बहुरङ्गी वनफूलमा लोभिए पर्यटक, गुलजार छ ढोरपाटन

बहुरङ्गी वनफूलमा लोभिए पर्यटक, गुलजार छ ढोरपाटन

बागलुङ : शान्त वातावरण, बदलिँदो मौसम, शीतल हावापानी र रंगीचंगी फूलहरूले सजिएको ढोरपाटन उपत्यका अहिले पर्यटकको भीडले गुल्जार बनेको छ। बर्खायाममा अरू ठाउँमा पर्यटकीय गतिविधि घट्ने भए पनि ढोरपाटन भने वनफूल हेर्न आउने पर्यटकले भरिएको छ।

आठ किलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन उपत्यका अहिले सयौँ प्रजातिका फूलले ढाकिएको छ। विशेषगरी फाँट, पाखा र डाँडामार्गमा फुलेका थरिथरिका बुकी फूलहरूले यसलाई झनै रमणीय बनाएको छ।

स्थानीय ढोरपाटन सामुदायिक होमस्टे सञ्चालक मिलन घर्तीका अनुसार असारदेखि भदौसम्म अन्यत्र पर्यटक घटे पनि ढोरपाटन भने अझै पनि व्यस्त छ। ‘बर्खाको बाटो अप्ठ्यारो भए पनि यहाँको दृश्यले यात्राको सारा थकान बिर्साइदिन्छ,’ घर्तीले भने, ‘पछिल्लो दुई हप्तामा मौसम खुलेसँगै पाहुनाको चाप यति बढेको छ कि मेरो २५ जना क्षमताको घरबास भरिएर अन्य पाहुना छेउका होटल पठाउनु परेको छ।’

चार हजार मिटर उचाइको बुकीपाटनसम्म पदयात्रा गर्नेहरूका लागि फूल हेर्नुको अलगै मजा छ। तर पदयात्रा गर्न नसक्नेहरू उपत्यकामा फुलेका फूलहरू हेर्दै घोडा सफारीको मज्जा लिइरहेका छन्।

पर्यटकको आगमनले यहाँका होटल, होम स्टे र घोडा व्यवसायी उत्साहित भएका छन्। पोखरा, बुटवल, काठमाडौंजस्ता सहरहरूबाट समेत पर्यटकहरू आउने गरेका छन्।

‘कञ्चन उत्तरगङ्गा नदी, घोडा चरिरहेको समथर फाँट, अनि फूलले ढाकिएका डाँडाकाँडा देख्दा यात्रा सहज लाग्छ। रातो, सेतो, पहेँलो, गुलाफीजस्ता थुप्रै थरिका फूलले लोभ्याउँछ,’ काठमाडौंबाट मोटरसाइकल लिएर आएका अनिल राजवंशीले भने। 

राजवंशीले बुकिपाटनसम्मको एक दिनको पदयात्रा पूरा गरे। उनी भन्छन्, ‘झण्डै ३० किलोमिटरको बुर्तिबाङ-ढोरपाटन सडक सुधार भएमा यहाँ पर्यटकको कमी रहने छैन। अहिलेको अवस्थामै पनि दृश्यले कष्टकर यात्रा बिर्साउँछ।’ 

‘टिकटकमा देखिएका दृश्यहरू हेरेर लोभ लाग्यो,’ उनले थपे, ‘श्रीमतीसँगै एक हप्ताको छुट्टी लिएर काठमाडौँबाट ढोरपाटन पुगेँ।’

पर्यटकहरू ढोरपाटन पुगेर त्यहाँबाट बुकी र जलजला क्षेत्र हुँदै हिमालको दृश्य अवलोकनमा रमाउने गर्छन्। फाँटैभरि फूल, त्यसमा चर्ने घोडा, गाईभैँसी र भेडाबाख्राको दृश्यले पर्यटकलाई तान्ने गरेको छ।

स्थानीयले लेकमा फुल्ने वनफूलहरूलाई समग्रमा ‘बुकी’ भनेर चिनाउने गरेका छन्।

साउन ४, २०८२ आइतबार १०:३७:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।