विद्याको प्रवेशले गर्माएको एमाले मुख्यालय च्यासलको वातावरण, नेताको स्वागतले गमक्क

विद्याको प्रवेशले गर्माएको एमाले मुख्यालय च्यासलको वातावरण, नेताको स्वागतले गमक्क

काठमाडौं : एमाले पार्टी कार्यालयमा अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्टपति रहेकी विद्या भण्डारीको प्रवेशको दृश्यले यी दुवै नेताको पक्ष र विपक्षमा पार्टीमा बढ्दै गएको ध्रुवीकरण प्रस्ट देखाएको थियो। दुवै आ-आफ्नो सरकारी हैसियत अनुसारको सुरक्षा घेरासहित पार्टी कार्यालय च्यासल पुगेका थिए। 

पार्टी राजनीतिमा सक्रिय हुने उद्घोषसँगै सदस्यता नवीकरण गर्ने भण्डारीको प्रयासमा ओलीले अवरोध गरेपछि सदस्यतासम्बन्धी विवादमा छलफल गर्न आइतबार तीन बजे च्यासलमा छलफल गर्ने समय तोकिएको थियो। पहिला एमाले नेतृ भण्डारी पुगेकी थिइन्। उनी पुग्दा पार्टी कार्यालयमा पार्टी नेता र कार्यकर्ताहरूको ठूलो भिड लागेको थियो। 

उनलाई पार्टीका नेता सुरेन्द्र पाण्डे लगायतले स्वागत गरेका थिए। पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताले स्वागत गर्दा भण्डारी प्रसन्न मुद्रामा देखिएकी थिइन्।

भण्डारी पार्टी कार्यालय पुगेकी केही समयपछि पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली पनि च्यासल पुगेका थिए।पूर्वराष्ट्रपती भए पनि पुन एमालेको सदस्यता नवीकरण गरेर पार्टी राजनीतिमा सक्रिय हुने प्रयासमा रहेकी भण्डारीको सदस्यता नवीकरण नगरी पार्टीले पेन्टिङमा राखेपछि दुवैबीच विशेष छलफल हुन लागेको हो। 

पार्टीको सचिवालय र पोलिटब्युरो बैठकले समेत भण्डारीको सदस्यताबारे निर्णय गर्न नसकेपछि सो विवाद पार्टीको केन्द्रीय समितिको बैठकले टुङ्ग्याउने गरी पेन्टिङमा राखिएको छ। शनिवार सकिएको पोलिटब्युरो बैठकमा भण्डारीको सदस्यता नवीकरणको पक्ष र विपक्षमा पार्टी नेताहरू विभाजित भएपछि पार्टी अध्यक्षको हैसियतमा यसबारे आफूले पूर्वराष्टपति भण्डारीसँग छलफल गर्ने बताएका थिए। सोही अनुसार आइतबार तीन बजेका लागि समय तोकिए पनि कार्य व्यस्तताका कारण छलफलको समय सरेको थियो। ओली अगाडि भण्डारी च्यासल पुगेकी थिइन्।

साउन ४, २०८२ आइतबार १६:३७:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।