ओलीसँगको छलफलबारे भण्डारी : राष्ट्रिय राजनीतिबारे कुरा भयो, बाँकी आधिकारिक च्यानलबाट आउँछ

काठमाडौं : पार्टी सदस्यताबारे एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलबारे पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय राजनीतिबारे छलफल भएको दाबी गरिन्।
दुबैबीच पार्टी कार्यालय च्यासलमा दुई जना मात्र बसेर भएको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो पार्टी सदस्यता पहिले नै नवीकरण भइसकेको दाबी गरिन्।
छलफलमा उनले राष्ट्रिय राजनीतिका विषयमा मात्रै कुराकानी भएको र अरू विषयको जानकारी आधिकारिक च्यानलमार्फत आउने तर्क गरिन्।
‘त्यो (पार्टी सदस्यता नवीकरण) पुरानो कुरा हो। पार्टी सदस्यता पहिले नै भइसकेको छ। आज राष्ट्रिय राजनीतिक विषयमा मात्र कुराकानी भयो। अरू विषय आधिकारिक च्यानलबाट आउँछ।’
भण्डारी सक्रिय राजनीतिमा फर्किने घोषणा गरेसँगै सचिवालय बैठक र पोलिटब्युरो बैठकले उनको सदस्यताबारे कुनै निर्णय नगरेपछि आइतबार छलफल भएको थियो।
ओली पक्षले पूर्वराष्ट्रपतीको रूपमा सक्रिय राजनीतिमा आउँदा सकारात्मक सन्देश नजाने र छाडिसकेको सदस्यता नवीकरण नभई प्रारम्भिक चरणबाट आउनुपर्ने तर्क गरिरहेको छ।
भण्डारीपक्षका नेताहरूले भने उनको सदस्यता नवीकरण भइसकेकाले यो विषय बहसको विषय नै नभएको र पार्टीले पार्टी सदस्यलाई कुनै काममा पठाउँदा सदस्यता निलम्बन भएको अवस्थामा पुन फर्कँदा सक्रिय हुने तर्क गरिरहेका छन्।
यसले पार्टीमा विवाद र ध्रुवीकरण बढाएपछि पार्टीको केन्द्रीय समितिको बैठक अगाडि सहमतिका लागि पार्टी अध्यक्ष ओली र भण्डारी आइतबार भेटेका हुन्।
साउन ४, २०८२ आइतबार १९:२६:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।