‘दुःखले जोडेको कम्पनीमाथि नियोजित हमला भयो, सरकार र कानुन छ भने न्याय चाहियो’

काठमाडौं : लोकप्रिय हास्य टेलिभिजन कार्यक्रम कमेडी च्याम्पियन र कमेडी नाइट विथ च्याम्पियन का निर्माता तथा थ्री प्रोडक्सन प्रा.ली का संचालक विशाल भण्डारीले आफूमाथि चरम अन्याय भएको भन्दै स्ट्याटस लेखेका छन्।
आफ्नो मेहनतले बनेको कम्पनीमाथि नियोजित हमला भएको बताउँदै उनले न्यायको याचना गरेका छन्।
‘एक घोर अन्याय विरुद्ध हिम्मत गरेर आज म लेख्दैछु। लाखौं दर्शकको माया र साथले सफल भएको कार्यक्रम अहिले पाँचौं सिजनसम्म आइपुगेको छ। तर यो यात्रामा कम्पनीमाथि नियोजित रूपमा धक्का पुगिरहेको छ। सिजन ३ को सुरुवाततिर आफुलाई एनआरएन बताउने एक व्यक्तिले ३.५ करोड लगानी गर्ने भन्दै कम्पनीमा प्रवेश गरेका थिए। सुरुमा १.५ करोड दिने र बाँकी मुनाफा अनुसार थप गरेर पुरा गर्ने सहमति थियो। दुई वर्षभित्र पैसा नफिर्ता लिने प्रस्ट सम्झौता हुँदा हुँदै, सिजन ३ सकिएपछि ती लगानीकर्ता सम्झौताविपरीत पैसा माग्न थाल्दै दबाब सिर्जना गर्न थाले,’ उनले लेखेका छन्।
उनका अनुसार ती व्यक्तिले कम्पनीकै चेक लगेर बैंकिङ कसुरमा मुद्दा हाले, आफै संचालक रहेको कम्पनीका कागजात लिएर राज्य संयन्त्र र प्रभावशाली सम्बन्धको दुरुपयोग गर्दै २ करोड ४० लाख असुले। उनले भनेका छन्, ‘हरेक कारोबार बैंकमार्फत भएको प्रमाण मसँग छ। तर पैसा फिर्ता गर्दिन भन्ने, मिलापत्र गर्न पनि नआउने र झन मुद्दा हालेर कार्यक्रम, कलाकार र टिमलाई हैरान बनाउने व्यवहार भइरहेको छ।’
उनले यो घटनाको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमार्फत सरकारलाई गराएको भए पनि सहयोग नपाएको गुनासो पनि गरेका छन्। प्रहरी प्रशासनका ठूला अधिकृतहरूबाट तिरस्कारपूर्ण व्यवहार भएको अनुभव सुनाउँदै उनी लेख्छन्, ‘मरेतुल्य भएको त्यो क्षण बिर्सन खोज्दा पनि सक्दिनँ।’
साथै, उनले अब आफू मात्रै होइन, कम्पनीमा कार्यरत १०० जनाको परिवार, भविष्य र करियरको सवाल भएको भन्दै यो विषयलाई सरकार, न्यायालय र नागरिक समाजले गम्भीरतापूर्वक लिनुपर्ने माग गरेका छन्। ‘म त न्यूजील्यान्ड जान सक्छु, तर बाँकी १०९ जना कहाँ जाने?’ भनी उनले प्रश्न उठाएका छन्।
उनले लेखेका छन्, ⲵ‘के यो देशमा इमानदारीसँग सिर्जना, श्रम र पौरख बेचेर बाँच्न पाइँदैन? के राज्य संयन्त्रहरू बेइमानी र छलकपट गर्नेहरूकै लागि हो? हाम्रो कुरा कस्ले सुन्ने?’
आफू र आफ्नो टिमलाई न्याय र काम गर्न सक्ने स्वतन्त्र वातावरण चाहिएको भन्दै उनले स्ट्याटसमा भनेका छन्- ‘अब त अति नै भयो- सरकार र कानुन छ भने न्याय चाहियो। हामी यही देशमै बसेर दर्शक हँसाइराख्न चाहन्छौं।’
साउन ४, २०८२ आइतबार १३:४१:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।