कालोपत्र गरिएको सडक महिना दिन नपुग्दै भत्किएपछि...

भोजपुर : भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा कालोपत्र गरिएको एक रणनीतिक सडक निर्माण भएको महिना दिन नपुग्दै भत्किएको छ।
गुम्बा-कोट-दिप्सा-पाँचधारे सडकखण्डको कालोपत्र उप्किनुका साथै बीच सडकमा घाँस उम्रिएपछि स्थानीयवासी आक्रोशित बनेका छन्। उनीहरूले गुणस्तरहीन काम गर्ने निर्माण कम्पनीलाई कारबाही गर्न माग गरेका छन्।
टेम्केमैयुङ-६ का वडाध्यक्ष सूर्यप्रसाद नेपालका अनुसार गत असार महिनामा कालोपत्र गरिएको सडकको अवस्था अहिले नै जीर्ण बनेको छ।
‘सडक कालोपत्र भएको महिना दिन नपुग्दै उप्किएको छ,’ उनले भने, ‘निर्माणमा चरम लापरवाही भएको प्रष्ट देखिन्छ। कालोपत्र गरिएको सडकमा घाँस उम्रिनुले गुणस्तरमाथि गम्भीर प्रश्न उठेको छ।’
यो सडक सडक डिभिजन कार्यालय तुम्लिङटार अन्तर्गत आरएनआरआर कम्पनीले कालोपत्र गरेको हो। कम्पनीले गुम्बाबाट एक किलोमिटर सडक कालोपत्र गरेको थियो।
टेम्केमैयुङका चार वटा वडासँगै छिमेकी जिल्ला खोटाङलाई समेत जोड्ने यो सडकको सुरुवाती चरणमै यस्तो अवस्था देखिएपछि स्थानीय निराश बनेका छन्।
टेम्केमैयुङ-७ का वडाध्यक्ष बालबहादुर खड्काले पनि गैरजिम्मेवार ढंगले काम गर्ने निकायलाई राज्यले कारबाहीको दायरामा ल्याउनुपर्ने बताए।
‘यो सडक निर्माणमा अत्यन्तै गुणस्तरहीन काम भएको छ,’ उनले भने, ‘हामीले छानबिन गरी दोषीलाई कारबाही गर्न जोडदार माग गरेका छौँ।’
स्थानीयवासी शरण राईले सडक कालोपत्र गर्दा नाली व्यवस्थापन जस्ता आधारभूत पक्षमा समेत ध्यान नदिइएको बताए। उनका अनुसार ठेकेदार कम्पनीले निर्माणस्थलमा योजनाको लागत, अवधि र अन्य विवरण समेटिएको सूचना बोर्डसमेत नराख्दा स्थानीय बेखबर छन्।
‘दुई जिल्ला जोड्ने सडक बन्दा सुरुमा उत्साहित थियौँ, तर अहिले यो अवस्था देख्दा हामी दुःखी छौँ,’ उनले भने, ‘राज्यले यो कामको तत्काल छानबिन गर्न आवश्यक छ।’
साउन ३, २०८२ शनिबार ०८:०१:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।