पूर्वमन्त्री बुद्धिराज बज्राचार्यको निधन

पूर्वमन्त्री बुद्धिराज बज्राचार्यको निधन

ललितपुर : पूर्वमन्त्री एवम् तत्कालीन ललितपुर नगरपालिकाका प्रमुख बुद्धिराज बज्राचार्यको निधन भएको छ। शनिबार बिहान शिक्षण अस्पताल महाराजगञ्जमा उनको ८९ वर्षको उमेरमा निधन भएको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए।

“स्वर्गीय बज्राचार्यको शव अहिले महाराजगञ्ज अस्पतालमा नै राखिएको छ, उहाँका कान्छा छोरा विदेशबाट फर्किएपछि भोलि अन्त्येष्टि हुनेछ”, महानगरप्रमुख महर्जनले भने।

विसं २०६१ मा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री नियुक्त भएका बज्राचार्य त्यसअघि विसं २०६० मा ललितपुरको नगरप्रमुख भएका थिए। विसं २०२७ मा तत्कालीन ललितपुर पञ्चायत १७ को वडाध्यक्ष, २०३२ सालमा पहिलो पटक ललितपुरको प्रधानपञ्च भई उनले काम गरेका थिए। विसं २०४६ मा प्रजातन्त्र आएपछि उनले एमालेबाट २०५४ मा ललितपुरको नगरप्रमुख भएका थिए।

व्यापार क्षेत्रबाट पहिचान बनाउँदै राजनीतिमा होमिएका बज्राचार्यले २०३६ देखि २०३७ सालसम्मको ललितपुर उद्योग वाणिज्य सङ्घको उपाध्यक्ष, २०३८ सालमा सङ्घको कार्यवाहक अध्यक्ष र २०३९ देखि २०४० सालसम्म अध्यक्षको जिम्मेवारीमा रहेर योगदान दिएका थिए।

साउन ३, २०८२ शनिबार २२:५०:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।