'मेरो करिअरको ग्राफ नै अप-डाउन छ, त्यसैले फिल्म हिट हुनु र नहुनुले खासै फरक पर्दैन'

फिल्म ‘नाई नभन्नु ल २’ बाट अभिनय यात्रा सुरु गरेकी वर्षा सिवाकोटी अहिलेकी डिमान्डेट अभिनेत्री हुन्। पछिल्लो समय उनी एकपछि अर्को फिल्ममा अनुबन्धित भइरहेकी छिन्। भर्खरै मात्र वर्षा नयाँ दुई फिल्ममा अनुबन्धित भइन्, भदौबाट छायांकन सुरु हुने फिल्म ‘जहाजै’, र मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) को ‘गोबर गणेश’ मा। उनले अभिनय गरेको अर्को फिल्म ‘कार्की साइला’ को अधिकांश छायांकन सकिएको छ।
यसअघि उनले ‘कारखाना’, ‘पशुपति प्रसाद’, ‘लप्पन छप्पन’, ‘भैरव’, ‘पुरानो बुलेट’, ‘वीर विक्रम २’, ‘परदेशी २’, ‘छक्का पञ्जा ५’ जस्ता फिल्महरूमा काम गरिसकेकी छन्। उनी अभिनीत फिल्म ‘माग्ने राजा’ आगामी भदौ ६ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ।
१२ वर्षभन्दा लामो अभिनय यात्रामा वर्षाले अनेकन अनुभवहरू सँगालेकी छन्। उनका निजी जीवनका उतारचढाव पनि कम छैनन्। विवाह गरेको एक महिनामै डिभोर्स भएको अनुभवलाई उनले अहिले जीवनको एउटा पाठका रूपमा लिएको बताउँछिन्।
उनीसँग उकेराकर्मी भोला अधिकारीले अभिनय यात्रादेखि निजी जीवनसम्मका अनुभवहरूबारे कुराकानी गरेका छन्। अन्तर्वार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ।
आजभोलि के गर्दै हुनुहुन्छ ?
व्यवसायीक कुरा गर्दा ‘माग्ने राजा’ भदौ ६ गतेबाट प्रदर्शनमा आउँदैछ। त्यसैको प्रचारप्रसारमा लागिरहेको छु। व्यक्तिगत काम भने खासै छैन। सबै समय चलचित्र क्षेत्रमै बितिरहेको छ।
‘कार्की साइला’को सुटिङमा जानुभएको थियो, सुटिङ सकिएको हो ?
होइन, ‘कार्की साइला’ अहिले होल्ड भएको छ। मौसमले गर्दा जुन समयमा जाने भनिएको थियो, तयारी नपुगेको भएर त्यो परियोजना अलिकति ढिला भएको छ।
पछिल्लो समय 'जहाजैमा'मा पनि जोडिनुभयो होइन ?
मलाई कृष्णा दिदी, पुरुषोत्तम दाजूको टिमसँग काम गर्न एकदमै मन थियो। पहिलेदेखि नै। कामहरू हेरेको, मेकिङदेखि लिएर सबै कुरामा एकदमै राम्रो लागेको भएर त्यो टिमसँग काम गर्न पाए हुन्थ्यो भन्ने सोचिरहेको थिए। सोच्दासोच्दै ठ्याक्कै अफर पनि आयो। म त एकदमै खुशी छु, उत्साहित पनि छु।
फिल्म रोज्दा के कुरालाई प्राथमिकता दिनुहुन्छ, पैसा, स्क्रिप्ट वा टिम ?
सबै नै हेर्नुपर्ने हुन्छ। तर त्यसमा मेरो प्राथमिकतामा पैसा पर्दैन। त्यो बाहेकका सबै कुराहरू प्राथमिकतामा पर्छन्। स्क्रिप्ट मात्र राम्रो भएर पनि काम छैन। त्यसको प्रोडक्शन कस्तो हुन्छ भन्ने पनि हेर्नु पर्छ। हुन त सबै स्क्रिप्ट राम्रो हुन्छ। स्क्रिप्ट मात्र राम्रो भएर मात्र हुँदैन। प्रोड्युसिङ गर्ने टिम हुनुपर्यो, मार्केटिङ गर्ने टिम हुनुपर्यो, त्यसमा आफूसँगका कलाकारहरू हेर्नुपर्यो। सबै पाटोहरू हुन्छन्।
चलचित्र सफल वा असफल बन्न एउटा कारकले मात्र काम गर्दैन नि। त्यसैले अहिले सामान्यतया हेर्दाखेरी यो टिमले एउटा प्रोजेक्टलाई कसरी प्रस्तुत गर्छ बजारमा र यो टिम कतिको राम्रो छ भन्ने नै हेरिन्छ।
‘माग्ने राजा’ प्रदर्शनमा आउन करिब एक महिना बाँकी छ। कत्तिको उत्साहित हुनुहुन्छ ?
छु नि। जब आफ्नो अभिनय रहेको कुनै चलचित्र कम्प्लिट भएर दर्शकहरूलाई देखाउने समय आउँछ, त्यो बेला अलिकति डर त हुन्छ नै, तर त्यससँगै उत्साह पनि हुन्छ। १५ वटा चलचित्र गरिसकेको भए पनि १६ औँ चलचित्र रिलिज हुने बेलामा पनि त्यो अनुभूति पहिलो अभिनय गरेको चलचित्रको जस्तै हुन्छ। अहिले पनि त्यस्तै भइरहेको छ। फिल्म राम्रो बनेको छ भन्ने विश्वास छ। बाँकी कुरा दर्शकको हातमा हुन्छ।
भदौ ६ गते अर्को फिल्म पनि प्रदर्शन हुँदैछ। आफ्नो अभिनय रहेको दुबै फिल्म जुध्दा डर लाग्दैन ?
चलचित्रको भविष्य त अहिले नै भन्न सकिँदैन। जब थिएटरमा आउँछ, त्यसपछि मात्र थाहा हुन्छ। अहिलेकै अवस्थामा के हुन्छ भन्ने ठोकुवा गर्न सकिँदैन। धेरैजसो यस्ता उदाहरण छन्। जुन फिल्मलाई सफल हुन्छ भनिएको थियो, त्यो असफल भयो। र जुन असफल हुन्छ भनिएको थियो, त्यो धेरै सफल भयो।
हामीसँगै अर्को फिल्म पनि आउँदैछ, तर म ‘जुध्दैछ’ भन्ने शब्द प्रयोग गर्न चाहन्नँ। दर्शकहरूलाई फरक टेस्टका चलचित्रहरू एउटै समयमा हेर्ने मौका मिल्दा उहाँहरूका लागि अप्सन खुला हुन्छ। जो जसलाई जुन जनराको फिल्म मन पर्छ, जुन हेर्न भ्याउनुहुन्छ, उहाँहरूले त्यो फिल्म रोज्नुहुन्छ।
तपाईंलाई फिल्म ‘हिट’ र ‘फ्लप’ दुबै अनुभव भोग्नुभएको छ, फिल्म हिट हुँदा र फ्लप हुँदाका दुबै अनुभव सुनाइदिनुस् न ?
मेरो असफल फिल्मको संख्या सफलभन्दा धेरै छ। सबैको करिअरमा सबै चलचित्र सफल हुने त हैन नि। यो कुरालाई मैले सुरुवातदेखि नै दिमागमा राखेको थिएँ। सुरुको दिनहरूमा मेरा सबै चलचित्रहरू लगातार हिट भए, र त्यसपछि अचानक असफल हुन थाले। मेरो करिअरको ग्राफ नै अप-डाउन भइरहेको छ। त्यसैले त्यो कुरा सन्तुलित छ भन्ने महसुस हुन्छ। अहिले त्यस्तो खासै असर पर्दैन।
तर फिल्म नचल्दा 'वर्षाको फिल्म चलेन' भनेर गसिपहरू आउँछन्। त्यस्तो बेला चित्त दुख्दैन ?
सुरु-सुरुमा त्यस्तो लाग्थ्यो। अलि सेन्सेटिभ थिएँ। अहिलेचाहिँ यो बजारमा भिजिइसकिएको छ। के कुरा असर गर्छ, के गर्दैन भन्ने कुरा बुझिसकिएको छ। अहिले त खासै फरक पर्दैन।
कुनै फिल्म गरिसकेपछि बेकारमा गरिएछ भन्ने लागेको छ?
कुनै पनि प्रजेक्ट बेकारमा गरेछु भन्ने महसुस कहिल्यै गरेको छैन। कुनै न कुनै चलचित्रले मलाई केही न केही सिकाएको छ। धेरैजसो नयाँ टिमहरूसँग काम गर्दा धेरै कुरा सिक्ने मौका मिल्छ। अहिलेको अवस्थामा त यस्तो महसुस हुन्छ की निर्देशन बाहेक म कुनै पनि प्रोजेक्टको म्यानेजमेन्ट आफैँ गर्न सक्छु। म भित्र त्यो आत्मविश्वास आएको देख्छु।
पछिल्लो समय धेरै अभिनेत्रीहरू निर्मात्री बन्न थालेका छन्। तपाईंलाई निर्देशन गर्ने रहर चाहिँ छैन ?
रहर छ नि। तर रहरले निर्देशन गर्नु र सिकेर, तयार भएर निर्देशन गर्नुमा फरक छ। अहिले आफैं कलाकारितामा चित्त बुझ्दो गर्न पाइरहेको छैन। कलाकारितामै आफूले गर्न चाहेका फिल्महरू अझै गर्न पाएकी छैन। जति क्षमता मभित्र छ भनेर महसुस गर्छु, त्यो अहिले सम्म देखाउन सकेकी जस्तो लाग्दैन। त्यसैले एक क्षेत्रमा पूर्ण सन्तुष्टि नपाई अर्को क्षेत्रमा हात हाल्नु उपयुक्त लाग्दैन।
कहिले हो त निर्देशन गर्ने ?
कलाकारितामा सन्तुष्टि पाएपछि कहिले न कहिले त्यो मोड आउँछ होला, जहाँ म निर्देशक वा निर्माता बन्ने निर्णयमा पुग्छु। अहिले नै ठ्याक्कै त्यस्तै रहर भने छैन। तर भविष्यमा होला। मैले यही क्षेत्रमा लामो समय काम गर्छु भन्ने कुरा अहिले बल्ल क्लियर भएको छ। सुरुका दिनहरूमा खासै स्पष्ट थिएन। एक–दुई वटा फिल्म असफल भएपछि दिक्क लाग्थ्यो, अब के गर्ने होला भनेर सोचिन्थ्यो। नयाँ प्रोजेक्ट नआउला कि भन्ने डर हुन्थ्यो। तर अहिले ती कुराले असर गर्दैन। म अब पूर्ण रूपमा स्पष्ट छु कि म यहीँ क्षेत्रमा छु, यहीँ रहनेछु। त्यसैले भोलिका दिनहरूमा निर्देशन वा निर्माणमा जान सकिएला।
कहिलेकाहीँ स्क्रिप्ट एकथरी हुन्छ, तर फ्लोरमा पुग्दा अर्कै बन्छ भन्ने सुनिन्छ। तपाईंलाई पनि त्यस्तो परेको छ ?
त्यस्तो त धेरै हुन्छ। एउटा फिल्ममा ५०-६० जना संलग्न हुन्छन्। त्यहाँ हरेकको सोच मिसिन्छ। सुरुमा स्क्रिप्ट लेखकको सोच हुन्छ, त्यसपछि निर्देशक थपिन्छन्, त्यसपछि प्रोड्युसर अनि कलाकार। यति धेरै हात लागेपछि सुरुको स्क्रिप्ट अन्त्यसम्म पुग्दा बदलिन सक्छ। त्यसैले मलाई लाग्छ एउटा बलियो, बुझ्ने टिम भयो भने मात्रै राम्रो प्रोजेक्ट निस्किन्छ। टिम वर्कमै फोकस गर्नुपर्छ।
साह्रै झुर भएर स्क्रिप्ट नै फेर्न आग्रह गरेको अनुभव छ ?
छैन, छैन। अहिलेसम्म म त्यो लेभलसम्म पुगेकी छैन। स्क्रिप्ट जसरी आएको हुन्छ, त्यही नै काम गर्छु। कहिले काहीँ 'यो कसरी अझ राम्रो गर्न सकिएला ?' भन्ने सल्लाह त गर्छु। तर स्क्रिप्ट नै फेरौं भनेको छैन।
केही समयअघि तपाईंले फेसबुकमा चित्त दुखेको स्टाटस लेख्नुभएको थियो। त्यो समय तपाईंको फिल्म हलमा लाग्यो तर उत्रिहाल्यो। दर्शकलाई थाहा नै भएन। त्यतिबेला कुन कुरामा असन्तुष्टि थियो ?
तपाईंले झिल्को फिल्मको कुरा गर्नुभएको होला, मलाई थाहा छ। त्यो स्टाटस मैले आफ्नो असन्तुष्टि पोख्न लेखेकी थिएँ। किनभने झिल्कोको कन्टेन्ट एकदमै राम्रो थियो, सबैले रिलेट गर्न सक्ने खालको। डिजिटाइजेसनबारे थियो। जुन अहिले सबैको घरमा प्रयोग हुन्छ। त्यसको प्रभावबारे दर्शकलाई बुझाउन सकिन्थ्यो।
यदि त्यो कन्टेन्टलाई अलिक कमर्सियल ढंगले देखाउन पाइएको भए, राम्रो हुनेथियो भन्ने मेरो बुझाइ हो। तर त्यो मैले मात्रै चाहेर त हुन्न नि, अरूको पनि बाध्यता थियो होला। हतारमा रिलिज भयो। तर रिलिज भयो भनेर सकियो भन्ने होइन। त्यसपछि पनि धेरै काम हुन्छ। त्यो काममा टिम अलिक एक्टिभ नभएको जस्तो लाग्यो। कन्टेन्ट नै खेर गयो भन्नेमा दुःख लागेको हो। त्यो विषय स्कुल स्कुलमा पढाउने खालको थियो।
तपाईं सामाजिक सञ्जालमा बिभिन्न विषयमा आफ्ना धारणा राखिरहनुहुन्छ, हरेक विषयमा बोल्नैपर्छ भन्ने लाग्छ ?
पहिले त म धेरै रिएक्टिभ थिएँ। आफ्ना विचार राखिरहन्थें। तर पछि महसुस भयो- यस्ता कुराले कति फाइदा गर्छ त ? एउटा विचार राखिसकेपछि विवाद आउँछ, सामाजिक सञ्जालमा। त्यसपछि माइन्डलाई फोकस गरेर काम गर्ने कि त्यो डिस्टर्ब लिएर काम गर्ने ? मैले हल्का बनाएको छु अब दिमागलाई। हदैसम्म चित्त नबुझे, अब त यो बोल्नैपर्छ जस्तो लाग्यो भने मात्रै बोल्छु। नत्र अहिले धेरै कुरामा रियाक्ट गर्न मन लाग्दैन।
रियाक्ट गर्न मन नलागेको नकरात्मक कमेन्टका कारण हो कि ?
सामाजिक सञ्जालमा त जानाजानी नै ह्यारेसमेन्टदेखि लिएर सबै कुरा भइराखेका हुन्छन्। त्यस्तो मेन्टालिटीसँग डिल गरेर किन आफ्नो समय खेर फाल्नु जस्तो लाग्छ। अहिले खासै फरक पर्दैन। पहिले पहिला भने धेरै असर पर्थ्यो, धेरै सेन्सिटिभ थिएँ। तर अनुभवले सिकायो। अब त त्यसले फरक पार्दैन।
तपाईंलाई कहिल्यै लाग्दैन महिलाले पनि लिड रोल गर्नुपर्छ भनेर ?
छ नि, हुँदैछ। मैले अब गर्न लागेको प्रोजेक्टहरूमा यस्ता भूमिकाहरू छन्। अब फाइनल्ली म ‘राम्रो कलाकार बन्नुपर्छ’ भन्ने मोडमा पुगेकी छु।
१२ वर्षपछि?
(हाँस्दै) आफुले गरिरहेको कामभन्दा आफुलाई कसरी फरक ढंगले राम्रो कलाकारको रूपमा चिनाउन सकिन्छ भन्नेमा अहिले फोकस छु। त्यसैले छान्दै गरेका, कुरा भइरहेका प्रोजेक्टहरूमा तपाईंले भनेजस्ता क्यारेक्टर पक्कै छन्।
तपाईंले छान्दै छु भन्नुभयो, कतिवटा स्क्रिप्ट लाइनमा छन् ?
अब यस्तो लाग्छ। यो बजार कस्तो छ भने, कन्टेन्टमै फोकस छ। कन्टेन्टले नै फिल्म चल्छ भन्ने विश्वास छ। स्टारको हल्लाभन्दा पनि दर्शक हलमा गएर कन्टेन्ट खोज्छन्। अहिले आइरहेका प्रोजेक्टहरू कन्टेन्टमै फरक छन्। महिलाकेन्द्रित यस्ता प्रोजेक्टहरूको कुरा आइरहेका छन् यसमा गरौँ, उसमा गरौं भनेर। म सबै पढिरहेकी छु, हेरिरहेकी छु। कुन काम गर्दा म अझ राम्रो गर्न सक्छु भन्ने हेर्दैछु। टन्नै स्क्रिप्टहरू छन्, सिरानीमा राखेको छु।
अहिले चर्चाको विषय छ- हिरोको समय नमिल्दा सुटिङको समय सर्छ, तर हिरोइनको नमिल्दा हिरोइन नै फेरिन्छ। यो कुरा सत्य हो यो ?
सही हो यो। किनभने बजारमा अहिले हिरोभन्दा हिरोइनको संख्या बढी छ। अनि यस्तो पनि होला- फिमेल एक्टरहरू ट्यालेन्टेड हुनुहुन्छ, जसले जे रोल पनि निभाइदिन सक्नुहुन्छ। कसैलाई हटाएर अर्कालाई राख्दा पनि फरक नपर्ने एक्टरहरू हुनुहुन्छ। सायद त्यसैले पनि होला।
तपाईंको जीवनमा धेरै उतारचढाव आए। बिहेपछि एक महिनामै डिभोर्स भयो। पछुतो लाग्छ ?
छैन, लागेको छैन, किन लाग्नु त ? जिन्दगी भनेकै उतारचढाव हो, त्यसैमा त मजा हो। जीवन सधैंभरि खुशी मात्र भयो भने पनि बोरिङ लाग्छ, अनि सधैंभरि दुखी भएर पनि हुँदैनर हाम्रो जीवन त संघर्षकै कथा हो। त्यो त जिन्दगीको एउटा पाटो मात्र हो। यस्तो खालको कुरा समयमै झस्काउने किसिमको हुन्छ। तपाईं कुनै बाटोमा हिँडिरहनु भएको हुन्छ, अनि त्यही बेला कुनै एउटा घटनाले तपाईंलाई झस्काइदिन्छ। सबैको जीवनमा यस्तो अनुभव हुन्छ। हामी सेलिब्रेटी भएका कारण हाम्रो व्यक्तिगत कुरा पनि सार्वजनिक चर्चाको विषय बन्छ। तर हरेक घरमा, हरेक व्यक्तिको आफ्नै संघर्षको कथा हुन्छ। मैले त्यो घटनालाई पछुतो भन्दा पनि एउटा ‘आई ओपनर’को रूपमा लिएको छु। अहिले आएर कति स्पष्ट भएको छु म। मलाई त त्यो कुरामा पछुतो छैन। बरु त्यो घटनाले मलाई ठूलो पाठ सिकायो। त्यो पाठले आज म जुन सोचमा छु, त्यहाँ ल्यायो।
वर्षासँगको पूरा अन्तर्वार्ता उकेरा टीभी यूट्यूबमा हेर्न सक्नुहुन्छ।
साउन ३, २०८२ शनिबार १७:०२:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।