सेयर बजारले कारोबार रकममा छलाङ मार्दै २१ अर्बमाथि , परिसूचक भने सामान्य बढ्यो

काठमाडौं : साउनको पहिलो दिनको कारोबारमा सेयर बजारले कारोबार रकममा छलाङ मार्दै २१ अर्ब बढीको कारोबार भयो। गत बिहीबार साढे १६ अर्बको सेयर खरिदबिक्री भएको थियो। आइतबार ३ सय १६ स्टकको १ लाख ७८ हजार १ सय ७६ पटकको कारोबारमा २१ अर्ब ४६ करोड ४९ लाखको कारोबार भयो।
आइतबार ५ करोड १६ लाख ५८ हजार कित्ता सेयर खरिदबिक्री हुँदा नेप्से परिसूचक भने सामान्य अंक मात्र बढेर बजार बन्द भयो।आइतबार नेप्से परिसूचक ०.३२ अंक बढेर २८७०.९५ विन्दुमा पुग्यो। सेन्सेटिभ इन्डेक्स २.४६ अंक घट्यो। फ्लोट इन्डेक्स ०.४४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.०५ अंकले घट्यो।
आइतबारको कारोबारमा १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढ्यो। ८ उपसमूहको परिसूचक घट्यो। अन्य उपसमूहको परिसूचक सर्वाधिक ३.३६ प्रतिशत बढ्यो। होटल तथा पर्यटन, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढ्यो। वित्त उपसमूहको परिसूचक सर्वाधिक २.२६ प्रतिशत घट्यो।
आइतबार उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, सान्भि इनर्जी, ट्रेड टावर र शिव श्री हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य करिब १० प्रतिशत बढ्यो। समृद्धि फाइनान्सको सेयर मूल्य सर्वाधिक ८.८८ प्रतिशत घट्यो।
कारोबार रकमका आधारमा आइतबार नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ९८ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो। बुटवल पावर कम्पनीको ६४ करोडभन्दा बढीको सेयर किनबेच भयो। हिमालयन रि इन्स्योरेन्सको साढे ५६ करोड बढी कारोबार भयो।
साउन ४, २०८२ आइतबार १६:११:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।