हल्दिबारीका चिया बगानमा लुपर किराको प्रकोप, करोडौंको क्षति

झापा : झापाको हल्दिबारी गाउँपालिकाभित्र फैलिएका चिया बगानहरूमा ‘लुपर’ नामक कीराको प्रकोप तीव्र बनेको छ। हरियो पात उत्पादनको मुख्य समयमा फैलिएको यो प्रकोपले किसानहरूलाई ठूलो आर्थिक क्षति बेहोर्न बाध्य बनाएको छ।
गाउँपालिकाको कृषि शाखाका प्रमुख छविलाल गुरुङका अनुसार हल्दिबारीका पाँच वटा वडामा फैलिएका करिब १५०० बिघा चिया बगानमा यो कीराले महामारीकै रुप लिएको छ। ‘किसानहरुले जानकारी दिएलगत्तै हामीले अनुगमन गरेका थियौँ,’ प्रमुख गुरुङले भने, ‘धेरै ठाउँमा बोटमा व्यापक क्षति पुगेको पायौं।’
चिया किसान गोपाल गिरीका अनुसार लुपरको आक्रमणले ठूला-साना सबै चिया बगान प्रभावित छन्। ‘रेड स्पाइडरको समस्या पहिले पनि थियो, तर यसपटक लुपरले बगान सुकाएर पहेँलो बनाइदिएको छ,’ उनले भने।
लुपर कीरा- जसलाई ‘लुपर क्याटरपिलर’ वा ‘टी लुपर’ पनि भनिन्छ। एक प्रकारको झुस्याहा कीरा हो जसको माउ पुतली चियाका पातमा अण्डा पार्छ। ती अण्डाबाट निस्किएका लार्भाहरूले नयाँ पलाएका पात र मुना खाएर बोटलाई झिङ्ग्रामा परिणत गर्छन्।
किसान नवीन मैनालीले वैशाखदेखि सुरु भएको कीराको प्रकोप साउन लाग्दासम्म पनि नियन्त्रणमा नआएको बताए। "पात नै सक्किएपछि चिया बोट सुकेजस्तै भएको छ," उनले चिन्ता व्यक्त गरे।
प्रमुख गुरुङका अनुसार किसानहरूले विषादी प्रयोगका लागि विशेषज्ञ परामर्श नलिई जथाभावी छर्ने गरेकोले कीराले ती विषादीहरू पचाउन थालेको हुनसक्ने देखिन्छ। प्रकोप नियन्त्रणका लागि पालिकाले किसान, सहकारी र उद्योगीहरूसँग अन्तरक्रिया गर्ने तयारी गरिरहेको उनले बताए।
पालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले समस्या गम्भीर भएको स्वीकार गर्दै कीरा नियन्त्रणका लागि पालिकाले सक्दो सहयोग गर्ने बताए। उनले किसानहरूलाई स्प्रे ट्याङ्की उपलब्ध गराउने घोषणा समेत गरेका छन्।
वैशाखदेखि साउनसम्मको समयलाई हरियो पत्ती उत्पादनको मुख्य सिजन मानिन्छ। तर यसपटक लुपरको कारण किसानहरूले चिया पात टिप्नै नपाएको गुनासो गरेका छन्। ‘करोडौँ रुपैयाँ बराबरको क्षति भएको छ,’ किसानहरूको भनाइ छ।
हल्दिबारीमा डाँफे टी प्रोसेसिङ, हल्दिबारी चिया बगानलगायत सात वटा ठूला बगान छन् भने पाँच सयभन्दा बढी निजी परिवारले चिया खेती गर्दै आएका छन्। तीमध्ये धेरै किसानहरूले सहकारीमार्फत दुई वटा चिया प्रशोधन केन्द्र आफैं सञ्चालन गरिरहेका छन्।
साउन ३, २०८२ शनिबार १४:४२:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।