पनि छलफल हुनेछ।
साउन ५, २०८२ सोमबार १४:३२:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।