मेरो देशको अस्मिता

मेरो देशको अस्मिता

मैले
मेरो देशमा हाँसेर बाँच्न पाएको छैन
मैले
मेरो देशमा खुशी छरेर नाँच्न पाएको छैन
म कहाँ छु ?
मैले
मेरो देशमा आफैलाई भेट्न पाएको छैन
म रोइरहेछु
मेरो देशको दुर्दशा देखेर
देश पनि त रोइ रहेछ
मेरो दुःखमा दुःख मिसाएर।

अभिशप्त जिन्दगी घिसारेर
म कहिले भोक सँग लड्छु
म कहिले रोग सँग लड्छु
म कहिले शोक सँग लड्छु
जर्जर र बर्बर परिवेशमा
म दिन भरी खट्पटिएको हुन्छु
म रात भरी छट्पटिएको हुन्छु
पीडाले चिथ्रा भएको छाती छ म सँग
दुःखले चिरिएको मुटु बोकेर
खै म कसरी हाँसु ?

म रहरको बिस्कुन सुकाएर
हाँस्न सक्दिनँ मज्जाले
जिन्दगी विवशताले थिचिएको छ
म मेरो देशको गर्भ भित्र
निचोरिएर बाँचेको छु।

मैले
मेरो देश बेच्न खोज्ने सैतानहरू चिनेको छु
मैले
मेरो अस्तित्व ठुङ्ने बाजहरू चिनेको छु
म सैतान विरुद्धको मोर्चामा छु
बाजसँग पौठेजोरी खेल्दै
म मेरो अस्तित्व बचाइ रहेको छु।

मैले
गोमनको डसाइबाट बच्ने सुरक्षित ठाउँ भेटेको छैन
मैले
कुकुर र बिरालोबाट लुछिने संभावना टार्न सकेको छैन
म सैतानहरूको किल्ला भित्रै
असुरक्षित भएर बाँच्न विवश छु
यो संन्त्रश्त जीवन कसरी बचाउने हो ?
मेरो देश
मलाई सुरक्षाको ओत देउ
म मेरो देश भित्रै
निर्वाध बाँच्न पाउने अधिकार खोजिरहेको छु
म बाँच्नकै लागि एउटा युद्ध रोजिरहेको छु।

मैले
रोएर अधिकार नपाउने भएको छु
तानासाहरूको मन ढुङ्गाले बनेको छ
म फलामको छाती लिएर
तानासाहरू सँग युद्ध लड्ने भएको छु
मेरा महान मान्छेहरू !
म रगतको बद्ला लिएरै छोड्ने भएको छु
मेरो देश
तिमीलाई कसरी परिभाषित गरू ?
तिम्रा बहादुर छोराछोरी सैतान सँग लडिरहेका छन्
तिम्रो मुक्तिका खातिर।

तिम्रो शान्ति प्रिय छोरा बुद्धकै अगाडि
सैतानहरूले गोली पड्काएका छन्
स्वयम्भूमा बुद्धलाई बन्धक बनाएर
रगतको होली खेल्दै
मेरो देशको अस्मिता लुटिरहेछन्।

 

प्रकाशचन्द्र खतिवडा, सुन्दरहरैंचा-६, दुलारी, मोरङ, ९८४२०७३५२५ , [email protected]

 

साउन ४, २०८२ आइतबार १२:४५:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।