एमाले नेतृ विद्यासँग छलफल गर्न एमाले अध्यक्ष ओली पनि पुगे च्यासल

एमाले नेतृ विद्यासँग छलफल गर्न एमाले अध्यक्ष ओली पनि पुगे च्यासल

काठमाडौं : पार्टी सदस्यस्यतासम्बन्धी विवादमा छलफल गर्न एमाले नेतृ विद्या भण्डारी एमाले पार्टी कार्यालय च्यासल पुगेको केही बेरमा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि च्यासल पुगेका छन्। पूर्व राष्ट्रपति रहेकी भण्डारी सुरक्षा दलबल र सहयोगीसहित च्यासल पुग्दा प्रधानमन्त्री समेत रहेका ओली पनि प्रधानमन्त्रीस्तरिय सुरक्षासहित पार्टी कार्यालय पुगेका थिए।

पूर्वराष्ट्रपती भए पनि पुन एमालेको सदस्यता नविकरण गरेर पार्टी राजनीतिमा सक्रिय हुने प्रयासमा रहेकी भण्डारीको सदस्यता नवीकरण नगरी पार्टीले पेन्टिङमा राखेपछि दुबैबीच विशेष छलफल हुन लागेको हो। पार्टीको सचिवालय र पोलिटब्युरो बैठकले समेत भण्डारीको सदस्यताबारे निर्णय गर्न नसकेपछि सो विवाद पार्टीको केन्द्रीय समितिको बैठकले टुङ्ग्याउने गरी पेन्टिङमा राखिएको छ।

शनिवार सकिएको पोलिटब्युरो बैठकमा भण्डारीको सदस्यता नवीकरणको पक्ष र विपक्षमा पार्टी नेताहरू विभाजित भएपछि पार्टी अध्यक्षको हैसियतमा यसबारे आफूले पूर्वराष्ट्रपती भण्डारीसँग छलफल गर्ने बताएका थिए। सोही अनुसार आइतबार तीन बजेका लागि समय तोकिए पनि कार्य व्यस्तताका कारण छलफलको समय सरेको थियो। ओली अगाडि भण्डारी च्यासल पुगेकी थिइन्।

पार्टी राजनीतिमा सक्रिय हुने घोषणासँगै पूर्वराष्ट्रपतीको रूपमा आफूले राज्यबाट पाउने सुविधा नलिन गृह मन्त्रालयमा निवेदन दिएकी उनी पार्टी कार्यालयमा एमाले नेतृको हैसियतमा पार्टी अध्यक्षसँग छलफल गर्न जाँदा भने पूर्वराष्ट्रपतीको हैसियतको सुरक्षा घेरामा गएकी थिइन्।

साउन ४, २०८२ आइतबार १६:२२:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।