दुई वर्षमा सक्नुपर्ने बागलुङ नगर अस्पतालको भवन निर्माण तीन पटक म्याद थप्दा पनि आधा मात्र सकियो

बागलुङ : दुई वर्षमै निर्माण सक्ने लक्ष्यसहित थालिएको बागलुङ नगर अस्पतालको भवन निर्माण चार वर्ष बित्दासमेत आधा मात्र सम्पन्न भएको छ। निर्माण व्यवसायीले समयमै काम नचलाउँदा अस्पतालको १५ शय्या क्षमताको भवन अलपत्र परेको छ। हाल भवनको ५६ प्रतिशत मात्र भौतिक प्रगति देखिएको छ, भने बाँकी काम अन्यौलमै छ।
बागलुङ नगरपालिका-१३ स्थित पैँयूपाटामा निर्माण भइरहेको अस्पताल भवनमा अब घाँस उम्रन थालेको छ। इन्जिनका रडमा खिया लागेको छ, पर्खालमा घाँस पलाएको छ। सन् २०७८ मा सम्झौता गरी दुई वर्षभित्र निर्माण सक्ने भनिए पनि काम सम्पन्न नहुँदा स्थानीयवासी निराश छन्।
बागलुङ नगरपालिकाका अनुसार, निर्माण कम्पनीलाई सम्झौताअनुसार २०७८ असार २३ मा काम थाल्न दिइएको थियो। त्यसबेलादेखि अहिलेसम्म तीन पटक म्याद थपिएको छ। पछिल्लो पटक म्याद २०८३ असार १९ गतेसम्म थपिएको छ।
नगरपालिकाका इञ्जिनियर सोबिन घर्तीले बारम्बार ताकेता गर्दा पनि निर्माण कम्पनीले कामलाई निरन्तरता नदिएको बताए। ‘फोन गर्दा नउठाउने, काममा नआउने, चेतावनी पत्र पठाउने तयारीमा छौं,’ उनले भने। उनका अनुसार व्यवसायीले इँटा झारेर काम नगरेको, ढलान सकिएपछि पर्खाल निर्माण अलपत्र पारेको देखिएको छ।
रु १२ करोडको लागतमा निर्माण भइरहेको तीन तले भवनमा विद्युतीय भर्याआङ, पार्किङलगायत संरचना निर्माणको योजना थियो। तर, व्यवसायीले फ्याट्टफुट्ट मात्र कामदार ल्याएर काम गरिरहेकाले गति लिन नसकेको नगरपालिकाले जनाएको छ। हालसम्म ५६ प्रतिशत भौतिक र ५२ प्रतिशत वित्तीय प्रगति भएको इञ्जिनियर घर्तीले जानकारी दिए।
बागलुङ नगरपालिकाले श्री महालक्ष्मी-जुगल जेभीसँग १२ करोड ८७ लाख रुपैयाँको ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार २०८० असार २० गतेभित्र निर्माण सकाएर हस्तान्तरण गर्नुपर्ने थियो।
निर्माण व्यवसायी नरेश ओझाले भने ढिलाइको कारणको रूपमा समयमै भुक्तानी नपाएको, निर्माण सामग्री ढुवानीमा समस्या भएको र बर्खाको समयमा गलुवा क्षेत्रमा पहिरोले सडक अबरुद्ध हुने जस्ता समस्याहरू रहेको बताए। उनले भने ‘काम गर्दा पैसा समयमा पाइँदैन, सामग्री ल्याउन सडकमा अवरोध हुन्छ। अहिले गलुवाको पहिरोले इँटा ल्याउन समस्या छ।’
ओझाले अब छ महिनाभित्र निर्माण सक्नेगरी कामलाई तीव्रता दिने बताए पनि पछिल्लो चार वर्षको अनुभवले स्थानीयमा विश्वास कम हुँदै गएको छ।
स्थानीय वडाध्यक्ष नारायण पौडेलका अनुसार निर्माण व्यवसायीलाई पटक-पटक ताकेता गर्दा पनि फर्किएर पाँच-छ जना कामदार मात्रै पठाउने गरेको बताए।
स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी नगर अस्पतालको सेवा सुरु गरिए पनि भवन निर्माणमा ढिलाइ हुँदा सेवा दिन असहज भएको छ। सरकारको नीति अनुसार प्रत्येक पालिकामा १५, १० र ५ शय्याका आधारभूत अस्पताल निर्माणको योजना अन्तर्गत बागलुङ नगर अस्पतालको निर्माण थालिएको हो।
रायडाँडा, पैँयूपाटा, अमलाचौर र नारायणस्थान क्षेत्रका बासिन्दाका लागि सहज स्वास्थ्य सेवा दिन अस्पताल घोषणा गरिए पनि अधुरो संरचनाका कारण सेवा प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन। अस्पतालको प्रवेशद्वार, पार्किङ, तीन तले संरचना र विद्युतीय भर्याजङसहितको भवन निर्माण सम्झौतामा उल्लेख भए पनि हालसम्मको ढिलाइले निर्माण सम्पन्न कहिले हुने भन्ने अन्यौलमै छ।
साउन ५, २०८२ सोमबार १०:१६:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।