विद्या रोक्न सकसमा ओली, केन्द्रीय समिति छैन त्यति सहज

काठमाडौं : पार्टी अध्यक्षमा तेहरिन सचिवालय र पोलिटब्युरो बैठकबाट ७० वर्षको उमेर हद र दुई पटक मात्र नेतृत्व गर्न पाउने विधान संशोधन प्रस्ताव पारित गराएका एमाले अध्यक्ष केपी ओलीले पूर्व राष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण भने टुङ्गिन दिएका छैनन्।
भण्डारी पार्टीको नेतृत्व गर्ने रणनीति अनुसार भण्डारी देशको सर्वोच्च पदमा पुगेर पनि पुन पार्टी राजनीतिमा सक्रिय हुने प्रयासमा छिन्।
ओली पार्टीको कुनै सदस्यले सदस्यता छाडेमा पुन प्रारम्भिक प्रक्रियाबाट आउनुपर्ने विधानको प्रावधान अनुसार भण्डारीको सदस्यता नवीकरण नहुने पक्षमा उभिएका छन्।
भण्डारीको पक्षमा खुलेका ईश्वर पोखरेल लगायतका नेताहरू पार्टीले कसैलाई कुनै जिम्मेवारीमा पठाउँदा निष्क्रिय भएको सदस्यता उनले चाहेमा पुन सक्रिय हुने अर्को प्रावधान अनुसार नवीकरण रोक्न नसकिने दाबी गरिरहेका छन्।
यही विवादले शुक्रवार र शनिवार बसेको पार्टीको पोलिटब्युरो बैठकले पनि भण्डारीको सदस्यताबारे निर्णय नगरी अब केन्द्रीय समितिको बैठकमा लैजाने भएको छ।
सेनाको परमाधिपतिसहित देशको सर्वोच्च संवैधानिक पदमा पुगेको व्यक्ति पुन राजनीतिमा सक्रिय हुन सक्छ भन्ने परिकल्पना नगरिएकाले संविधानमा यसबारे केही उल्लेख छैन। तर नैतिक रूपमा भने भण्डारीको निर्णयको आलोचना भइरहेको छ।
राष्ट्रपति भएपछि पार्टीको सदस्यता निलम्बन या निष्क्रिय नभई रद्द नै हुने कानुनी प्रावधान छ। तर ओलीलाई तेस्रो पटक पार्टी अध्यक्ष हुनबाट रोक्न चाहने एमाले नेताहरू भने भण्डारीको सदस्यता निलम्बनको अवस्थामा रहेको तर्कसहित नवीकरण गर्नासाथ सक्रिय हुने तर्क गरिरहेका छन्।
उनीहरूको दबाब सामु ओलीले पनि निर्णय गराउन सकेका छैनन्। उनले विचाराधीन मात्र राख्न सकेका छन्। सचिवालय बैठकमा ओलीको पकड रहेकाले त्यहाँ ईश्वर पोखरेल बाहेकसँग उनको विवाद भएन।
तर पोलिटब्युरोमा भने भण्डारीको पक्षका नेताहरू समेत रहेकाले बहुपक्ष विवाद भयो। ओलीले चाहे अनुसार निर्णय गराउन सकेनन्।
केन्द्रीय समितिमा भण्डारीको बहुमत नदेखिए पनि संख्या भने कम छैन। ओलीका लागि ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउने पक्षबारे केन्द्रीय समिति फेस गर्न र भण्डारीको सदस्यता सक्रिय हुनबाट रोक्न त्यति सहज देखिन्न।
यसले भण्डारी सक्रिय भएसँगै एमालेमा बढेको धुर्विकरण थप बढ्ने देखिन्छ।
साउन ३, २०८२ शनिबार २३:३४:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।