करारका ८ कर्मचारी हटाइएपछि सुनवल नगरपालिकामा मेयर र उपमेयरबीच द्वन्द्व

करारका ८ कर्मचारी हटाइएपछि सुनवल नगरपालिकामा मेयर र उपमेयरबीच द्वन्द्व

बुटवल : नवलपरासीको सुनवल नगरपालिकामा कार्यरत ८ जना करारका कर्मचारी  हटाइएपछि मेयर र उपमेयरबीच जुहारी चलेको छ। 

नगरपालिकामा कार्यरत सव-इन्जिनियरसहित ८ जना प्राविधिक कर्मचारीलाई करार अवधि सकिएको भन्दै हटाइएको हो।

असार २७ गते बसेको कार्यपालिकाले सेवा करार नवीकरण नगर्ने निर्णय भएको भन्दै साउनदेखि हाजिर नगराउन नगरपालिकाले वडा कार्यालयलाई पत्रचार गरेपछि मेयर र उपमेयरबीच लिखित जुहारी चलेको हो।

 कार्यपालिकाको बैठकमा उपमेयर सूर्य दुबे काठमाडौं भएका कारण अनुपस्थित थिए। काठमाडौंबाट आएका उपमेयर दुबेले अर्को व्यवस्था नभएसम्म प्राविधिक कर्मचारीलाई नहटाई हाजिर गराउन भन्दै अर्को पत्र पठाएपछि मेयरसँगको द्वन्द्व चर्किएको हो। मेयर विमला अर्याल पनि साउन १ गतेदेखि काठमाडौंमा छिन।

 उपमेयरको उक्त पत्रबारे जानकारी पाएपछि मेयर अर्यालले सामाजिक सञ्जालमा उपमेयरलाई चुनौती दिँदै स्ट्याटस  लेखेकी छिन्। ‘म २ र ३ दिन बाहिर हुँदा कसैलाई कार्यवहाक दिएको पनि छैन। कार्यालय प्रमुख बिदामा भएको बेला कार्यपालिकाको सर्वसम्मत निर्णयलाई कानूनविपरीत चुनौती दिँदै मच्चाइएको प्रशासनिक अराजकता क्षम्य हुँदैन।संस्थागत निर्णयभन्दा बाहिर गएर कुनै गतिविधि नगर्न नगराउन सम्पूर्ण कर्मचारीलाई निर्देशन गर्दछु,’ उनले लेखेकी छिन्।

यता कार्यपालिकामा सहभागी भएका वडा नम्बर ३ का वडाध्यक्षहरूले भने करारमा कर्मचारी निकाल्ने विषय नै प्रवेश नगराइएको र अर्कै विषयका लागि बोलाइएको बैठकको उपस्थितिमा हस्ताक्षर गराएर आफूहरूलाई झुक्काएको बताए।

 वडाध्यक्ष एंव नगरका प्रवक्ता कृष्णप्रसाद वगालेसहित ८ जना वडाध्यक्षले आफूहरूको हस्ताक्षरको दुरुपयोग गरेको भन्दै नगरपालिकामा पत्र दिएका छन्। आफूलाई कर्मचारी हटाएको बारे कसैले जानकारी नदिएको र कर्मचारीले गुनासो गरेपछि पत्रचार गरेको उपमेयर सूर्य दुबेको भनाई छ।

नगरपालिकामा झन्डै एक सयको हाराहारीमा करारका कर्मचारी छन्। प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले स्थायी पदपूर्ति भएर आएपछि कार्यपालिकाकै निर्णय आवश्यक नहुने बताए। मेयर र उपमेयर दुबै एमालेबाट निर्वाचित हुन। उनीहरू बीच नगरपालिकाका अधिकांश निर्णयमा असहमति हुँदै आएको छ।

साउन ३, २०८२ शनिबार १८:०८:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।