‌केपी-विद्या खुल्ला भेट, गोप्य छलफल

‌केपी-विद्या खुल्ला भेट, गोप्य छलफल

काठमाडौं : पार्टी सदस्यता नवीकरणको विवादले पार्टीभित्र ध्रुवीकरण बढाएपछि आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपतिबाट एमाले कार्यकर्ता बन्न सक्रिय भएकी विद्या भण्डारी पार्टी कार्यालय च्यासलमा भेटे।

पार्टीको सचिवालय बैठक र पोलिटब्युरोमा पूर्वराष्ट्रपतिको सक्रिय राजनीतिक यात्राबारे एकमत बन्न नसकेपछि पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भण्डारीसँग भेटेरै यसबारे छलफल गर्ने बताएका थिए। शनिवार उनले भने अनुसारै आइतबार तीन बजे च्यासलमा भेट्ने समय तय भयो। कामको चापले समय करिब साढे चार बजे सर्यो।

पहिला भण्डारी पूर्व राष्ट्रपतिको रूपमा राज्यबाट पाएको सुरक्षा दलबलसहित च्यासलमा पुगिन्। उनलाई पार्टी कार्यालयको परिसरमा रहेका पार्टी नेताहरूले स्वागत गरे। उनी सिधै माथिल्लो तलामा गइन्। केही समयपछि ओली आए।

पार्टी परिसरमा सञ्चारकर्मीहरूको बाक्लो भिड ओलीले मन पराएनन्। सञ्चारकर्मीहरूलाई पूर्व राष्ट्रपति समेत रहेकी भण्डारीको सचिवालयले भेटको समयबारे जानकारी दिएपछि सञ्चारकर्मीहरू च्यासलमा भेला भएका थिए।

छलफलमा जाँदा अलग-अलग गए पनि करिब ६ बजे छलफल सक्काएर पार्टी कार्यालयबाट ओर्लँदा भने उनीहरूसँगै ओर्लिएका थिए। खुल्ला रूपमा छलफलको समय तोके पनि दुबैबीचको छलफल भने गोप्य गरियो।

बैठक सकेर फर्किनेक्रममा ओलीले कुनै प्रतिक्रिया दिएनन्। भण्डारीले भने राष्ट्रिय राजनीतिको बारेमा छलफल भएको र आफ्नो सदस्यता पहिल्यै नवीकरण भइसकेको भन्दै छलफलका विषय भने पार्टीको औपचारिक च्यानलबाटै आउने बताएर हिँडिन्।

पार्टी नेतृत्वको प्रतिस्पर्धा

एमालेको विधान अधिवेशन अगाडि पार्टीको नेतृत्वको योग्यताबारे महत्त्वपूर्ण संशोधनको प्रस्ताव अगाडि बढेको छ। सचिवालय हुँदै पोलिटब्युरोले समेत पारित गरेको विधानको संशोधन प्रस्तावमा पार्टीमा सक्रिय हुने उमेर हद ७० वर्षको प्रावधान र पार्टी नेतृत्व दुई पटक मात्र गर्न सक्ने प्रावधान हटाउने उल्लेख छ। अब सो संशोधन प्रस्ताव पार्टीको केन्द्रीय समितिबाट पारित भएपछि विधान अधिवेशनमा पुग्नेछ। विधान अधिवेशनले पास गरेपछि यो प्रावधान लागु हुन्छ।

केपी ओली अहिले एमालेको अध्यक्षको दोस्रो कार्यकालमा छन्। विधानमा रहेको प्रावधान कायमै रहने हो भने आगामी महाधिवेशनमा उनी अध्यक्षको उम्मेदवार हुनै पाउँदैनन्। तर उनी पुन तेस्रो पटक पनि पार्टी अध्यक्ष हुने दाउमा छन्। विधान संशोधनको प्रयास ओली पार्टी नेतृत्वमा तेहरिनकै लागि हो भन्ने लुकेको विषय हैन।

पार्टीको अर्को पक्ष भने पार्टी नेतृत्वको विकल्पको खोजीमा पूर्वराष्ट्रपति भण्डारीसम्म पुगे। उनले भारत अनि चीनको भ्रमण गरेर सक्रिय राजनीतिमा आउँदा दुवै छिमेकी देशबाट पाउन सक्ने सहयोगबारे विमर्श गरिन्। अनि मदन भण्डारीको जन्म जयन्तीको अवसर पारेर आफू सक्रिय राजनीतिमा फर्किएको घोषणा गरिन्।

घोषणाको केही दिनपछि नै अन्तर्वार्ता दिँदै उनले आफू एमालेमा सामान्य रूपमा सक्रिय हुन नआएको र नेतृत्वकै लागि आएको सार्वजनिक गरिन्।

अनि झस्किए ओली

भण्डारी र ओली एमालेभित्र एकै समूहका शक्तिशाली नेताका रूपमा परिचित छन्। ओली प्रधानमन्त्री अनि भण्डारी राष्ट्रपतीहुँदा ओलीले गरेका गैर संवैधानिक सिफारिस पनि भण्डारीले सदर गरेकी थिइन् जो पछि सर्वोच्च अदालतले अवैध प्रमाणित गरिदियो।

यो सम्बन्ध भण्डारी राष्ट्रपति पदमा रहेसम्म कायमै रह्यो। जब उनको कार्यकाल सक्कियो त्यसपछि उनी बिस्तारै सार्वजनिक र राजनीतिक गतिविधिमा सक्रिय हुन थालिन्। एमालेमा ओलीको पेलाहामा परेका नेताहरू ओलीलाई चुनौती दिने नेताको खोजीमा सक्रिय भए।

माओवादीको नेतृत्वमा दुई पटकसम्म सरकार बनाउँदा पनि ओली-भण्डारी सम्बन्ध खटपट भइसकेको थिएन। तर जब भण्डारी विदेश भ्रमणमा निस्कन थालिन् त्यसपछि भने ओली र भण्डारीको दुरी सुरु भयो।

नेपाली कांग्रेससँग मिलेर सरकार बनाउनेक्रममा ओली र भण्डारी प्रतिस्पर्धी समूहको रूपमा देखिए। यस अगाडि सरकारमा पठाउँदा एकल निर्णय गर्दै आएका ओलीले आफ्नो नेतृत्वको सरकारमा पार्टीबाट एकल निर्णय गर्न सकेनन्। मन्त्रिपरिषद्मा भण्डारीको सिफारिसमा रहेकालाई समेत सहभागी गराउन बाध्य भए।

यो घटनासँगै ओलीबाट अवसर नपाएका सांसद तथा नेताहरू र भण्डारीको भेटघाटकोक्रम बढ्यो। यहीबीचमा भण्डारीले आफू कुनै पनि बेलामा सक्रिय राजनीतिमा आउन सक्ने सङ्केतहरू दिइन्। यहीबीचमा भण्डारीसँगै उपराष्ट्रपति भएका नन्द किशोर पुन माओवादी केन्द्रको नेताको रूपमा सक्रिय भए।

मौका हेरेर भण्डारीले सार्वजनिक कार्यक्रम गरेर मदनको सपना पुरा गर्न भन्दै आफू अब सक्रिय राजनीतिमा आएको घोषणा गरिन्।

यो बेलासम्म ओलीले भण्डारी सक्रिय राजनीतिमा आउने घोषणाबारे औपचारिक केही प्रतिक्रिया दिएका थिएनन्। सत्ता सहयोगी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेटमा ‘सेनाको परमाधिपति भइसकेको व्यक्ति कुनै दलको कार्यकर्ता हुँदा व्यवस्थामाथि नै प्रश्न उठ्ने’ भन्दै असन्तोष जनाएको समाचार सार्वजनिक भयो।

प्रतिउत्तरमा ओलीले यसबारे आफूसँग छलफल नभएको र भण्डारीलाई पार्टीमा कसरी सक्रिय गराउने भन्नेबारे पार्टीले निर्णय नगरिसकेको बताएको सार्वजनिक भएको थियो।

पार्टीको औपचारिक बैठक सुरु भइसकेको बेलामा पत्रकार विजयकुमार पाण्डेसँगको अन्तर्वार्तामा ओलीले प्रस्टै पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्कने संविधानले कल्पना नगरेको र यसबारे आफूसँग भण्डारीले छलफल नगरेको भन्दै यसबारे पार्टीले चाँडै नै निर्णय गर्ने खुलाए।

पार्टी बैठकहरूमा समेत उनले भण्डारीको पार्टी सदस्यता नवीकरणको विपक्षमा मत राख्न थालेपछि केही नेताहरूले यसबारे दुवै जना छलफलमा बसेर निष्कर्ष निकाल्नुपर्ने सुझाव दिए। सोही अनुसार दुबैबीच आइतबार भेटघाट र छलफल भयो।

विपक्षी र असन्तुष्टबाट दबाब

यही बिचमा भण्डारीको अस्वाभाविक सक्रियता देखियो। उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहदेखि माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेपाली कांग्रेसका संस्थापकइतर समूहका नेता शेखर कोइरालासँग भेट गरिन्।

यो भेटलाई प्रमुख प्रतिपक्षी दलका नेतासहित कांग्रेसका असन्तुष्ट नेताहरूसँग मिलेर ओली-देउवा नेतृत्वको गठबन्धनको विकल्पमा अर्को राजनीतिक समीकरण बनाउन सक्रिय भएको राजनीतिक सन्देश दिने प्रयास गरिन्।

यो एक रूपमा सफल पनि भएको देखियो। माओवादी कुनै पनि अवस्थामा एमाले-कांग्रेस गठबन्धन भत्काउन सक्रिय छ। तर शेरबहादुर देउवा सहमत नहुँदा सफल भएको छैन। यही बिचमा कांग्रेसको शेखर समूह र एमालेभित्रको आफ्नो पक्षका सांसद मिलाउन सकेमा ओली र देउवा दुवै दबाबमा आउने नै भए।

यसले राम्रै काम गरेको देखियो आइतबार। आइतबारको छलफलको नतिजा के आयो? ओली सहजै भण्डारीलाई सक्रिय पार्टी राजनीतिमा ल्याउन सहमत भए? यो एमालेको आगामी केन्द्रीय समितिको बैठकमा भण्डारीबारे ओलीले व्यक्त गर्ने धारणा र उनको सदस्यताबारे आउने निर्णयले पुष्टि गर्ने छ नै।

साउन ४, २०८२ आइतबार २३:२४:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।