डा. घनश्यामको उपचार अनुभव : सिन्धुलीमा १५० माओवादी लडाकुलाई झाडापखालाले थला पारेपछि...

डा. घनश्यामको उपचार अनुभव : सिन्धुलीमा १५० माओवादी लडाकुलाई झाडापखालाले थला पारेपछि...

डा. घनश्याम थापा जनरल सर्जन हुन्। राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत उनले साना-ठूला गरी १५ हजारभन्दा बढी व्यक्तिको शल्यक्रिया गरेर ज्यान बचाएका छन्। उनै डा. घनश्यामले आफ्नो चिकित्सकीय पेशाका क्रममा देखेभोगेका अनुभव उकेरासँग साटेका छन्।

छोराछोरीले आकस्मिक कक्षमा छोडेर भागेपछि...
चिकित्सकीय पेशाका कतिपय घटना सम्झँदा डा. घनश्यामको मनै कटक्क खान्छ। १३ वर्षअघिको यस्तै एउटा मर्मस्पर्शी घटना उनले सुनाए। जतिबेला उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) मा एमएस अध्ययन गर्दै थिए।

एक दिन करिब ६० वर्षकी एक आमैलाई छोराछोरीसहित परिवारका सदस्यले वीर अस्पतालको आकस्मिक कक्षमा पुऱ्याए। ती आमै काठमाडौंकै काँठ क्षेत्र, सम्भवतः सुन्दरीजलको माथिल्लो भेगतिरकी थिइन् भन्ने डा. घनश्यामलाई याद छ।

चिकित्सकको टोलीले आकस्मिक कक्षमा छटपटाइरहेकी ती आमैको स्वास्थ्य परीक्षण गर्न थाल्यो। तर, केही बेरमै उनका आफन्तलाई खोज्दा कोही भेटिएनन्। सबै जना उनलाई छोडेर सम्पर्कविहीन भइसकेका थिए, जसले गर्दा चिकित्सकको टोलीलाई समस्या पर्यो।

स्वास्थ्य परीक्षण गर्दा आमैको आन्द्रामा प्वाल परेको पत्ता लाग्यो। तत्काल शल्यक्रिया नगरे उनको मृत्यु निश्चित थियो। आफन्तले नै त्यागे पनि चिकित्सकको टोलीले उनलाई मृत्युको मुखबाट बचाउने अठोट गर्यो।

अस्पतालको टोलीले नै उनको उपचारका लागि सबै व्यवस्थापन मिलायो। प्रहरीसँग अनुमति लिएर आमैको शल्यक्रिया सुरू गरियो। चिकित्सकहरूले उनको प्वाल परेको आन्द्रा टाले।

शल्यक्रिया सफल भयो, तर आमैलाई केही दिन भेन्टिलेटरमा राख्नुपर्यो। बिस्तारै उनको स्वास्थ्यमा सुधार आएपछि वार्डमा सारियो। उनको औषधि, उपचार र शल्यक्रियाका लागि अस्पतालका चिकित्सक, कर्मचारी र औषधि कम्पनीहरूसँग सहयोग मागिएको डा. घनश्याम सम्झन्छन्।

‘कतिपय बिरामीका आफन्तको वीर अस्पतालमा लगेर छोडिदिएपछि ‘अस्पतालले उपचार गरिहाल्छ नि’ भन्ने मनसाय देखिन्छ,’ डा. घनश्यामले अनुभव सुनाए, ‘सायद ती आमैका आफन्तले पनि त्यस्तै सोचेर निर्दयी बनेका थिए।’

खुसीको कुरा, ती ६० वर्षे आमै पूर्ण रूपमा निको भइन्। करिब दश दिनपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरियो।

अचम्म त के भने, डिस्चार्ज गर्ने दिन उनलाई लिन तिनै छोराछोरी अस्पताल पुगेछन् र घर लिएर गएछन्। आफ्नै सन्तानले बेवारिसे बनाएको र निको भएपछि लिन आएको त्यो घटना सम्झँदा डा. घनश्यामको मन आज पनि कटक्क खान्छ।

आन्द्रामा प्वाल परेका ती बेवारिसे पुरुष डिस्चार्जपछि कता गए होलान्!
चिकित्सकीय पेशाकै अर्को एउटा घटना पनि डा. घनश्याम कहिल्यै भुल्दैनन्। घटना करिब १४ वर्षअघिको हो, जतिबेला उनी वीर अस्पतालमा ड्युटीमा थिए।

दशैंको समय थियो। कसैले करिब ५५ वर्षका एक पुरुषलाई बेवारिसे अवस्थामा वीर अस्पतालको आकस्मिक कक्षमा छोडेर गएछन्। उनको पनि ग्यास्ट्रिकको समस्याले गर्दा आन्द्रामा प्वाल परेको थियो र पेटभरि सङ्क्रमण फैलिसकेको थियो। तुरुन्त शल्यक्रिया नगरे उनको ज्यान जाने निश्चित थियो।

ती बेवारिसे पुरुषको कोही आफन्त नभएकाले चिकित्सक तथा कर्मचारीले नै चन्दा उठाएर उपचारको व्यवस्था मिलाए। प्रहरीबाट अनुमति लिएर उनको शल्यक्रिया गरियो। शल्यक्रिया सफल भयो र उनलाई वार्डमा सारियो।

सबैको सहयोगमा उपचार पाएका ती बिरामीलाई दशैंको टीकाकै दिन अस्पतालबाट डिस्चार्ज गरिएको डा. घनश्याम सम्झन्छन्। तर, त्यसपछि ती पुरुष कहाँ गए, कसरी बसे, त्यो उनलाई आजसम्म थाहा छैन।

यो घटना सम्झँदा उनको मनमा एउटा प्रश्न सधैं खड्किरहन्छ, ‘दशैंको टीकाको दिन अस्पतालबाट डिस्चार्ज भएका ती बेवारिसे पुरुष कता गए होलान्! कहाँ बसे होलान्!’

सिन्धुलीमा जन्म, काठमाडौंबाट एसएलसी
सिन्धुलीको झाँगाझोलीमा २०३९ सालमा जन्मिएका घनश्यामका बुवा सरकारी विद्यालयका शिक्षक थिए। बुवाको जागिर काठमाडौंमा भएपछि उनी पनि सानैमा काठमाडौं आए।

उनले काठमाडौंको कालिकास्थानस्थित बाल उद्यान आवासीय माविबाट आठ कक्षासम्म र सिद्धार्थ वनस्थली स्कुलबाट ८० प्रतिशतभन्दा बढी अङ्क ल्याएर एसएलसी उत्तीर्ण गरे। त्यसपछि ललितपुरको कुमारीपाटीस्थित क्याम्पियन एकेडेमीबाट प्लस टु सके।

अध्ययनमा अब्बल, डाक्टर बन्ने रहर
अध्ययनमा अब्बल घनश्यामको पहिलो रोजाइ डाक्टर र दोस्रो इन्जिनियर बन्ने थियो। उनले दुवैको प्रवेश परीक्षा दिए। उनको सपना साकार भयो र सरकारी छात्रवृत्तिमै एमबीबीएस पढ्न छनोट भए।

उनी सन् २००१ मा काठमाडौं विश्वविद्यालय अन्तर्गत चितवनको कलेज अफ मेडिकल साइन्सेसमा भर्ना भए र २००६ मा एमबीबीएस पूरा गरे। सरकारी छात्रवृत्तिमा पढेकाले उनले दुई वर्ष दुर्गममा सेवा गर्नुपर्ने थियो। त्यसैले उनी आफ्नो गृह जिल्ला सिन्धुली नै पुगे।

सिन्धुली जिल्ला अस्पतालमा दुई वर्षे करार सकेपछि पनि उनले थप एक वर्ष मेडिकल अधिकृतका रूपमा काम गरे। सिमित स्रोतसाधनका बीच बिरामीको उपचारमा खटिँदाका ती दिन निकै सङ्घर्षपूर्ण रहेको उनी सम्झन्छन्।

‘बिरामीको उपचारमा यति व्यस्त भइयो कि कयौं रात नसुतेको र कयौं पटक खानपिनसमेत भुलेको छु’, उनी भन्छन्।

त्यहाँ जटिल अवस्थाका बिरामी आउँदा ठूलो दुविधा हुन्थ्यो। अस्पतालमा स्रोत, साधन र जनशक्तिको अभाव थियो। त्यहीँ उपचार गर्दा जोखिम, अन्यत्र रिफर गर्दा बाटैमा ज्यान जाने खतरा।

यस्तो अवस्थामा निकै संवेदनशील भएर निर्णय लिनुपरेको अनुभव डा. घनश्याम सुनाउँछन्। रेबिज भएर ढिलो अस्पताल पुगेका एक युवालाई बचाउन नसकेको घटनाले उनलाई आज पनि पोल्छ।

१५० माओवादी लडाकुलाई झाडापखालाले थला पारेपछि...
सिन्धुलीमा काम गर्दाको एउटा घटना डा. घनश्याम कहिल्यै भुल्दैनन्। घटना २०६३ तिरको हो। वर्षाको मौसम थियो। सिन्धुलीको तत्कालीन माओवादी सेनाको शिविरमा झाडापखाला फैलिएछ।

शिविरमा स्वास्थ्यकर्मी त थिए। तर, थप चिकित्सकको टोली नै आवश्यक परेछ। त्यसैले अस्पतालबाट डा. घनश्याम सहितको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली माओवादी स्वास्थ्य शिविरमा पुग्यो।

त्यहाँ पुगेर चिकित्सकको टोलीले शिविरमा रहेका माओवादी लडाकुहरुको स्वास्थ्य परीक्षण गर्यो। अनि आवश्यक औषधि उपचार गरियो। झाडापखाला रोक्ने औषधि दिइयो। जीवनजल दिइयो। त्यहाँ यादभएसम्म एक सय ५० भन्दा बढी झाडापखालाले थला परेका माओवादी लडाकुको उपचार गरेको डा. घनश्यामले सुनाए।

सुरूमा त माओवादी  शिविरमा जाने विषयमा उनी अलि सशंकित भएका थिए। तर, त्यहाँ उनलाई खासै अनौठो लागेन।

दुषित पानी सेवनका कारण झाडापखाला लागेको थाहा भएको डा. घनश्यामले सुनाए। झाडापखाला लाग्नेहरूको ल्याब परीक्षण गर्दा इकोलाई देखिएको थियो।

माओवादी शिविरमा एक दिन उपचार गरेर भोलिपल्ट अस्पताल फर्किएको उनले सुनाए। त्यहाँ एक हप्तामा झाडापखालाको समस्या नियन्त्रणमा आएको उनी सम्झन्छन्। 

सरकारी जागिर त्यागेर एमएस अध्ययन
सिन्धुलीको बसाइपछि डा. घनश्याम २०६६ मा लोकसेवामार्फत आठौं तहको स्थायी मेडिकल अधिकृत भए। उनको पहिलो पोस्टिङ काभ्रेको सुनथान प्राथमिक स्वास्थ्य केन्द्रमा भयो। तर, उनको मनमा थप अध्ययन गर्ने हुटहुटी थियो।

अध्ययन बिदा पाउन दुई वर्ष कुर्नुपर्ने नियम भए पनि उनले जे पर्ला भनेर स्नातकोत्तर तहको प्रवेश परीक्षा दिए र वीर अस्पतालमा ‘जनरल सर्जरी’ विषयमा छनोट पनि भए। त्यसपछि उनले दुविधाबीच कठोर निर्णय लिए, ‘सरकारी जागिर त फेरि पनि खान सकिन्छ, अध्ययन ढिलो गर्नुहुँदैन।’

उनले आठौं तहको स्थायी सरकारी जागिर त्यागे र २०६७ मा एमएस अध्ययन गर्न थाले। २०७० मा उनले एमएस पूरा गरे।

भूकम्पको त्यो कहालीलाग्दो क्षण
एमएस सकेपछि डा. घनश्यामले वीर अस्पतालमै करारमा जनरल सर्जनका रूपमा काम गर्न थाले। २०७२ वैशाख १२ गते भूकम्प जाँदा उनी वीर अस्पतालकै ड्युटीमा थिए।

भूकम्पपछि अस्पतालमा भागदौड र कोलाहल मच्चियो। वीरको पुरानो भवनमा शल्यक्रिया गर्नु जोखिमपूर्ण थियो। बेलुकासम्ममा अस्पताल बाहिर घाइते र मृतकको शवले खुट्टा टेक्ने ठाउँ थिएन। त्यो बेलासम्म राष्ट्रिय ट्रमा सेन्टर पूर्ण सञ्चालनमा आइसकेको थिएन। तर, त्यही दिन बेलुका ५ बजेबाट ट्रमा सेन्टरको भुइँ तलाबाटै घाइतेको उपचार र शल्यक्रिया सुरु गरियो।

उनलाई याद भएसम्म, ट्रमा सेन्टरमा गरिएको पहिलो शल्यक्रिया भूकम्पमा परी पेट किचिएका करिब १२ वर्षीय बालकको थियो। उनको पेटभित्र रगत जमेको थियो भने आन्द्राको झिल्ली र कलेजो च्यातिएको थियो। करिब दुई घण्टाको सफल शल्यक्रियापछि ती बालकको ज्यान बच्यो।

आकस्मिक शल्यक्रिया गर्नुपर्ने ती महिला भागेपछि...
भूकम्प जानुअघि नै पेटको आन्द्रामा प्वाल परेर वीर अस्पताल पुगेकी करिब ५० वर्षकी एक महिला शल्यक्रिया गर्नुपर्ने डरले अस्पतालबाट भागेकी थिइन्। तर, भूकम्प गएकै रात करिब १० बजे उनी फेरि ट्रमा सेन्टरमा आइपुगिन्।

उनको स्वास्थ्यमा जोखिम भएका ट्रमा सेन्टरमा भर्ना गरेर भोलिपल्ट बिहान करिब ४ बजेबाट तीन घण्टा लगाएर शल्यक्रिया गरियो। पेटको आन्द्रा जोडेपछि भित्र भएको फोहोर सफा गरियो र ज्यान बचाइयो।

भूकम्पकै दिनको अर्को प्रसङ्गले भने डा. घनश्यामलाई खिन्न बनाउँछ। भूकम्पको दिन अस्पतालमा मिडियाहरू समाचार संकलनमा लागि पुगेका थिए।

‘राती १० बजेसम्म मिडिया हुँदा अस्पतालका पदाधिकारी र निर्देशकहरूको बाक्लो उपस्थिति थियो, तर मिडिया गएपछि कोही देखिएनन्’, उनी सम्झन्छन्।

त्यो रात सीमित चिकित्सक र स्वास्थ्यकर्मीले मात्रै पराकम्पनले हल्लाइरहँदा पनि त्रासका बीच घाइतेहरूको उपचार र शल्यक्रिया गरेका थिए। करिब चार घण्टा मात्रै सुतेर उनले लगातार ४८ घण्टा घाइतेको उपचारमा खटिएको अनुभव सुनाए।

एमएस सकेपछि पुनः सरकारी जागिरमै प्रवेश
२०७२ को भूकम्पपछि डा. घनश्याम पुनः लोकसेवामार्फत आठौं तहको मेडिकल अधिकृतका रूपमा स्थायी सरकारी जागिरमा प्रवेश गरे। जनरल सर्जन भएकाले उनलाई स्वास्थ्य मन्त्रालयले कञ्चनपुरको तत्कालीन महाकाली अञ्चल अस्पतालमा पठायो। २७ जनाको दरबन्दी रहेको त्यहाँ पाँच जना मात्र चिकित्सक थिए।

यसका अलावा त्यहाँ एनेस्थेसियोलोजिस्ट नहुँदा शल्यक्रिया नै रोकिएको थियो। उनकै पहलमा एनेस्थेटिक एसिस्टेन्टको व्यवस्था गरेर शल्यक्रिया सेवा पुनः सुरू गरियो। शल्यक्रिया सुरू भएपछि भारत जाने धेरै बिरामीहरू महाकाली अस्पतालमा उपचारका लागि पुगेको उनको भनाइ छ।

महाकालीमा करिब सात महिना काम गरेपछि उनी खुला प्रतिस्पर्धाबाट नवौं तहको (कन्सल्टेन्ट सर्जन) विशेषज्ञ चिकित्सकका रूपमा बढुवा भए। बढुवापछि २०७३ मा उनी राष्ट्रिय ट्रमा सेन्टरमा सरुवा भए। हाल उनी ट्रमा सेन्टरको सर्जरी विभागको प्रमुखको भूमिकामा छन्।

तर, वीर अस्पताल र ट्रमा सेन्टरको जनरल सर्जरी विभागलाई एकीकृत गरिकाले उनी लगायत यस विभागका चिकित्सकले दुवैतर्फ काम गर्नुपर्ने हुन्छ।

डा. घनश्याम बिरामीको उपचार तथा शल्यक्रियामा मात्र व्यस्त छैनन्, उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका सह-प्राध्यापकका रूपमा भावी चिकित्सकहरूलाई ज्ञान र सीप बाँड्ने काममा समेत तल्लीन छन्। साथै, उनका चिकित्सा विज्ञानसम्बन्धी अनुसन्धानात्मक लेखहरू विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन्।

साउन ३, २०८२ शनिबार १३:३०:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।