एसिया कप २०२५ अनिश्चित, ढाकामा राखिएको एसीसी बैठक भारतले बहिष्कार गर्ने

एसिया कप २०२५ अनिश्चित, ढाकामा राखिएको एसीसी बैठक भारतले बहिष्कार गर्ने

एजेन्सी : एसिया कप २०२५ को आयोजना अनिश्चित बनेको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले जुलाई २४ मा बंगलादेशको ढाकामा हुने एसियाली क्रिकेट काउन्सिल (एसीसी) को बैठक बहिष्कार गर्ने निर्णय गरेपछि प्रतियोगिता संकटमा परेको हो।

बंगलादेशसँग भारतको चलिरहेको राजनीतिक र कूटनीतिक तनावका बीच यो निर्णय आएको हो, जसले प्रतियोगिताको भविष्यमाथि गम्भीर प्रश्न खडा गरेको छ।

आगामी एसिया कप भारतले आयोजना गर्ने तालिका छ। प्रतियोगिता सेप्टेम्बर ५ देखि सुरु भई सेप्टेम्बर २१ मा फाइनल हुने बताइएको छ। तर, भारत र पाकिस्तानबीचको बढ्दो तनाव र पछिल्लो घटनाक्रमले गर्दा यो बहुराष्ट्रिय प्रतियोगिताको भविष्य अनिश्चित बनेको छ।

बीसीसीआईले हालै भारतको बंगलादेश भ्रमण स्थगित गरेको थियो। अगस्टमा हुने भनिएको यो भ्रमणलाई बोर्डले कुनै कारण नदिई सन् २०२६ का लागि सारेको थियो।

एक रिपोर्टअनुसार, बीसीसीआईले एसीसी र पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्षसमेत रहेका मोहसिन नक्वी दुवैलाई ढाकामा बैठक आयोजना गरिएमा आफू सहभागी नहुने स्पष्ट जानकारी गराएको छ।

‘बीसीसीआईले आफ्नो अडानबारे एसीसी र अध्यक्ष नक्वीलाई स्पष्ट पारेको छ। उनीहरूले बैठकको स्थान परिवर्तन गर्न व्यक्तिगत रूपमा पनि अनुरोध गरेका छन्, तर अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन’, स्रोतलाई उद्धृत गर्दै एएनआईले लेखेको छ।

श्रीलंका, ओमान र अफगानिस्तानका क्रिकेट बोर्डहरूले पनि बैठकको स्थानलाई लिएर चिन्ता व्यक्त गरेका छन्। तर, यति धेरै विरोधका बाबजुद एसीसी अध्यक्ष नक्वी ढाकामै बैठक गर्न अडिग रहेको बताइएको छ।

भारतलाई दबाब दिन ढाकाको प्रयोग
यदि भारतलगायत प्रमुख सदस्य बोर्डहरू बैठकमा अनुपस्थित रहे भने परिषद्को विधानअनुसार त्यहाँ गरिएका कुनै पनि निर्णयहरू अमान्य हुन सक्छन्। यसले गर्दा सेप्टेम्बरमा हुने भनिएको प्रतियोगिताको भविष्यमाथि फेरि शंका उत्पन्न भएको छ।

रिपोर्टमा थप भनिएको छ, 5एसीसी अध्यक्ष मोहसिन नक्वीले भारतलाई दबाब दिनका लागि जानीजानी ढाकामा बैठक गर्न खोजेका छन्। बैठक हुन अब ५ दिन मात्र बाँकी रहँदा पनि एसीसीले स्थान परिवर्तनबारे कुनै आधिकारिक जानकारी दिएको छैन, जसले एसिया कपको भविष्यलाई अनिश्चित बनाएको छ।’

बीसीसीआई र पीसीबीबीचको तनावपूर्ण सम्बन्धका कारण संयुक्त अरब इमिरेट्स (युएई) लाई वैकल्पिक स्थलको रूपमा हेरिएको छ। राजनीतिले एसिया कपलाई पहिले पनि असर गरेको थियो।

सन् १९८६ मा श्रीलंकासँगको मतभेदका कारण भारतले प्रतियोगिता खेलेको थिएन भने सन् १९९० मा भारतले आयोजना गर्दा पाकिस्तान पछि हटेको थियो। गत वर्ष २०२३ को संस्करण ‘हाइब्रिड मोडल’ मा खेलाइएको थियो, जहाँ भारतले आफ्ना खेलहरू श्रीलंकामा खेलेको थियो भने बाँकी प्रतियोगिता पाकिस्तानमा भएको थियो।

एसिया कपको इतिहासमा भारत सबैभन्दा सफल टोली हो। भारतले ८ पटक उपाधि जितेको छ, जसमा ७ पटक एकदिवसीय र १ पटक टी-२० फर्म्याटमा छ। श्रीलंकाले ६ पटक र पाकिस्तानले २ पटक उपाधि जितेका छन्।

साउन ३, २०८२ शनिबार १२:०२:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।