एक वर्षमा ६३ पटक अवरुद्ध भएको बुटवल-नारायणगढ दाउन्ने सडक

एक वर्षमा ६३ पटक अवरुद्ध भएको बुटवल-नारायणगढ दाउन्ने सडक

नवलपरासी : बुटवल-नारायणगढ सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्र पछिल्लो एक वर्षमा ६३ पटक बन्द भएको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका-२ मा पर्ने दाउन्ने खण्ड २०८१ साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्म पटक-पटक अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जनक बन्जाराका अनुसार पहिरो, हिलो, सडक कटान, निर्माण उपकरणको जाम, वा बिग्रिएका ट्रकले बाटो थुनेर यातायात अवरुद्ध हुने गरेको छ। तीमध्ये अधिकांश घटना मनसुनमा पहिरो खस्दा भएका थिए।

दाउन्ने खण्डको विश्वकर्मा मन्दिर, घ्युखोला र त्रियासी मोड आसपास बढी अवरुद्ध भएको ट्राफिकको तथ्यांकले देखाएको छ। बुटवल-नारायणगढ सडक विस्तार परियोजनाअन्तर्गत दाउन्ने पहाडमा भित्तो काट्ने कामसँगै सडक झन् जोखिमपूर्ण बनेको हो।

प्रमुख बन्जारा भन्छन्, ‘वर्षामा पहिरो र हिलो त घाम लाग्दा पनि धुलो र खाल्डाखुल्डीले दाउन्ने सधैँजसो समस्याग्रस्त हुन्छ।’

गत पुस २६ गते विनयी खोला पुल भत्किएपछि दुम्कीवास आसपासको सडक सञ्जाल थप अस्तव्यस्त बनेको थियो। अस्थायी डाइभर्सन खोलाले बगाउँदा पटक-पटक यातायात ठप्प भयो। नयाँ पुल असार १९ गतेदेखि सञ्चालनमा आएपछि उक्त समस्या केही हदसम्म समाधान भएको छ।

दाउन्ने सडक विस्तारका लागि चैत २७ देखि चैत ३१ गतेसम्म दिनको ११ बजेपछि र वैशाख महिनाभर रातिको ११ देखि बिहान ५ बजेसम्म अत्यावश्यक बाहेक सबै सवारी रोकिएको थियो। हाल पर्खाल लगाउने, कल्भर्ट बनाउने र सडक ढलान गर्ने काम भइरहेको पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालले जानकारी दिए।

नारायणगढ-बुटवल ११४ किलोमिटर सडकखण्डमध्ये गैँडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर क्षेत्रमा काम भइरहेको छ। बजार क्षेत्रमा सर्भिस लेनसहित ६ लेन र जोखिम क्षेत्र मानिएको दाउन्नेमा १४ किलोमिटर तीन लेनको सडक विस्तार भइरहेको हो।

रु १७ अर्ब लागतमा निर्माणको ठेक्का पाएको चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले अहिलेसम्म तीनपटक म्याद थपिसकेको छ। अबको समयसीमा यही साउनको अन्तिमसम्म तोकिएको छ।

साउन ४, २०८२ आइतबार ०९:०७:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।