त्रिभुवन विमानस्थलको अध्यागमनमा व्यापक फेरबदल, प्रमुखसहित ४५ नयाँ अधिकृत खटिए

काठमाडौं : गृह मन्त्रालयले हालै लोकसेवा आयोग पास गरेका ४५ जना शाखा अधिकृतलाई आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा खटाएको छ।
अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार सोमबारदेखि अध्यागमन कार्यालयमा प्रमुख सहसचिव नरहरि घिमिरेसहित ४५ जना नयाँ शाखा अधिकृत कार्यरत भएका छन्।
‘लोकसेवाबाट आएका अधिकृतहरूलाई विभागले तीन दिने तालिमपछि आजदेखि अध्यागमन कार्यालयमा खटाएको हो,’ रिजालले भने, ‘अध्यागमन कार्यालयका प्रमुखका रूपमा आएका सहसचिव घिमिरे पनि आजदेखि हाजिर भइसक्नुभएको छ।’
विमानस्थलस्थित अध्यागमनको नेतृत्व लिन आएका घिमिरे यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रवक्ताका रूपमा कार्यरत थिए।
केही दिनअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४५ जना शाखा अधिकृतको नाम गृह मन्त्रालयमा पठाएको थियो। गृह मन्त्रालयले ती सबै अधिकृतलाई अध्यागमनमा खटाएको र सोही संख्याका अधिकृत मन्त्रालयमा तानिएको जनाएको छ।
‘विमानस्थलबाट आएका अधिकृतहरूको मन्त्रालयमा दरबन्दी मिलान हुन्छ,’ गृह मन्त्रालयको प्रशासन महाशाखाका उपसचिव सुरेश जोशीले भने, ‘दरबन्दीभन्दा बढी भएमा ती अधिकृतहरूलाई सामान्य प्रशासन मन्त्रालयमार्फत अन्यत्र खटाइन्छ।’
त्यस्तै, अध्यागमन तथा भिजिट भिसासम्बन्धी समस्या समाधानका लागि सरकारले पूर्वमुख्य सचिव शंकरदास बैरागीको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको छ।
समितिलाई विदेश जाने-आउने यात्रुहरूको सहजीकरण, देखिएका समस्या, र समाधानका लागि नीति, कानुन र संरचनागत सुधारसहित तत्काल तथा दीर्घकालीन कार्ययोजना तयार पार्ने जिम्मेवारी दिइएको छ। हाल उक्त समिति कार्यादेशअनुसार काम गरिरहेको छ।
साउन ५, २०८२ सोमबार १२:३६:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।