महिला यू-२० च्याम्पियनसिपमा भुटानमाथि नेपालको फराकिलो जित, पूर्णिमा र मीनाले गरे ह्याट्रिक

काठमाडौं : महिला यू-२० च्याम्पियनसिप अन्तर्गतको खेलमा शुक्रबार नेपालले भुटानलाई ८-० गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ। नेपालका लागि पूर्णिमा राई र मीना देउवाले ह्याट्रिक गरे। समीक्षा मगर र कुशुम खतिवडाले समान एक-एक गोल थपे।
खेलको सुरुआती ४४ औं सेकेन्डमै गोल गर्दै नेपालले अग्रता लिएको थियो। पहिलो हाफमै ५-० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप तीन गोल गर्यो।
जारी प्रतियोगितामा पूर्णिमाको यो दोस्रो ह्याट्रिक हो, उनले १० गोल गर्दै शीर्ष स्कोररको सूचीमा अग्रता लिएकी छन्। मीनाको पनि दोस्रो ह्याट्रिक हो, उनको कुल गोलसंख्या ७ पुगेको छ।
पाँच खेलबाट १२ अंक जोडेको नेपाल गोलअन्तरका आधारमा आयोजक बंगलादेशभन्दा अगाडि शीर्ष स्थानमा पुगेको छ। अब सोमबार नेपाल र बंगलादेशबीचको खेलले उपाधि निर्धारण गर्नेछ।
साउन ३, २०८२ शनिबार १७:१९:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।