बुटवलका तीन आइभिएफ सेन्टर अवैध, जरिवानासहित सेन्टरमा लाग्यो ताला

बुटवलका तीन आइभिएफ सेन्टर अवैध, जरिवानासहित सेन्टरमा लाग्यो ताला

बुटवल : बुटवलमा लामो समयदेखि अवैध तरिकाले सञ्चालनमा आएका वात्सल्यसहित आइभीएफ सेन्टरहरूमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अनुगमन गर्दै कारबाही गरेको छ। अनुगमनमा संघीय स्वास्थ्य मन्त्रालयबाट सञ्चालन अनुमति लिएर मात्रै सञ्चालन गर्नुपर्ने प्रावधान रहे पनि अनुमति नै नलिई आइभिएफ सञ्चालन गरेको देखिएपछि कारबाही गरेको हो।

महिलाको डिम्बाशय र पुरुषको शुक्रकीट ‘फर्टिलाइजेसन’ गरी भ्रूण उत्पादन गराएर बच्चा जन्माउने आईभीएफ विधिका लागि अनुमति नै नलिई सञ्चालन गरेको पाइएपछि जिल्ला प्रशासनको नेतृत्वमा आएको स्वास्थ्य कार्यालय रुपन्देहीको टोलीले एक लाख रुपैयाँ जरिवानासहित अनुमति नलिदासम्मको लागि केन्द्रमा ताल्चा लगाएको हो।

बुटवल उपमहानगरपालिका वडा नम्बर ९ मिलन चोकमा रहेको वरदान आइभीएफ सेन्टर प्रालि, बुटवल ६ सुख्खानगर श्रवण पथमा रहेको वात्सल्य बुटवल क्लिनिक प्रालि र बुटवल १० राजमार्ग चौराहस्थित रहेको प्रनाभी आईभीएफ सेन्टर अवैध रूपमा सञ्चालन हुँदै आएको पाइएपछि एक एक लाख रुपैयाँ जरिवानासहित बन्द गराएको हो।

मिलन चोकस्थित वरदानलाई इमर्जेन्सी बिरामी हेरेपछि बन्द गर्ने भनिएकोमा पछि २१ जना बिरामीहरूको जटिल समस्याको उपचार भइरहेको र धेरै क्षति हुने भएकाले ४५ दिनभित्र सञ्चालन अनुमति नलिए बन्द गर्ने चेतावनी दिइएको छ।

स्थानीय पालिकाबाट सामान्य परामर्शको दर्ता र अनुमति लिएको वात्सल्यलाई एक लाख रुपैयाँ जरिवाना गरिएको छ भने आइभीएफ सम्बन्धी काम गरेको पाइएमा तालाबन्दी गरी थप कानुनी कारबाही गरिने निर्देशन दिइएको स्वास्थ्य कार्यालय रुपन्देही वरिष्ठ ल्याब टेक्निसियन खिमलाल पाण्डेले बताए।

तिलोत्तमा नगरपालिका जानकिनगरमा रहेको विपासना फर्टिलिटी सेन्टरले भने अनुमति लिएको पाइएको पाण्डेले बताए। त्यस्तै तिलोत्तमा रहेको श्रीकृष्ण आई केयर सेन्टर एन्ड अब्टीकल्समा पनि छापा मारिएको छ।

आई केयर सेन्टर अनुमति नलिई सञ्चालनमा ल्याएको देखिएपछि छापा मारिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख चिन्तामणि ज्ञवालीले बताए। उनले अनुगमनको पाटोलाई तीव्रताका साथ अघि बढाइने बताए।

तीव्र गुनासोपछि अनुगमनका क्रममा अवैधानिक भेटिएपछि आईभीएफ सेन्टरमा छापा मारिएको र उनीहरूलाई जरिवाना गरिएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बताए।

अनुगमनमा जिल्ला प्रशासन, प्रहरी, नागरिक समाज, औषधी व्यवसायी, पत्रकार लगायतको सहभागिता रहेको थियो। बुटवलमा वरदान, पिपुल्स, वात्सल्य र प्रनाभी नामका आईभीएफहरू सञ्चालनमा रहेका छन्।

जनस्वास्थ्य सेवा नियमावली २०७७ को परिच्छेद ४ नियम १२ उपनियम १ मा स्वास्थ्य संस्थाको इजाजतपत्र तथा नवीकरण सम्बन्धमा कसैले पनि इजाजतपत्र नलिई निजी, गैरसरकारी, सहकारी वा गैर नाफामूलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालन गर्न वा त्यस्तो संस्थाबाट स्वास्थ्य सेवा उपलब्ध गराउन नपाइने उल्लेख छ।

नियम १२ को उपनियम ३ मा यो नियमावली प्रारम्भ हुँदाका बखत इजाजतपत्र नलिई सञ्चालनमा रहेका निजी, गैरसरकारी, सहकारी, गैर नाफामूलक सामुदायिक स्वास्थ्य संस्थाले यो नियमावली प्रारम्भ भएको मितिले तीन महिनाभित्र इजाजतपत्रको लागि निवेदन दिनु पर्ने स्पष्ट उल्लेख गरेको छ।

अनुसूची ११ नियम १२ को उपनियम (५) बमोजिम इजाजतपत्र लिँदा जनस्वास्थ्य सेवा ऐन, २०७५ जनस्वास्थ्य सेवा नियमावली, २०७७ तथा देहायका सर्तहरूको अधीनमा रहेर विभिन्न बुँदाहरूसहित स्थापना गर्न लागिएको ठाउँमा अस्पताल आवश्यक छ भन्ने स्थानीय तह र प्रदेशको सम्बन्धित निकायको सिफारिस पत्र नभई नहुने जनाइएको छ।

स्वास्थ्य कार्यालय रुपन्देहीका ल्यावटेक्सिशन अधिकृत खिमलाल पाण्डेले अब क्रमिक रूपमा डेन्टल ल्याब मेडिकल पोलिक्लिनिक अनुगमन गरिने र अवैध भएका लाई कानुनको दायरामा ल्याइने बताए।

आइभिएफ सम्बन्धी समाचार

साउन ४, २०८२ आइतबार २०:५१:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।