पत्रकार महासंघ बेलायत शाखाको सेने समूहको दाबी ‘भिजिट भिसामा नेपालमा कसैलाई निमन्त्रणा गरेको छैन’

काठमाडौं : नेपाल पत्रकार महासंघ बेलायतको विमला सेने समूहले बेलायत शाखाले आफ्नो स्थापना दिवसका सन्दर्भमा हालसम्म औपचारिक रूपमा कसैलाई पनि निमन्त्रणा नगरेको दाबी गरेको छ। नेपाल प्रेस युनियन बेलायत शाखा अध्यक्ष विपिन निरौलाले महासंघको अधिवेशनबारे विवाद कायम रहेको बेलामा भिजिट भिसाको नाममा गैर पत्रकारलाई बेलायत ल्याउन लागिएको भन्दै विज्ञप्ति निकालेका थिए।
उनको विज्ञप्ति र विज्ञप्तिको आधारमा प्रकाशित समाचारको खण्डन गर्दै सेने र सेने समूहका महासचिव खेमराज रानाभाटले जारी गरेको विज्ञप्तिमा 'दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशङ्का' शीर्षक राखेर सम्प्रेषण भएका समाचारप्रति गम्भीर आपत्ति जनाउँदै नेपाल पत्रकार महासंघ युकेको पूर्व अध्यक्ष भन्दै निरौलाले पठाएको इमेलका आधारमा प्रकाशित समाचार भ्रामक रहेको दाबी गरिएको छ।
महासंघ बेलायत शाखामा प्राय विवाद भइरहन्छ। यस अगाडि पनि विवादकोक्रममा निरौलाले बेलायतमा महासंघको समानान्तर समिति गठन गरेका थिए। पछि दुवै समूहबीच एकता भएको थियो। सोही आधारमा उनले आफूलाई महासंघको पूर्व अध्यक्ष दाबी गर्ने गरेका छन्।
निरौलाले नेपाल पत्रकार महासंघ केन्द्रका अध्यक्ष निर्मला शर्माको नाममा पठाएको पत्रमा 'नेपाल पत्रकार महासङ्घको निर्देशन बमोजिम नेपाल पत्रकार महासङ्घ, युके शाखाको छैटौँ अधिवेशन स्थगित भएपछि शाखाका नाममा संस्थाको विधान विपरीत भएका गतिविधि रोक्नको लागि गत मंसिर २० गते (चलानी नम्बर ८२।०८१।०८२) को पत्र बमोजिम नेपाल पत्रकार महासङ्घ, युके शाखाको स्थगित भएको अधिवेशनको नयाँ मिति तोक्न र केन्द्रीय प्रतिनिधिसमेत पठाउनको लागि यसअघि भएका अनौपचारिक तथा औपचारिक संवादलाई समेत बेवास्ता गर्दै नेपाल पत्रकार महासङ्घ, युके शाखाको नाममा केन्द्रीय अध्यक्ष निर्मला शर्मा समेतको विशेष उपस्थितिमा कार्यक्रम हुने भन्दै नेपालस्थित बेलायती राजदूतावासबाट दर्जनभन्दा बढी व्यक्तिहरूले अवैधानिक रूपमा भिजिट भिसा लिएको बुझिएको छ,' लेखिएको छ।
शर्मा र अर्का सचिव महासंघको प्रतिनिधिको रूपमा बेलायत जाने तयारीमा रहेको स्रोतले दाबी गरे पनि शर्माले आइतबार बिहान उकेरासँग यसबारे आफूलाई केही जानकारी नभएको र महासंघले बेलायत शाखाको कार्यक्रममा सहभागी हुन कसैलाई सिफारिस नगरेको दाबी गरेकी थिइन्।
निरौलाले विज्ञप्तिमा बेलायत शाखाको कार्यक्रममा पत्रकार र गैर पत्रकार भिजिट भिसामा आउन लागेको दाबी गर्दै विवरण सार्वजनिक गर्न समेत माग गरेका थिए।
बेलायत शाखाको विवाद के हो?
पत्रकार महासंघको बेलायत शाखामा सदस्यता सम्बन्धी विवादकैबीच एक पक्षले अधिवेशन गरेर सेनेको अध्यक्षतामा कार्यसमिति गठन गरेको थियो। सदस्यताको विवाद नटुङ्ग्याई एकतर्फी रूपमा अधिवेशन गरेको भन्दै कार्यसमिति घोषणा भएपछि आयोजक समितिका संयोजक दिनेश परियारले विज्ञप्ति निकालेर स्थगित भएको छैटौँ अधिवेशन फर्जी रूपमा आयोजना गरेर कार्यसमिति घोषणा भएको उल्लेख छ।
परियारसहितका पत्रकारहरूले महासंघ बेलायत शाखाको विवाद समाधान गर्न केन्द्रलाई पहल गर्न पत्राचार गरे पनि केन्द्रले भने अवैध रूपमा भएको अधिवेशनलाई मान्यता दिने काम गरेको अर्को पक्षको आरोप छ।
साउन ४, २०८२ आइतबार २२:३२:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।