एसईईमा कर्णाली : सुगमका विद्यालयकै नतिजा शून्य, दुर्गममा सुधार

सुर्खेत : कर्णाली प्रदेशमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा सुधार देखिए पनि राष्ट्रिय औसतभन्दा ५ प्रतिशतले अझै पछाडि रह्यो।
परीक्षामा सहभागी कर्णालीका ३१ हजार ८३९ परीक्षार्थीमध्ये १८ हजार ७८ जना (५६.७८ प्रतिशत) मात्र उत्तीर्ण भए। यो अघिल्लो वर्षको तुलनामा करिब १४ प्रतिशतले सुधार भए पनि राष्ट्रिय उत्तीर्ण प्रतिशत ६१.८१ सँग तुलना गर्दा अझै ५ प्रतिशतले कम हो।
यस पटक ‘ए प्लस’ जीपीए ल्याउने विद्यार्थी एक हजार ५१ जना रहे। यस्तै, ‘ए’ ल्याउने ४ हजार ६४४, ‘बी प्लस’ ल्याउने ७ हजार ७८५, ‘बी’ ल्याउने ४ हजार २६०, ‘सी’ ल्याउने ३०२ जना रहेका छन् भने १३ हजार ७३१ जना ‘नन ग्रेडेड’ मा परे। १२ हजार ६३१ जनाले ग्रेड सुधारको लागि पुनः परीक्षा दिनुपर्ने देखियो।
कर्णालीका ७४७ विद्यालयमध्ये २६ विद्यालयको नतिजा शून्य आएको छ । तीमध्ये दैलेखका १२, सुर्खेतका १०, डोल्पा र कालीकोटका दुई-दुई विद्यालयको नतिजा शून्य रहेको शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ।
नतिजा शून्य भएका अधिकांश विद्यालयहरू सुगम क्षेत्रका छन्। दुर्गम जिल्लाहरूमा भने राम्रो नतिजा आएको छ। प्रदेशभर सबैभन्दा राम्रो नतिजा जाजरकोट जिल्लामा देखिएको छ, जहाँ ८२.११ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
त्यसपछि जुम्ला (७५.८५), रुकुम पश्चिम (७४.९४), मुगु (७०.०९) र सल्यान (६५.८९) प्रतिशत छन् । सुगम रहेका सुर्खेत (४५.१३) र दैलेख (२२.८९) भने कमजोर अवस्थामा छन्।
विषयगत शिक्षकको अभाव
सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार कर्णालीका ६ सय ५ माध्यमिक विद्यालयमा १७ सय ४९ शिक्षकको अभाव छ। उच्च माध्यमिक तहमा ४ सय ५७ शिक्षक अपुग छन्। कूल दरबन्दी अनुसार कर्णालीमा पाँच हजार ५ सय ४९ विषयगत शिक्षक अझै रिक्त छन्।
सबैभन्दा बढी अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षकमा अभाव देखिएको छ। शिक्षकको अभावका कारण स्थानीय तह, निजी स्रोत र संघीय/प्रदेश सरकारको सहयोगमा अस्थायी शिक्षक राखेर शिक्षण गरिँदै आएको छ।
स्थानीय तहले विद्यालयको अवस्थाबारे छलफल गरी सुधार योजना ल्याउनुपर्ने शिक्षा विकास निर्देशनालयकी निर्देशक दीपा हमाल बताउँछिन्।
‘सम्बन्धित स्थानीय तहले आफ्नो पालिकाभित्रका विद्यालयको भौतिक अवस्था, गुणस्तरीय शिक्षाका लागि चालिने कदमका बारे छलफल गरी कार्य योजनाका साथ अगाडि बढ्नुपर्ने देखिन्छ,’ उनले भनिन्, ‘कमजोर विद्यालय तथा विद्यार्थीमाथि आवश्यक परे विशेष लगानी पनि गर्नुपर्छ।’
विद्यालय, शिक्षक, अभिभावक र स्थानीय पालिकाले सुधारको योजना बनाएर अगाडि बढ्न सके आगामी वर्षमा नतिजामा सुधार आउने निर्देशक हमाालको भनाइ छ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ कर्णाली प्रदेशका अध्यक्ष गोविन्द कोइरालाले शिक्षक र विद्यार्थीलाई लक्षित योजना बनाएर शिक्षण विधिमा सुधार गर्न सके परिणाम अझै राम्रो हुने बताए।
‘शिक्षक र विद्यार्थीलाई ‘टार्गेट कार्ड’ दिने, विद्यार्थीलाई उत्तर लेख्ने शैली सिकाउने, परीक्षा प्रणाली मर्यादित बनाउनुपर्छ,’ उनले भने, ‘कुनै दिन खेर जान नदिई शिक्षण गरे नतिजा अझै सुध्रने छ।’
शिक्षाको गुणस्तर वृद्धिका लागि तत्काल शिक्षक व्यवस्थापन र शिक्षण पद्धतिमा सुधार आवश्यक रहेको उनको भनाइ छ।
साउन ३, २०८२ शनिबार १३:५३:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।