युक्रेन युद्धका कारण युरोपेली सङ्घद्वारा रसियामाथि कडा प्रतिबन्ध, तेलको मूल्य सीमा झनै घटाइयो

एजेन्सी : युरोपेली सङ्घले युक्रेनमाथि रसियाले गरिरहेको आक्रमणलाई रोक्न थप दबाब दिने उद्देश्यले शुक्रबार नयाँ प्रतिबन्धको घोषणा गरेको छ। यसअन्तर्गत रसियाले तेस्रो मुलुकमा गर्न पाउने तेल बिक्री मूल्यलाई झनै घटाइएको छ।
सन् २०२२ मा युक्रेनमाथि आक्रमण आरम्भ गरेदेखि हालसम्म युरोपेली सङ्घले लगाएको यो अठारौँ चरणको आर्थिक प्रतिबन्ध हो। युरोपेली परराष्ट्र नीति प्रमुख काया कालासले भन्नुभयो,“युरोप युक्रेनको साथमा दृढताका साथ उभिएको छ। जबसम्म रसियाले युद्ध अन्त्य गर्दैन, हाम्रो दबाब जारी रहनेछ।”
युक्रेनी राष्ट्रपतिको भनाइ अनुसार, यो प्रतिबन्ध ‘समयमै लिइएको र अत्यावश्यक कदम’ हो।
स्लोभाकिया सरकारले रसियन ग्यासको विकल्पमा मूल्यबारे ग्यारेन्टी पाएपछि लामो समयदेखि लगाएको अवरोध हटाएर प्रतिबन्धलाई पारित गर्न सहयोग पुर्याएको हो।
फ्रान्सका परराष्ट्र मन्त्रीले यस कदमलाई ‘अभूतपूर्व’ भनेका छन् र अमेरिकी सरकारसँग मिलेर रसियालाई युद्धविराम गर्न बाध्य पार्ने धारणा व्यक्त गरे। जर्मनीका चान्सलरले पनि रसियामाथि दबाब निरन्तर बढाइरहने बताएका छन्।
तर रसियाको सरकारी प्रवक्ताले भने यस्ता प्रतिबन्ध युरोपकै हितविरुद्ध जाने र यसको प्रभाव न्यून पार्ने प्रयास गरिने प्रतिक्रिया दिए।
यस नयाँ प्रतिबन्ध अनुसार रसियाले अन्य मुलुकमा बेच्ने कच्चा तेलको अधिकतम मूल्य बजार दरभन्दा १५ प्रतिशत कम राखिएको छ। सन् २०२२ मा समूह–७ राष्ट्रहरूले रसियाको तेल निर्यात सीमित गर्नका लागि तय गरेको मूल्य सीमा ६० अमेरिकी डलर प्रति ब्यारेल थियो, जुन अब घटाएर करिब ४७ डलर ६० सेन्ट बनाइएको छ।
युरोपेली सङ्घले रसियाबाट आउने तेलको आयात पहिल्यै बन्द गरिसकेको छ। तर अब तेस्रो मुलुकलाई निर्यात गर्न प्रयोग गरिने वृद्धिप्राप्त ट्याङ्कर, रसियासँग सम्बन्धित केही बैंक, भारतको एउटा तेल प्रशोधन केन्द्र र दुई चिनियाँ बैंकहरूमाथि समेत प्रतिबन्ध लगाइएको छ।
साथै, युक्रेन युद्धमा प्रयोग गर्न सकिने ‘दोहोरो प्रयोग हुने’ सामग्रीको निर्यातमा थप प्रतिबन्ध लगाइएको छ।
यसैबीच, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रसियाबाट उर्जा खरिद गर्नेहरूलाई ५० दिनभित्र युद्ध नरोकेमा कडा महसुल लगाउने चेतावनी दिनुभयो । उहाँले पुटिनको चुप्पीप्रति असन्तुष्टि जनाउँदै अब सहनशीलता सकिएको बताए।
यद्यपि विगत तीन वर्षमा लगाइएका अनेकौं अन्तर्राष्ट्रिय प्रतिबन्धहरूले रसियाको अर्थतन्त्रलाई व्यापक असर नपारेको यथार्थ देखिएको छ। तर पश्चिमी राष्ट्रको भनाइमा हाल रसियाको ब्याजदर, महँगीलगायत आर्थिक सूचकहरू कमजोर हुँदै गइरहेका छन्।
साउन २, २०८२ शुक्रबार २१:३७:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।