मुगुका सरकारी कार्यलयहरूमा सेवा लिन काठको सिँढी चढ्न पर्ने, अपांगता भएका नागरिकलाई सास्ती

मुगु : मुगु जिल्लामा रहेका स्थानीय तहदेखि संघीय र प्रदेश सरकारका अधिकांश कार्यालयहरू अपांगमैत्री नहुँदा अपांगता भएका सेवाग्राहीहरू हैरान भएका छन्।
अधिकांश कार्यालय प्रमुखहरूको कार्यकक्ष दोस्रो वा तेस्रो तलामा रहेकाले उनीहरूलाई सेवा लिन समस्या भएको पाइएको छ।
जिल्लाभर विभिन्न प्रकारका १ हजार ७ सय ५६ जना अपांगता भएका व्यक्तिहरू छन्। उनीहरू सरकारी सेवा लिन जाँदा कार्यालयको पहुँच नभएर झन् पीडित बन्नुपरेको गुनासो गरेका छन्।
छायाँनाथ रारा नगरपालिका, सोरु गाउँपालिका, खत्याड गाउँपालिका र मुगु मुगमकामारोङ गाउँपालिकाका प्रमुख तथा प्रशासकीय अधिकृतहरू समेत दोस्रो तलाबाट सेवा दिइरहेका छन्।
त्यस्तै, जिल्ला प्रशासन कार्यालय, सरकारी वकिल, जिल्ला अदालत, मालपोत, नापी, बन डिभिजन, पशु सेवा, सिँचाइ तथा ऊर्जा विकास, उद्योग, उपभोक्ता हित संरक्षण, निर्वाचन कार्यालय, कोष तथा लेखा नियन्त्रण, पूर्वाधार विकास, प्रदेश कोलेनिका, जिल्ला प्रहरी कार्यालय जस्ता कार्यालयका प्रमुखहरूको कार्यकक्ष समेत दोस्रो तलामा छ।
सामाजिक विकास कार्यालय, प्रधानमन्त्री आधुनिकरण परियोजना, सिमी जोन, राष्ट्रिय वाणिज्य बैंक, सिटिजन्स बैंक, ग्लोबल आइएमई, एनआईसी एशिया, प्रभु बैंक लगायतका बैंक शाखाहरू पनि तेस्रो तलाबाट सञ्चालित छन्।
‘पहिलो तलामै प्रमुखहरूको कार्यकक्ष सरे सेवा लिन सहज हुन्थ्यो, धेरैजसो अपांग व्यक्तिहरू सिँढी चढ्न सक्दैनन्,’ स्थानीय बासिन्दा हाँसादेवी विकले भनिन्।
अपांगता पुनःस्थापन तथा ग्रामीण विकास संस्थाका अध्यक्ष रमेश रावलले राज्यले अपांगता भएका व्यक्तिलाई संविधानमै हक, अधिकारको ग्यारेन्टी गरे पनि व्यवहारमा सेवा पाउनै मुस्किल भएको बताए। ‘यस्तो अवस्थामा सम्बन्धित निकायले अपांगता भएका व्यक्तिका लागि सहजीकरण गर्नुपर्ने जरुरी छ,’ उनले भने।
जिल्लाको भौगोलिक बनावट अपांगमैत्री संरचना बनाउन चुनौतीपूर्ण भए पनि निर्माण भइसकेका भवनहरूमा पनि पहुँचको व्यवस्था नगरेको गुनासो छ।
जिल्ला समन्वय समिति मुगुका प्रमुख मञ्जनबहादुर कार्कीका अनुसार, अब बन्ने सबै संरचना अपांगमैत्री डिजाइनअनुसार निर्माण गरिनुपर्ने आवश्यकता छ। ‘भविष्यमा यस्ता भवन डिजाइन गर्दा अपांगता भएका व्यक्तिलाई प्राथमिकतामा राखेर योजना बनाउनुपर्छ,’ प्रमुख कार्कीले भने।
साउन ५, २०८२ सोमबार १३:०४:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।