सौर्य एयरलाइन्स जहाज दुर्घटनाको अन्तिम प्रतिवेदन सार्वजनिक

काठमाडौं : सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त (एन-एएमई-सीआरजे २०) कलसाइनको दुर्घटनाबारे गठिएको जाँचबुझ आयोगले अन्तिम प्रतिवेदन सार्वजनिक गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा आयोगका अध्यक्ष रतिशचन्द्रलाल सुमनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई प्रतिवेदन हस्तान्तरण गरे।
मन्त्री पाण्डेले प्रतिवेदन कुनै पूर्वधारणा नराखी निष्पक्ष ढंगले तयार गरिएको भन्दै कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाए। आयोगबाट प्रतिवेदन बुझिएसँगै मन्त्रालयले सो प्रतिवेदन आफ्नै वेबसाइटमार्फत सर्वसाधारणका लागि सार्वजनिकसमेत गरेको छ।
गत वर्ष साउन ९ गते मर्मतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा गइरहेको उक्त जहाज धावनमार्ग नजिकै दुर्घटनाग्रस्त हुँदा १८ जनाको ज्यान गएको थियो। जहाजका पाइलट मनीष शाक्य भने ज्यान जोगाउन सफल भएका थिए।
दुर्घटनाको भोलिपल्टै सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सुमनको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो। अब मन्त्रालयले प्रतिवेदनको सिफारिसअनुसार सुधारात्मक कदम चाल्ने जनाएको छ।
साउन २, २०८२ शुक्रबार १६:२५:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।