शिक्षिका उर्मिलाको प्रसव पीडा र खुसी : ‘ओ नेगेटिभ’ रगत समूहको गर्भावस्था जोखिमपूर्ण हुन्छ भनेपछि दोस्रो सन्तानको आँट आएन

शिक्षिका उर्मिलाको प्रसव पीडा र खुसी : ‘ओ नेगेटिभ’ रगत समूहको गर्भावस्था जोखिमपूर्ण हुन्छ भनेपछि दोस्रो सन्तानको आँट आएन

जेसिस इन्टर्नेशनल स्कुलमा १२ वर्षदेखि पढाइरहेकी उर्मिला बाँस्कोटाले घरमै ट्युसन पढाएर आफ्नो अध्यापन यात्रा सुरु गरेकी थिइन्। उनी अहिले जेसिस ग्रेड शिक्षकको रूपमा सक्रिय छिन्।

आफैँ पनि आमा भएकाले शिशु कक्षाका विद्यार्थीहरूलाई पढाउन र सिकाउन एकदम सहज भएको उनी बताउँछिन्। कीर्तिपुरको सल्यानथानमा जन्मिएकी उनको बुबा सरकारी कर्मचारी थिए। पुरोहित काम समेत गर्ने उनको बुबाले सकेजति आफ्नो सन्तानहरूलाई पढाए।

तर दश जोड दुईपछि भने उनले आफ्नो पढाइलाई अगाडि बढाउन सकिनन्। कम्प्युटर कोर्स लगायत विभिन्न सीपमूलक तालिममा भाग लिँदै गर्दा उनको विवाह भयो। विवाहपछि पनि रोकिएको अध्ययनलाई अगाडि बढाउन सकिनन्।

बिहेको केही वर्ष पछि उनी आमा बनिन्। उनै शिक्षिका उर्मिलाले उकेराको स्तम्भ प्रसव पीडा र खुसीमा आफ्नो मातृत्व अनुभव यसरी साटिन् :

OOO

हाम्रोतिर छोरीको बिहे छिटो भयो भने ‘यो नराम्रो छ क्या हो, यसको छिट्टै बिहे भयो’ भन्ने चलन थियो। अनि ढिला बिहे हुने छोरीहरूले राम्रो गर्दै छ भन्ने गरिन्थ्यो। त्यही भएर मेरो बिहे त्यति छिटो भएन। २५ वर्ष उमेर हुँदा विवाह भयो।

विवाह मागी थियो। आमाबाबाले छानेको केटासँग विवाह भयो। आमाबाबाले छोरीको लागि नराम्रो निर्णय गर्नुहुन्न भनेर सानैदेखि सिक्दै आइयो। पढेलेखेको पनि छे, अलिअलि काम पनि गर्दैछे भन्ने भयो।

तर बिहेपछि आफूले जे गर्न सक्छु त्यो गर्छु भन्दा माहौल अलि फरकै हुने रहेछ। आमाबाबाको काखमा बसिराखेको, सबै जिम्मेवारी सम्हाल्ने जिम्मेवारी आउँदा सुरुमा अलि आत्तिए जस्तो हुने रहेछ।

पहिला देखिनै सासूआमा मात्र हुनुहुन्थ्यो। उहाँ वृद्ध हुनु भएकाले जेठानी दिदीहरूले सबै कुरा सिकाउँदै लग्नु भयो। त्यसले घर व्यवहार सम्हाल्न अलि सहज भयो।

विवाहपछि सन्तानका लागि अलि समय लिऊँ भनेर हामीले तीन वर्ष पर्खियौँ। तर सासूले त्यस अघि नै नातिनातिनाको चाहना गर्नु भएको थियो। तीन वर्षपछि गर्भ रहेको सुन्दा सबैभन्दा खुसी मेरो सासू आमा नै हुनु भएको थियो। त्यस बेलाको माहौल निकै रोमाञ्चक थियो।

मेरो रक्त समूह ‘ओ नेगेटिभ’, यो रक्त समूह भएको व्यक्तिको गर्भावस्था क्रिटिकल हुने, बिचमा गर्भ खेर गयो भने कहिले पनि आमा नबन्ने भनिने रहेछ। जब थाहा भयो, निकै सचेत भएँ। पुरै नौ महिना नै बेडरेस्टमा बसेँ भन्दा हुन्छ।

हाम्रो माइजू थापाथली हस्पिटलमा काम गर्नु हुन्थ्यो। उहाँले नै श्रीमानलाई सुरुमै ‘ज्वाइँ उसले एकदम बेडरेस्ट गर्नुपर्छ’ भन्नुभयो। घरमा पनि सबैले सजिलै बुझिदिनुभयो। त्यसले गर्भावस्थामा त्यति समस्या भएन।

तर घरमा केही काम नगरी बस्दा दिमागमा अनेकौँ कुरा आउने रहेछ। भविष्यबारे धेरै सोचिने रहेछ। के हुने हो, कस्तो हुने भनेर अलि डर पनि लागेको थियो।

राम्रो-राम्रो किताबहरू पढ्नु पर्छ भनेर त्यहीँ गरेँ। सकेसम्म नकारात्मक सोचतिर ध्यान जान दिइन। मेरो बच्चा स्वस्थ जन्मियोस् भनेर धेरै कामना पनि गरेँ।

मलाई निकै हिँड्न मन लाग्छ। सतुंगलबाट कीर्तिपुर हिँडेर जाँदा सामान्यता २५ देखि ३० मिनेट लाग्छ। तर गर्भावस्थामा कीर्तिपुर पुग्न डेढ घण्टा लागेको थियो।

त्यसबेला बहिनीको लागि बुवाले कम्प्युटर अफिस खोलिदिनु भएको थियो। म मन बहलाउन कहिलेकाहीँ त्यहीँ जान्थेँ। त्यही बेलामा पेटमा हल्का ठेस लागेपछि म थप सजग भएँ। अनि कहीँ पनि गइन।

गर्भवती भएको तीन महिना लागेपछि मलाई निकै वान्ता भएको थियो। तर जति वान्ता भए पनि बच्चाको लागि खानु पर्छ भनेर जसरी खाएँ। त्यसले धेरै कमजोरी हुन पाएन।

डाक्टरले समय तोकिएको २५ दिन अगाडी मेरो वाटर ब्रेक भयो। बेलुकाको समय थियो त्यो। तर मैले त्यसबेला पिसाब गयो कि भन्ने सोचेँ। त्यति वास्ता गरिनँ। बिहान त बच्चा नचलेको जस्तो लाग्यो।

त्यसबेला हामी डेरामा बस्थ्यौँ। घरबेटीले ‘जे भए पनि भन है, तिम्रो पहिलो सन्तान हो’ भन्नु हुन्थ्यो। त्यसदिन अलि ढिला पनि उठेको थिएँ। घरबेटीले ‘के भयो, चोखो पानी पनि थाप्न आइनौ’ भन्नुभयो।

मैले अलि सन्चो भएन भनेर सबै कुरा भन्दा उहाँले तुरुन्तै हस्पिटल जानु भन्नुभयो। म नुहाउँदा पेटमा प्राय बच्चा चल्दैनथ्यो। अनि तातो पानी, हर्लिक्स खाएपछि चल्थ्यो। त्यस्तै होला भनेर ढुक्कसँग बसिरहेको थिएँ। चल्दै नचले पछि श्रीमानसँग बाइकमा बसेर हस्पिटल गयौँ।

हामी जँचाएर फर्किहाल्ने भनेर गएको तर हस्पिटलमा डाक्टरले पानी नभएपछि बच्चालाई गाह्रो हुन्छ भन्दै तुरुन्तै अप्रेसन गर्न भन्नुभयो। म त झसङ्गै भएँ। सकेसम्म नर्मल डेलिभरीबाट बच्चा जन्माउन मन थियो। अकस्मात् अप्रेसन गर्नु पर्छ भन्दा केही सोच्नै सकिन। तर गफ गर्दागर्दै डाक्टरहरूले बच्चा निकालिहाल्नु भयो। अप्रेसन भन्दा निकै डर लागेको थियो। तर सबै राम्रोसँग भयो।

पहिलो पटक हेर्दा बाबुको अनुहार केही देखिन। उसलाई सुताउँदा उसको हात चलिरहेको मात्र देखेँ। बाबुको तौल पनि धेरै थिएन।

अप्रेसन भन्दा पनि मलाई त स्तनपान गराउँदा धेरै गाह्रो भयो। एक त उ निकै सानो भएर दूध तान्न बल लगाउनै सकेन। दोस्रो, दूध धेरै आइदियो। नागढुंगामा अलि कच्ची बाटो भएको कारण एक दिन हामी थप हस्पिटलमै बस्यौँ।

सुत्केरी स्याहार निकै राम्रो भयो। माइतीमा त हुने नै भयो, जेठानी दिदीहरूले पनि केही अभाव हुन दिनु भएन।

बाबु अहिले १४ वर्षको भयो। एक्लो सन्तान भएर पनि होला हुर्काउन त गाह्रो लाग्यो। उसको खानपानमा र तातो चिसोबाट जोगाउन निकै मिहिनेत गर्नु पर्यो। अगाडि नै क्रिटिकल केस भएको कारण हामीले अर्को सन्तानको चाह राखेनौ।

बाबु स्कुल जान थालेपछि म फुर्सदिलो भएँ। त्यही भएर पढाउने काम सुरु गरेँ। अहिले मैले पढाउने स्कुलमा नै उ पढ्दै छ। सँगै छौँ, त्यही भएर सहज महसुस गरेका छौँ। अब उ किशोरावस्थामा हिँड्दै छ। त्यही भएर अलि बढी समय दिनु पर्नेमा म सजग छु।

सन्तान भनेको दुख-सुख भुलाउने साथी पनि रहेछ। अहिले हामी तीन जना छौँ। घरको काम पनि मिलीजुली गर्छौँ। परिवार रमाइलो छ।

साउन ४, २०८२ आइतबार १८:२२:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।