सहकारीको ३० करोड रकम हिनामिना : सञ्चालक समेत रहेका दुई कांग्रेस नेता फरार, नौ करोड अपचलन गर्ने व्यवस्थापक पक्राउ

सहकारीको ३० करोड रकम हिनामिना : सञ्चालक समेत रहेका दुई कांग्रेस नेता फरार, नौ करोड अपचलन गर्ने व्यवस्थापक पक्राउ

बुटवल : नेपाली कांग्रेसका स्थानीय नेताद्वय घनश्याम तिवारी र रामबहादुर थापा रुपन्देहीको तिलोत्तमामा रहेको सहकारीको करिब ३० करोड रुपैयाँ अपचलन गरी फरार भएका छन्।

तिलोत्तमा-३ स्थित डिङ्गरनगर दूरगामी बहुउद्देश्यीय ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रहेका तिवारी र सोही संस्थाका सचिव एवं कांग्रेसकै पूर्व पदाधिकारी रामबहादुर थापा सम्पर्कविहीन भएपछि सयौं बचतकर्ताको लगानी जोखिममा परेको छ।

गत स्थानीय निर्वाचनमा वडाअध्यक्षका प्रमुख दाबेदार समेत रहेका तिवारी र नेपाली कांग्रेस तिलोत्तमा नगरसमितिका पूर्व पदाधिकारी थापा जस्ता राजनीतिक पहुँच भएका व्यक्तिबाटै बचत रकम हिनामिना भएपछि स्थानीय स्तरमा सहकारीप्रतिको विश्वासमा गम्भीर धक्का लागेको छ र बचतकर्ताहरू त्रसित बनेका छन्।

बचतकर्ताको उजुरी र प्रदेश सहकारी रजिष्टारको कार्यालयको पत्राचारपछि प्रहरीले फरार अध्यक्ष तिवारी र सचिव थापाविरुद्ध पक्राउ पूर्जी जारी गरी खोजी कार्य तीव्र पारेको छ।

यसै प्रकरणमा लिखित रुपमै ९ करोड ५५ लाख रुपैयाँ अपचलन गरेको स्वीकार गरेका सहकारीका व्यवस्थापक बसन्त पराजुलीलाई भने प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ। उनलाई जिल्ला अदालतले अनुसन्धानका लागि दोस्रोपटक म्याद थप गरिसकेको छ।

आफ्नो बचत फिर्ताको माग गर्दै पीडितहरूले तिवारीको घर घेराउ गर्नेदेखि कानुनी कारबाहीसम्मका प्रक्रिया एकसाथ अगाडि बढाएका छन्।

पक्राउ पुर्जी जारी, व्यवस्थापक हिरासतमा
बचतकर्ताको उजुरी र प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयको पत्राचारपछि प्रहरीले फरार अध्यक्ष तिवारी र सचिव थापाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। लुम्बिनी प्रदेश सहकारी रजिस्ट्रार कार्यालयका प्रमुख सुरेशचन्द्र आचार्यले अनुसन्धान गरी कारबाही अघि बढाउन प्रहरीलाई पत्र पठाइसकेको पुष्टि गरे।

यसैबीच, व्यक्तिगत रूपमा नौ करोड ५५ लाख रुपैयाँ अपचलन गरेको स्वीकार गरेका सहकारीका व्यवस्थापक वसन्त पराजुलीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ। जिल्ला अदालत रुपन्देहीले दोस्रोपटक म्याद थप गरेपछि उनी हाल इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा छन्।

पक्राउ परेका व्यवस्थापक पराजुलीले हिनामिना गरेको सम्पत्ति जोगाउन श्रीमतीसँग मिलेमतोमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेको आरोप बचतकर्ताले लगाएका छन्। श्रीमती विना पराजुलीले जिल्ला अदालतमा सम्बन्धविच्छेदको निवेदन दिए पनि पराजुलीले भने यसलाई अस्वीकार गर्दै आएका छन्।

एक बचतकर्ताले भने, ‘यो ठगीको पैसा पचाउन गरिएको कागजी नाटक मात्र हो।’

अनुसन्धानका क्रममा व्यवस्थापक पराजुलीले मात्रै आफ्नो परिवारका सदस्य र अन्य केही सदस्यको नाममा ९ करोड ५५ लाख रुपैयाँ ऋण देखाएको तमसुक फेला परेको छ। उक्त तमसुक २०८२ जेठ ५ गते गरिएको हो।

तमसुकमा ऋणी देखाइएका छोराछोरीलाई नै साक्षी राख्नुले पनि यो कागज अध्यक्ष र सचिवले नै तयार पारेका हुन् वा पराजुली आफैँले बनाएका हुन् भन्नेमा शङ्का छ।

कानुन मिचेर १७ वर्षसम्म अध्यक्ष
प्रदेश सहकारी ऐन, २०७६ ले एउटै व्यक्तिलाई लगातार दुई कार्यकालभन्दा बढी सञ्चालक बन्न रोकेको छ। तर, अध्यक्ष तिवारी कानुनी व्यवस्थालाई लत्याउँदै १७ वर्षदेखि निरन्तर अध्यक्ष पदमा रहेको खुलासा भएको छ।

सञ्चालकहरूले अपचलन गरेको रकम घडेरी, होटल तथा चुनढुङ्गा खानीमा लगानी गरेको शेयर सदस्य र बचतकर्ताहरूको दाबी छ। सहकारीका कोषाध्यक्ष सुरेन्द्र बज्राचार्यले लेखापरीक्षण प्रतिवेदनपछि मात्रै यकिन रकम थाहा हुने बताए।

२०५० सालमा स्थापित यस सहकारीमा करिब दुई हजार सदस्य र ३८ करोडको कुल पुँजी रहेको छ।

‘अब कसलाई विश्वास गर्ने?’
राजनीतिक र सामाजिक रूपमा विश्वास गरिएका व्यक्तिहरूबाटै धोका पाएपछि बचतकर्ताहरू निराश बनेका छन्।

छ वर्षदेखि बचत गर्दै आएका माधवप्रसाद तिवारी भन्छन्, ‘सबै चिनेजानेका, त्यसमाथि नेताहरूले चलाएको सहकारीमा त राम्रै होला भन्ने थियो। तर उनीहरू नै पैसा लिएर भागेपछि अब कसलाई विश्वास गर्ने?’

अर्का बचतकर्ता अनुप न्यौपानेले आफुले नौ वर्षदेखि बचत रकम जम्मा गर्दै आएको बताए। स्थानीय स्तरका सञ्चालक समिति भएपछि ढुक्कले विश्वासको साथ सहकारीमा रकम जम्मा गरेपनि अहिले विश्वास टुटेको उनले बताए।

‘बाहिरबाट आएका सहकारीहरू भागेका थिए। तर यहिँ नै दर्ता भएको पुरानो सहकारीको यसरी रकम अपचलन होला भनेर सोच्न समेत सकिएको थिएन। तर यस्तै भयो’, उनले भने।

सहकारीका एक बचतकर्ता रामप्रसाद खनालले सहकारी आफ्नो चार वर्षदेखिको बचत फिर्ता नगरेको बताए। उनले आफ्नो र श्रीमतीको गरी करिब २ लाख रुपैयाँ सहकारीमा रहेको बताए।

साउन ३, २०८२ शनिबार १०:०४:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।