२०२३/२४ मा बीसीसीआईको कीर्तिमानी कमााइ : ५९ प्रतिशत त आईपीएलबाट मात्र, सञ्चित रकमको ब्याज एक हजार करोड

२०२३/२४ मा बीसीसीआईको कीर्तिमानी कमााइ : ५९ प्रतिशत त आईपीएलबाट मात्र, सञ्चित रकमको ब्याज एक हजार करोड

एजेन्सी : भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आर्थिक वर्ष २०२३/२४ मा कीर्तिमानी आम्दानी गरेको छ।

रेडिफ्युजन नामक फर्मको एक रिपोर्टअनुसार, बीसीसीआईले यो अवधिकमा ९ हजार ७४२ करोड भारतीय रुपैयाँ आम्दानी गरेको हो। यो आम्दानीको सबैभन्दा ठूलो हिस्सा इन्डियन प्रिमियर लिग (आईपीएल)बाट आएको हो।

रिपोर्टअनुसार, आईपीएल एक्लैले बीसीसीआईको आम्दानीमा ५ हजार ७६१ करोड भारु योगदान दिएको छ, जुन बोर्डको कुल कमाइको लगभग ५९ प्रतिशत हो। यसले आईपीएललाई बीसीसीआईको सबैभन्दा ठूलो र महत्त्वपूर्ण आम्दानीको स्रोतको रूपमा स्थापित गरेको छ।

आईपीएलबाहेक अन्य खेलका मिडिया अधिकारबाट बोर्डले ३६१ करोड भारु आम्दानी गरेको छ।

कसरी कमाउँछ बीसीसीआईले आईपीएलबाट पैसा?
बीसीसीआईको आईपीएलबाट हुने आम्दानीका मुख्य तीन स्रोतहरू छन्।  मिडिया तथा प्रसारण अधिकार बीसीसीआईको आम्दानीको सबैभन्दा ठूलो स्रोत हो।

आईपीएल खेलहरूको प्रत्यक्ष प्रसारण, हाइलाइट्स र अन्य डिजिटल सामग्री देखाउने अधिकार खरिद गर्न मिडिया कम्पनीहरूले अर्बौं रुपैयाँ तिर्छन्। जसले यो अधिकार खरिद गर्छ, उसले मात्र खेल प्रसारण गर्न पाउँछ।

यसैगरी टाइटल स्पोन्सरसिप पनि बीसीसीआईलाई ठूलो धनराशी उपलब्ध गराउँछ। आईपीएलको मुख्य प्रायोजक बन्नका लागि कम्पनीहरूबीच ठूलो प्रतिस्पर्धा हुन्छ।

सन् २००८ मा पहिलो पटक टाइटल स्पोन्सरसिपका लागि वार्षिक ५० करोड भारु तिरिएको थियो भने २०२३ सम्म आइपुग्दा यो रकम बढेर वार्षिक ३०० करोड भारुभन्दा बढी पुगेको छ। हाल टाटा समूहले दुई वर्षका लागि ६०० करोड भारुमा यो सम्झौता गरेको थियो।

बीसीसीआईको तेस्रो आम्दानीको स्रोत हो- फ्रेन्चाइजी शुल्क। जब कुनै नयाँ टोली आईपीएलमा सामेल हुन्छ, त्यसले फ्रेन्चाइजी शुल्क तिर्नुपर्छ। यो प्रक्रिया बोलकबोलमार्फत हुन्छ, जहाँ विभिन्न कम्पनीहरूले टोली खरिद गर्न बोली लगाउँछन्।

सन् २०२२ मा गुजरात टाइटन्स र लखनऊ सुपर जायन्ट्स लिगमा सामेल हुँदा बीसीसीआईको खातामा १२ हजार ५०० करोड भारु जम्मा भएको थियो।

बीसीसीआईको विशाल सञ्चिति कोष र भविष्यको योजना
रेडिफ्युजनका प्रबन्ध निर्देशक सन्दीप गोयलका अनुसार, बीसीसीआईसँग हाल करिब ३० हजार करोड भारुको सञ्चिति कोष रहेको छ। यो विशाल कोषबाट बोर्डले वार्षिक करिब एक हजार करोड भारु ब्याज मात्रै कमाउँछ।

गोयलले रणजी ट्रफी, दलीप ट्रफी र सीके नायडू ट्रफी जस्ता घरेलु प्रतियोगिताहरूलाई व्यावसायिक बनाएर आईपीएल बाहिरको आम्दानी बढाउन सक्ने ठूलो सम्भावना रहेको बताएका छन्।

साउन ३, २०८२ शनिबार ०८:५४:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।