मार्चे लेकमा याक र चौँरीको रगत पिउने मेला सुरू

मार्चे लेकमा याक र चौँरीको रगत पिउने मेला सुरू

मुस्ताङ : मुस्ताङको थासाङ गाउँपालिका स्थित थाक सातसय क्षेत्रको सामूहिक चरनक्षेत्र मार्चे लेकमा याक र चौँरीको आलो रगत खाने मेला सुरु भएको छ। मार्चे याक नाक कृषक समूहले बिहीबारदेखि मेला आयोजना गरेको हो।

हिमाली तथा उच्च पहाडी जिल्लाहरूमा जिउँदो याक र चौँरीको रगत खाने मेला सदियौँदेखि परम्पराको रुपमा छ।

प्राकृतिक उपचार पद्धति मध्येको एक मानिने चौंरीको आलो रगत खाँदा मानिसको पेट सम्बन्धी सम्पूर्ण रोग निको हुने जनविश्वास छ। समुद्री सतहदेखि करिब चार हजार मिटर उचाइमा अवस्थित प्राकृतिक सौन्दर्यताले भरिपूर्ण मार्चे लेकमा मार्चे याक नाक कृषक समूहका १० वटा गोठ रहेको समूहका सदस्य सोजन हिराचनले जानकारी दिए।

हिउँदमा बेंसी र गर्मीयाममा मार्चे लेक पुर्याएर याक र चौँरी पालन गर्ने प्रचलन छ। मार्चे लेकमा १० घरको करिब  ८०० बढी याक तथा चौँरी छन्। यहाँ थाक सात सय क्षेत्र अन्तर्गत सौरू, सिर्खुम, लार्जुङ, नाउरिकोट र ताक्लुङलगायतका याक र चौँरी कृषकहरूको गोठ रहेका छन्।

यो लेक निलगिरी हिमालको फेंदैमा अवस्थित छ। रमणीय मार्चे बुगिनमा बर्सेनि साउन महिनामा आलो रगत पिउने मेला लाग्छ। हिउँदयाममा भने बेंसी सारिएका याक र चौँरी उच्चलेकमा सार्नु अघि वैशाखमा थासाङको घट्टे खोलामा आलो रगत पिउने मेला लाग्ने गर्छ।

बर्खायाममा उच्चलेकको चरन क्षेत्रमा पर्याप्त हरियो घाँस पलाउने र उच्च लेकका याक तथा चौँरीले प्राकृतिक जडिबुटी सेवन गर्ने भएकाले रगत स्वास्थ्यवद्र्धक मानिन्छ । याक तथा चौँरीले यार्सागुम्बा, पाँच औले, निरमसी, जटामसी, सतुवा ,चिची, भोलु चिया, कुरिलो, तोरा चिची, जिम्बु र बन लसुनलगायत  वनस्पति खाने भएकाले याक र चौँरीको शरीरको रगतले ग्याष्ट्रिक, गानोगोला, दम, उच्च रक्तचाप, चिनि रोग र यौन शक्तिको क्षमतामा ह्रास देखिने समस्या समाधान गर्ने स्थानीय बताउँछन्।  यसरी मेलामा रगत पिउनका लागि उल्लेख्य सङ्ख्यामा मानिसहरू आउने गरेको समूहका सदस्य सोजन हिराचनले बताए।

मार्चे बुगिन लेकमा दश दिनसम्म सो मेला सञ्चालन हुने जनाइएको छ। मेला सञ्चालन पूर्व गत बुधबार मार्चे लेकमा सामूहिक गोठ पूजा गरिएको मार्चे याक नाक कृषक समूहका अध्यक्ष बुद्ध गौचनले जानकारी दिए। यसवर्ष याक र चौँरीको आलो रगत प्रति गिलास २५० रुपैयाँमा बिक्री गरिएको छ। ‘यसवर्ष पनि विगतकाझैँ चौँरीको रगत पिउने मेलाको सबै व्यवस्थापन गरिसकेका छौँ, आ-आफ्ना गोठहरूमा टहरा बनाएर होटल पनि चलाएका छौँ,’ अध्यक्ष गौचनले भन्ने, ‘करिब तीन सय भन्दा बढी सर्वसाधारणको उपस्थिति हुने अनुमान गरिएको छ ।’ 

मार्चे लेक पुग्न बेनी-जोमसोम मुख्य राजमार्गदेखि कालीगण्डकी पूर्व करिब तीनदेखि पाँच घण्टाको उकालो यात्रा गर्नुपर्छ। यहाँ सौरू र चिमाङबाट पनि आइपुग्न सकिने दुई वटा गोरेटो छन्।

साउन २, २०८२ शुक्रबार २०:४२:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।