पूर्वराष्ट्रपतिको पार्टी सदस्यता प्राविधिक विषय भएकाले छलफल अयोग्य रहेको योगेशको दाबी

पूर्वराष्ट्रपतिको पार्टी सदस्यता प्राविधिक विषय भएकाले छलफल अयोग्य रहेको योगेशको दाबी

काठमाडौं : एमालेका सचिव योगेश भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमालेको सदस्यता प्राविधिक विषय रहेको दाबी गर्दै यो छलफलको विषय समेत नभएको तर्क गरे।

आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओली र भण्डारीबीचको छलफलपछि उनले सञ्चारकर्मीहरूसँग ओली र भण्डारीको भेटघाट एमालेको लागि महत्त्वपूर्ण रहेको तर्क गरे।

विभिन्न बैठकमा नेताहरूले पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्कने विषयमा पार्टी अध्यक्षसँग छलफल हुनुपर्ने धारणा राखेको प्रतिफलमा आइतबारको छलफल भएको तर्क गरे।

‘हाम्रो केन्द्रीय सचिवालयको बैठक र पोलिटब्युरो सदस्यहरूको बैठकमा पार्टीका नेताहरूले आफ्नो कुरा राखे। अहिलेको बहस पूर्वराष्ट्रपतिज्यू पार्टीको सक्रिय राजनीतिमा फर्कने र पार्टीमा भूमिका खेल्ने कुरामा प्रधानमन्त्री एवं पार्टी अध्यक्षबीच छलफल हुनुपर्छ भन्ने आएपछि आजको भेटघाट त्यसैको पृष्ठभूमि हो। यो भेटघाट एमालेको लागि महत्त्वपूर्ण छ’ उनले दाबी गरे।

उनले सदस्यता नवीकरण प्राविधिक कुरा भएको र प्राविधिक कुरा टुङ्गिनु भन्दा पहिले राजनीतिक कुरा टुङ्गिनु पर्ने तर्क गरे।

‘राजनीतिक कुरा टुङ्गियो भने प्राविधिक कुरा त्यो अनुसार मिलाउने हो,’ उनले भने ‘यो सदस्य नवीकरण भएको छ कि छैन, अभिलेखमा छ कि छैन भन्ने कुरामा गरिरहनु आवश्यक छैन। राजनीतिक कुरा टुङ्गियो मान्नुस् कि पूर्व पूर्वराष्ट्रपतीज्यु पार्टीको सक्रिय राजनीतिकमा फर्किने उहाँलाई सम्मानजनक स्थानमा भूमिका दिने हो भने आज नवीकरण भएको छैन भने पनि भोली नवीकरण गर्न सकिन्छ।’

उनले पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्किनु उचित नभए नवीकरण भए पनि निष्क्रिय हुने बताए। 

साउन ४, २०८२ आइतबार १९:३४:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।