लाइभ रिपोर्टिङ गर्दागर्दै बाढीले पत्रकारलाई बगायो, भिडियो भाइरल

एजेन्सी : पत्रकारहरू कहिलेकाहीँ समाचार मात्र बनाउँदैनन्, आफैँ समाचार बन्छन्। पाकिस्तानको रावलपिंडीबाट यस्तै एउटा भिडियो सार्वजनिक भएको छ, जसमा एक रिपोर्टर बाढीको रिपोर्टिङ गर्दागर्दै पानीको तेज बहावमा बगेका छन्।
चहान बाँध नजिकै बाढीको अवस्थाबारे प्रत्यक्ष रिपोर्टिङ गरिरहेका बेला यो घटना भएको हो। यो भिडियो हेरेपछि कतिपयले हाँसो रोक्न सकेका छैनन् भने कतिपयले उनको साहसको प्रशंसा गरेका छन्।
भाइरल भिडियोमा एक रिपोर्टर कम्मरसम्मको पानीमा उभिएर माइक समाउँदै रिपोर्टिङ गरिरहेको स्पष्ट देखिन्छ। उनी आफ्नो काममा यति मग्न थिए कि पानीको बहाव अचानक तेज भएको पत्तै पाएनन्। केही सेकेन्डमै उनको टाउको र हात पानीमा डुब्छ र हेर्दाहेर्दै उनी पानीको भेलमा बग्छन्। यो पूरै दृश्य क्यामेरामा कैद भएको छ।
यो भिडियो सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’मा सेयर हुनेबित्तिकै भाइरल भयो। लाखौँ मानिसले यो भिडियो हेरेर रिपोर्टरको हिम्मतको प्रशंसा गरेका छन्।
एक प्रयोगकर्ताले लेखेका छन्, ‘सुरुमा त यो भिडियो एआईले बनाएको जस्तो लाग्यो, तर पछि याद आयो, यो त पाकिस्तान हो।’
अर्का एक प्रयोगकर्ताले लेखे, ‘यिनी हुन् असली पत्रकार, जो समाचार मात्र देखाउँदैनन्, आफैँ कथा बन्छन्।’
बाढीले बगायो पत्रकार, तर वास्तविकता गम्भीर
भाइरल भिडियो रमाइलो देखिए पनि यस पछाडिको वास्तविकता निकै गम्भीर छ। पाकिस्तान अहिले भारी वर्षा र बाढीको चपेटामा छ।
विशेषगरी पञ्जाब प्रान्तको अवस्था अत्यन्तै नाजुक बनेको छ। जुलाई १ देखि १७ सम्म त्यहाँ सामान्यभन्दा निकै बढी वर्षा भएको छ, जसका कारण अहिलेसम्म ५४ जनाको मृत्यु भइसकेको छ।
पाकिस्तानको मौसम विभागका अनुसार, यो वर्ष जुलाई महिनामा देशभर औसतभन्दा ८२ प्रतिशत बढी वर्षा रेकर्ड गरिएको छ। यसले गर्दा कयौँ गाउँ डुबानमा परेका छन् भने सडकको नामोनिसान मेटिएको छ।
भारी वर्षाका कारण उद्धार तथा राहत कार्यमा पनि कठिनाइ भइरहेको छ। प्रशासनले मानिसहरूलाई सुरक्षित स्थानमा पुऱ्याउने हरसम्भव प्रयास गरिरहेको छ, तर बाढीका कारण स्थिति नियन्त्रण बाहिर छ।
साउन ३, २०८२ शनिबार १४:०६:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।