हल गोरु पाल्ने किसानलाई गाउँपालिकाको अनुदान

हल गोरु पाल्ने किसानलाई गाउँपालिकाको अनुदान

तनहुँ : जिल्लाको म्याग्दे गाउँपालिकाले हल गोरु पाल्ने २७५ किसानलाई प्रोत्साहनस्वरूप अनुदान रकम वितरण गरेको छ।

कृषिमा यान्त्रिकीकरण बढ्दै जाँदा गोरु पाल्ने चलन हराउन थालेपछि किसानलाई प्रोत्साहित गर्न गाउँपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा प्रतिहलगोरु रु. ४,००० का दरले कुल रु. ११ लाख अनुदान उपलब्ध गराएको हो।

गाउँपालिकाको पशु सेवा उपशाखाका पशु विकास अधिकृत मुक्तिराम पौडेलका अनुसार किसानलाई प्रोत्साहन गर्न यो अनुदान कार्यक्रम सञ्चालन गरिएको हो।

‘गत आर्थिक वर्षमा गाउँपालिकाको वडा नं. १ देखि ४ सम्मका २७५ जना किसानलाई अनुदान दिइयो,’ उनले भने, ‘चालु आर्थिक वर्ष २०८१/८२ मा वडा नं. ५ देखि ७ सम्मका करिब ४०० हलगोरु पाल्ने किसानलाई अनुदान दिने योजना छ र त्यसका लागि बजेटसमेत विनियोजन भइसकेको छ।’

गाउँपालिकाले आफ्ना सबै वडाका किसानलाई एक वर्षको अन्तरालमा पालैपालो अनुदान दिँदै आएको छ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गोरु पाल्ने प्रचलन घट्दा खेतबारी बाँझिने क्रम बढेकाले त्यसलाई रोक्न यो कार्यक्रम ल्याइएको बताए।

उनले भने, ‘प्रोत्साहन रकमले गर्दा हलगोरु पाल्ने किसानको सङ्ख्या बढेको छ। यसले गर्दा खेतबारी बाँझो राख्ने प्रवृत्ति पनि घट्दै गएको छ, जसले कार्यक्रम प्रभावकारी बनेको देखाउँछ।’

यसैगरी, गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले अनुदान रकम गोरुको स्याहार र पोषणमा खर्च गर्न किसानहरूलाई सुझाव दिइएको बताए। गाउँपालिकाले अनुदान पाउने किसानको गोठमा स्थलगत अनुगमन गरी गोरुलाई ‘ट्यागिङ’ समेत गर्ने गरेको जनाएको छ।

साउन ३, २०८२ शनिबार १०:२६:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।