फिल्म महाभोजदेखि एक्टरसम्म जुन रिलिज मिति सार्दा ‘फ्लप’ भए

काठमाडौं : नेपाली फिल्म मेकरहरूको ठूलो समस्या भनेको फिल्मको नाम घोषणा गरेसँगै रिलिज मिति सार्वजनिक गर्ने हतारो हो। फिल्म बन्ने नबन्ने, तोकिएको समयमा काम सकिने या नसकिने ठ्याक्कै थाहा हुँदैन। तर पनि उनीहरू फिल्मको प्रदर्शन मिति घोषणा गर्न हतार गर्छन्।
यस्तै नियति भोग्यो फिल्म ‘महाभोज’ ले। जेठ १५ गतेदेखि प्रदर्शन हुने भनेर व्यापक प्रचारप्रसार गरेको ‘महाभोज’ तोकिएको समयमा प्रदर्शन हुन सकेन। निर्माण टिमले राजावादी आन्दोलनलाई कारण देखाउँदै प्रदर्शन मिति १५ दिन पछाडि धकेलेर जेठ ३० मा पुर्यायो। कथावस्तु र प्रचारप्रसार हिसाबले बलियो देखिएको फिल्म प्रदर्शनमा आए पनि खासै प्रभाव छोड्न सकेन।
यता नाजिर हुसेन र सृष्टि श्रेष्ठ अभिनीत ‘केटी हराएको सूचना’ को अवस्था झनै नाजुक रह्यो। पटक-पटक प्रदर्शन मिति सर्दै आएको यो फिल्म अन्ततः माघ ११ गते (२४ जनवरी २०२५) मा मात्र रिलिज गरियो। निर्माण पक्षले 'पूर्णबहादुरको सारङ्गी' ले बक्स अफिसमा सफलता पाएको भन्दै आफ्नो फिल्मको मिति पर सार्नुपरेको तर्क दिएको थियो। तर मिति सारिएपछि सुरुमा देखिएको उत्साह हरायो।
गत वर्ष नै प्रदर्शनमा आएको अभिनेता प्रदीप खड्काको मुख्य भुमिका रहेको फिल्म ’एक्टरः टेक वन’ले पनि दर्शक पाएन। गत कार्तिक १५ गतेबाट प्रदर्शनमा आउने भन्दै निर्माण पक्षले हल्ला पिट्यो। पत्रकार सम्मेलन गर्दै फिल्म हेर्नका लागि दर्शकलाई आग्रह गरियो। अन्तमा निर्माण टिमले आफूले तोकेको समयमा नै फिल्म प्रदर्शन गर्न नसकेको भन्दै सारेर माघ १६ गते पुर्याएको थियो।
अब यो फिल्म चल्छ कि भन्ने जब माहोल बन्यो तब निर्माण टिमले माघमा धकेल्यो। यस फिल्मलाई त्यो १६ गते पनि धोका भयो। फिल्मको रिलिज हुनु २ दिन अघि भव्य प्रिमियर गरिएको थियो। तर रिलिज हुनु अगावै अर्को एक्टर टिमले नामको विषयमा काठमाडौं जिल्ला अदालतमार्फत रोकेपछि प्रदर्शन मिति त्यो दिन भन्दा केही दिन पर धकेलियो। यस फिल्मबाट दिलीप रायमाझीकी छोरी दिव्याले डेब्यु गरेकी थिइन्। तर नाम विवाद र प्रदर्शन मिति सर्ने कारण फिल्म चलेन।
लक्ष्मण सुवेदी निर्देशित ‘सतिदेवी’ को प्रदर्शन मिति पनि साउन ४ बाट भदौ ७ गतेमा सारियो। प्राविधिक कारण देखाउँदै मिति सारिएपछि फिल्मको प्रचारमा आएको उत्साह हरायो।
वंश धान्न छोरा चाहिन्छ भन्ने पितृसत्तात्मक सोचलाई प्रश्न गर्ने फिल्म भए पनि मलिका महत, रमेश बुढाथोकी, कुलदीप अधिकारी, मनिषा सापकोटा, हर्षिका वली लगायतको बलियो अभिनय दर्शकसम्म प्रभावकारी रूपमा पुग्न सकेन।
यता पहिलोपटक निर्माणमा हात हालेकी नीता ढुंगाना र अभिनेता हरिहर अधिकारीको ‘ह्रस्व दीर्घ’ पनि उस्तै हालतमा फस्यो। असोज ३ मा रिलिज हुने भनिएको यो फिल्म कात्तिक ३० मा मात्र प्रदर्शन भयो। सुरुवातमा चर्चा बटुलेको फिल्म मिति सारिँदा उत्साह घट्यो।
हरिहर अधिकारीको कथा र नीताको निर्माणमा चन्द्र पन्तले निर्देशन गरेको यस फिल्ममा नेपाली र भारतीय कलाकारको जमघट थियो। ब्रह्मानन्दम, प्रदीप रावत, अली, कवीर दुहान सिंह, सरोज खनाल, विपना थापा, रवीन्द्र झा, बुद्धि तामाङ लगायतका कलाकार भएको यो फिल्मले समेत लगानी उठाउन सकेन।
‘लाखे’ जस्तो मल्टिस्टार फिल्मको अवस्था अझै अन्योलपूर्ण रह्यो। भदौ ३१ मा रिलिज हुने भनिएको फिल्म प्रदर्शन मिति फेरिँदै कार्तिक १८ मा पुगेको थियो। ‘महापुरुष’ जस्ता बलियो फिल्मसँग जुध्न नपरोस् भनेर मिति सारिएको भनिए पनि दर्शकले कुन मितिमा फिल्म रिलिज भयो भन्ने नै बुझ्न सकेनन्।
त्यस्तै, मनोज कुमार अधिकारीको ‘फिरफिरे फिरिरी’ त झनै कमजोर बन्यो। कार्तिक २२ मा प्रदर्शन हुने भनिएको फिल्म माघ ४ मा पुगे पनि दर्शकसम्म यसको जानकारी नै पुग्न सकेन। नविन भट्ट निर्देशित फिल्ममा सन्दीप श्रेष्ठ र भावना उप्रेतीको डेब्यु भए पनि त्यो सपना अधुरै रह्यो।
नेपाली फिल्महरूमा टिजर र ट्रेलरले जसरी दर्शकको उत्साह जगाउँछन्, वास्तविक प्रदर्शनका बेला त्यो रफ्तार कायम राख्न सक्दैनन्। प्रदर्शन मिति पटक–पटक सर्ने, प्राविधिक बहाना देखाउने र तयारी अधुरो राख्ने प्रवृत्तिले फिल्मको भविष्य नै धरापमा पर्ने गरेको छ।
निर्माता, निर्देशक, कलाकार र वितरकको फरक दृष्टिकोण
अभिनेत्री तथा निर्माता नीता ढुंगाना अधिकारी फिल्मको प्रचार व्यापक भइसकेको अवस्थामा प्रदर्शन मिति सार्नु परेमा स्वभाविक रूपमा त्यसले नोक्सान पुर्याउने बताउँछिन्।
‘फिल्मको प्रचारको कारणले गर्दा फिल्मको प्रदर्शनमा असर पर्छ। यदि हामीले धेरै प्रचार गरिसकेका छौं र रिलिज मिति नजिकिँदै गर्दा सारियो भने, धेरै नै नोक्सानी हुन्छ,’ उनले भनिन्। तर फिल्मको प्रदर्शन मिति अझै टाढा छ र दर्शकको मनमा मिति ठोस रूपमा बसेको छैन भने सार्दा खासै फरक नपर्ने उनी बताउँछिन्।
लेखक तथा निर्देशक नवल नेपालको अनुभव पनि यस्तै छ। उनको फिल्म ‘मंगलम्’ असोजमा प्रदर्शन हुने भनिए पनि अन्ततः फागुनमा मात्र रिलिज भएको थियो। उनका अनुसार कथाको प्रकृतिको आधारमा मिति सर्दाको असर निर्धारण हुन्छ। ‘विषय हेरेर असर पर्छ। तत्कालै देखाउने खालको कथा हो भने र ६ महिनापछि मात्रै फिल्म आयो भने दर्शकको प्रतिक्रिया फरक हुन सक्छ। त्यति बेलासम्म कलाकारको प्रभाव पनि घटिसकेको हुन सक्छ,’ उनले भने, ‘तर सदावहार प्रकृतिको फिल्म भएमा भने प्रदर्शन मिति सार्दा खासै फरक पर्दैन।’
‘मंगलम्’ को अनुभव सुनाउँदै उनले भने, ‘६ महिनापछि हेर्दा आफैंलाई लाग्यो-त्यो बेला यस्तो गरे हुनेथियो, प्राविधिक रूपमा यस्तो काम थप गर्न सकिन्थ्यो भन्ने महसुस भयो।’
यतै फिल्म वितरक तथा निर्माता करण श्रेष्ठ पनि नीताको भनाइसँग सहमत छन्। रिच इन्टरटेनमेन्टका प्रमुख श्रेष्ठका अनुसार, प्राविधिक कारणले रिलिज मिति सरेमा दोस्रो चरणको प्रचार पहिलोभन्दा अझ व्यापक हुनु आवश्यक हुन्छ।
‘कबड्डी’ र ‘पुष्पा’ जस्ता फिल्म मिति सरेरै हिट भएको उदाहरण दिँदै उनले भने- ‘फिल्मको मिति सरेको छ भने पुनः त्योभन्दा अझ ठूलो प्रचार गर्नुपर्छ। कमजोर प्रचार भयो भने दर्शकको चासो घटिसकेको हुन्छ,’ उनी भन्छन्, ‘तर मिति सरेको कारण फिल्म नचल्ने भन्ने होइन। ‘कबड्डी’ र ‘पुष्पा’ जस्ता फिल्म पनि मिति सरेरै हिट भएका उदाहरण छन्।’
फिल्म वितरकले नै मिति सार्न दबाब दिन्छन् भन्ने आम बुझाइको प्रसंगमा भने उनी भन्छन्- ‘रिलिज मिति सार्ने निर्णयमा निर्माता प्रमुख हुन्छन्। तोकिएको मितिमा फिल्म तयार नभएपछि निर्माता आफैंले मिति सार्न चाहन्छन्। वितरकले त्यसमा विरोध गर्ने अवस्था हुँदैन।’
साउन ५, २०८२ सोमबार १४:२०:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।