नेपाल एसबिआई बैंकको ऋणपत्रमा चार गुणा बढी ओभरसब्सक्राइब

नेपाल एसबिआई बैंकको ऋणपत्रमा चार गुणा बढी ओभरसब्सक्राइब

काठमाडौं : नेपाल एसबिआई बैंक लिमिटेडले जारी गरेको ‘७ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ मा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ। मागभन्दा चार गुणा बढी आवेदन परेपछि ऋणपत्र ओभरसब्सक्राइब भएको हो।

बैंकले प्रतिकित्ता रु. १,००० अंकित मूल्यका ३० लाख कित्ता गरी कुल रु. ३ अर्ब बराबरको ऋणपत्र निष्कासन गरेकोमा १ करोड २० लाख कित्ताभन्दा बढीका लागि आवेदन परेको छ।

२०८२ असार ३० देखि श्रावण १ गतेसम्म खुला रहेको निष्कासनमा परेको यो आवेदनले बैंकको वित्तीय स्थायित्व र साखप्रतिको बजारको विश्वासलाई झल्काउँछ।

कुल निष्कासित ३० लाख कित्तामध्ये १८ लाख कित्ता व्यक्तिगत तवरले (प्राइभेट प्लेसमेन्ट) र १२ लाख कित्ता सर्वसाधारणका लागि बिक्रीमा राखिएको थियो।

सर्वसाधारणका लागि छुट्याइएको मध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरिएको थियो।

१० वर्षे अवधिको यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक ७ प्रतिशतको आकर्षक ब्याजदर प्राप्त गर्नेछन्।

यस ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेस्टमेन्ट बैंकिङ्ग लिमिटेडले पूरा गरेको थियो। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गत जेठ ७ गते यो ऋणपत्र निष्कासनका लागि स्वीकृति दिएको थियो।

साउन ३, २०८२ शनिबार ११:०१:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।