अनुशासनहीनता मौलाएको भन्दै वित्त आयोगका सदस्य मिश्रले दिए राजीनामा

काठमाडौं : राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य अमर राज मिश्रले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा बुझाएका छन्।
वित्त आयोगमा अनुशासनहीनता मौलाएको र संघीयतालाई बलियो पार्न भन्दा पनि कमजोर पार्ने काम भइरहेको भन्दै मिश्रले राजीनामा दिएका हुन्। संघीयताको नाममा आउने वैदेशिक सहयोग पारदर्शी तरिकाले वितरण नभएको भन्दै मिश्रले आयोगमै फरक मत राख्दै आएका थिए।
उनले युएनडीपीले दिएको रकम कुनै सीमित गैरसरकारीसंस्थालाई दिएको भन्दै फरक मत राखेका थिए। बिहिबार नै राजीनामा बुझाएपनि राष्ट्रपति कार्यलयले हालसम्म उनको राजीनामाबारे कुनै निर्णय गरिसकेको छैन।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले राजीनामा आएको पुष्टि गरिन्। ‘राजीनामा आएको २-३ दिन भयो। राष्ट्रपति ज्यू समक्ष गएको छ,’ उनले भनिन्, ‘हालसम्म कुनै निर्णय भएको छैन।’
साउन ४, २०८२ आइतबार १२:०७:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।