फर्टिलिटी सेन्टरको छानबिन गर्न स्वास्थ्यले बनायो समिति, संयोजक निजी आइभिएफ सेन्टरकी कन्सल्टेन्ट

फर्टिलिटी सेन्टरको छानबिन गर्न स्वास्थ्यले बनायो समिति, संयोजक निजी आइभिएफ सेन्टरकी कन्सल्टेन्ट

काठमाडौं : फर्टिलिटी सेन्टरले किशोरीहरूलाई प्रलोभनमा पारेर अवैध रूपमा डिम्ब संकलन गरेको घटना सार्वजनिक भएसँगै स्वास्थ्य मन्त्रालयले असार २ मा तीन सदस्यीय छानबिन समिति गठन गर्यो। मन्त्रालयले समितिको नेतृत्व दियो परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी  प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. ज्वाला थापालाई। उनको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिमा स्वास्थ्य मन्त्रालयका (मेसु) डा. सुनिता लम्साल र  कानुन अधिकृत सुरेश चौलागाई छन्।

समितिलाई मन्त्रालयले काठमाडौंको होप फर्टिलिटी एन्ड डायग्नोष्टिक प्रालि र एन्जल फर्टिलिटी क्लिनिकको ‘आइभीएफ’को अनुगमन गरी पाँच दिन भित्र स्वास्थ्य मन्त्रालयमा प्रतिवेदन पेस गर्ने कार्यक्षेत्र तोकेको छ। पत्रमा २०८२ साउन २ गतेको स्वास्थ्य सचिव स्तरीय निर्णयअनुसार सो छानबिन समिति गठन भएको उल्लेख छ।

तर समितिको संयोजक थापा प्यासिफिक आइभिएफ सेन्टरकी कन्सल्टेन्ट हुन्। मन्त्रालयले निजी आइभिएफ सेन्टरमा कन्सल्टेन्टको रूपमा कार्यरत रहेकी थापालाई कन्फ्लिक्ट अफ इन्ट्रेस्ट बाझिने गरी प्रहरीले अनुसन्धान गरिरहेको दुई आइभिएफले गरेको बदमासीको छानबिनको जिम्मा दिएको हो।

सन्तान सुखको आशा बोकेका दम्पतीलाई लक्षित गरी खुलेका आईभीएफ (इन भिट्रो फर्टिलाइजेसन) सेन्टरहरू नियमन अभावमा भद्रगोल बनेका छन्। आईभीएफ सेन्टर सञ्चालनको स्पष्ट मापदण्ड र निर्देशिका नहुँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७९ यता मात्रै २५ वटा सेन्टरलाई सञ्चालन इजाजतपत्र दिएको छ। 

यही भद्रगोलकाबीच काठमाडौंको होप फर्टिलिटी सेन्टर र एन्जलले किशोरीहरूलाई प्रलोभनमा पारेर अवैध रूपमा डिम्ब संकलन गरेको घटना सार्वजनिक भएको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले दुवै आइभिएफका सञ्चालक विरुद्ध जाहेरी लिएर अनुसन्धान अगाडि बढाएको छ।

सीआईबीको प्रारम्भिक अनुसन्धानमा दुवै फर्टिलिटी प्रालिले संगठित दलालमार्फत १८ वर्षमुनिका किशोरीहरूलाई आर्थिक प्रलोभन देखाई स्वास्थ्यमाथि गम्भीर खेलबाड गरेको देखिएपछि अदालतबाट म्याद लिएर अनुसन्धान अगाडि बढाएको छ। दुवै प्रालिका सञ्चालकहरू भने अहिले हाजिर जमानीमा छन्।

पीडित किशोरीका अभिभावकले आफ्ना छोरीहरूको डिम्ब निकालिएको भन्दै जाहेरी दिएपछि यो विषय बाहिर आएको हो। सीआईबीले सो फर्टिलिटी सेन्टरकी जस्टिना प्रधान, डा. असिम अधिकारी, डा. स्वस्ति शर्मा, मालिनी चौधरी र एलिसा ओलीलाई पक्राउ गरेको थियो।

तर प्रजनन स्वास्थ्य र डिम्ब दानसम्बन्धी स्पष्ट कानुन नहुँदा जिल्ला सरकारी वकिलको कार्यालयको निर्देशनमा उनीहरू हाजिर जमानीमा छुटेका थिए।

आइभिएफ सम्बन्धी समाचार

साउन ४, २०८२ आइतबार २१:०६:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।