मृगौला फेल भएर चर्चित तेलुगु अभिनेता फिश वेंकटको निधन

एजेन्सी : तेलुगु सिनेमाका चर्चित अभिनेता तथा हास्य कलाकार फिश वेंकट (वेंकट राजा) को ५३ वर्षको उमेरमा निधन भएको छ।
लामो समयदेखि मृगौलाको गम्भीर समस्यासँग जुधिरहेका वेंकटको जुलाई १८ मा हैदराबादस्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
विगत केही महिनादेखि मृगौला फेल भएका कारण उनी गम्भीर स्वास्थ्य समस्याबाट पीडित थिए। उनको नियमित डायलाइसिस भइरहेको थियो तर स्वास्थ्य अवस्था थप बिग्रिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो।
फिश वेंकट तेलुगु फिल्म उद्योगमा एक परिचित हास्य कलाकार थिए, तर उनले नकारात्मक भूमिकाहरूमा पनि आफ्नो छुट्टै पहिचान बनाएका थिए। सन् २००० को दशकमा फिल्म ‘खुसी’ बाट डेब्यु गरेका उनले ‘आदी’, ‘बनी’, ‘अदुर’, ‘गब्बर सिंह’ र ‘डीजे टिल्लू’ जस्ता चर्चित फिल्महरूमा अभिनय गरेका छन्।
हालसालै उनी ‘स्लम डग हस्बेन्ड’, ‘नरकासुर’ र ‘कफी विथ अ किलर’ जस्ता फिल्ममा देखिएका थिए। उनले आफ्नो करियरमा पवन कल्याण, अल्लु अर्जुन, रवि तेजा र नागार्जुन जस्ता ठूला स्टारहरूसँग काम गरेका थिए।
वेंकटको उपचारको कठिन समयमा ‘बाहुबली’ स्टार प्रभासले सहयोगको हात बढाएका थिए। प्रभासले वेंकटको मृगौला प्रत्यारोपणका लागि ५० लाख भारतीय रुपैयाँ सहयोग गर्ने वाचा गरेको जानकारी वेंकटकी छोरी श्रावन्तीले सञ्चारमाध्यमलाई दिएकी थिइन्।
त्यसपछि श्रावन्तीले चिरञ्जीवी, पवन कल्याण, अल्लु अर्जुन र जुनियर एनटीआर जस्ता अन्य सुपरस्टारहरूलाई पनि सहयोगका लागि अपिल गरेकी थिइन्।
साउन ३, २०८२ शनिबार ११:२०:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।