युद्ध र रगत बगाएर मात्र कम्युनिष्ट पार्टीले सोचेको समाजवाद प्राप्त हुँदैन : बामदेव गौतम

काठमाडौं : नेता वामदेव गौतमले युद्ध र रगत बगाएर मात्र कम्युनिष्ट पार्टीहरूले सोचेको जस्तो समाजवाद प्राप्त नहुने बताएका छन्।
शुक्रबार एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानको एकता घोषणा सभामा बोल्दै उनले रगत बगाएर मात्र समाजवाद प्राप्त नहुने बताएका हुन्।
‘युद्ध र रगत बगाएर मात्र कम्युनिष्ट पार्टीले सोचेको समाजवाद प्राप्त हुन्छ भन्नेमा म छैन। त्यही भएर नै हामीले नेपालको संविधानमा लोकतान्त्रिक, मूल्यमान्यतामा आधारित समाजवाद भनेका छौ। हामी जाने त्यही बाटोमा हो र त्यही निर्माण गर्ने हो। त्यो नभएकाले सोभियत संघ असफल भयो र पूँजीवाद पुनःस्थापना भयो,’ उनले भने।
उनले भावुक हुँदै आज एकीकृत समाजवादीसँग एकता गर्दा खुशी लागेको भन्दै एकताको लागि चार वर्ष समय लागेको बताए।
‘म ज्यादै खुशी भएको छु। मैले धेरै कुरा व्यक्त गर्न सक्दिन। किनभने नेकपा एकीकृत समाजवादीमा एकीकृत हुनका निम्ति आजभन्दा चार वर्ष पहिलेदेखि यात्रा सुरु गरे। तर पूरा भएको थिएन। मेरो पार्टी अफिस स्वयम्भूमा छ, त्यहाँबाट समाजवादीको पार्टीसम्म आइपुग्न चार वर्ष लाग्यो। आज मैले भने जसरी एकीकृत भएका छौ,’उनले भने।
कार्यक्रममा बोल्दै सम्मानित नेता झलनाथ खनालले देश अहिले चौतर्फी राजनीतिक संकटमा परेको औंल्याए। उनले अहिलेको सरकारले जनताको हितमा काम नगरेको बताए।
‘आज हामी चौतर्फी राजनीतिक संकटमा छौं। दुइवटा हात्ती जस्ता पार्टी हौं भन्नेहरू सरकारमा छन् । भर्खरै नीति कार्यक्रम ल्याए बजेट ल्याए। तर नीति र कार्यक्रममा नेपाली जनता र नेपाल राष्ट्रको हित केही पनि छैन। त्यसैले देश आज भयावह राजनीतिक संकटमा छ।’
उनले नेतृत्वमा भएका मन्त्रीहरू भष्ट्राचारका खाडलमा फस्दै गएकाले देश आर्थिक संकटमा परेको समेत बताए।
साउन २, २०८२ शुक्रबार १८:५१:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।